Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

खतरासूचक दोलखा भीमेस्वरको घण्टा

खतरासूचक दोलखा भीमेस्वरको घण्टा

प्रा. डा. श्याम जोशी
२०७६ को फागुन महिनामा म काम को सिलसिलामा दोलखा घरमा बसिरहेको बेला एक दिन एकाएक एक नासले भिमेस्वरको घण्टा बज्न थालेको थियो । मैले त् वास्तै गरेको थिइन् तर केही मानिस हस्यांग फस्यांग गर्दै माथि भीमेस्वरको मन्दिर रहेको तिर दौडीरहेको देखेर एउटी बहिनि लाई कारण सोधें । उनले भनेपछी मात्र मेरो होस् खुल्यो – भिमेस्वरमा पसिना आउंदा यसरि एकनासले घण्टा बजाउने प्रचलन छ सारा दोलखाबासिलाई शुचित गर्ने मनसायले ।

भीमेस्वरको मन्दिर शहरको उच्च भागमा रहेकोले दोलखा भरीनै घण्टाको आवाज राम्ररि सुनिन्छ । उसबेला भिमेस्वरको मन्दिर भन्दा माथितिर घर बनाउनु हुँदैन भन्ने जनधारणा थियो र बस्ति मन्दिर भन्दा तल थियो । भिमेस्वरको घण्टाको स्वरले धेरै थरि काम दिएको थियो । केहि बुढापाकामा बिहान सबेरै भीमेस्वरको दर्शन गर्न जाने बानि थियो र उहाँहरुले ढ्वांग घाटा बजाउनु हुन्थ्यो । यसले घण्टाघरको काम गर्ने गर्थ्यो । दोलखा शहरबासीहरुले बिहान उज्यालो भएछ अब उठ्नु पर्छ भने शंकेत पाँउथे ।

भीमेस्वरमा अपरान्हमा रासपुजा भनिने नित्य पुजा गर्दा केहि समय घण्टा र नगरा बजाउने चलन छ । यसको आवाजले सबैलाई पुजा भएको थाहा हुनुका साथै सबै संग घडी नभएको समयमा सबैलाई दिन धड्किसकेको पनि ज्ञात हुन्थ्यो । भीमेस्वरमा पसिना आउंदा एकनासले लगातार घण्टा बजाउने चलन छ जसले गर्दा दोल्खाबासी सबैले पसिना आएको तुरुन्त थाहा पाउंछन ।

बिगतमा भीमेस्वरमा पसिना आउनाले देशमा केहि न केहि अप्रिय धटना भएको अभिलेख भएकोले एकनासले घण्टा बजेपछी सारा दोलखालिहरु ‘अब के हुन् लागेको होला’ भनेर सशंकित हुन्छन । मृत्युको घण्टा भनेको मृत्य छिटै आउने चेतावनी भने जस्तै भिमेस्वरको घण्टा पनि एक किसिमले खतराको घन्टी वा सम्भावित खतराको शंकेत हो भन्ने धारणा राख्छन ।

घन्टाको ईतिहास:
घन्टाको ईतिहास केलाउदा यसको प्रचलन धेरै अगाडी देखि भएको पाइन्छ । इतिहासकारहरुका अनुसार बजाउने घण्टाको इतिहास काश्य युग देखि शुरु हुन्छ । युरोप तिर क्राइस्टको समय पछी घण्टाको चलन आएको थियो । उस्बेला महत्वपूर्ण बैठकको घोषणा गर्न, नसिहत दिन र प्रार्थना गर्नका लागि बोलाउने आदि जस्ता धार्मिक उदेश्यका लागि घण्टा बजाउने गरिन्थ्यो । भनिन्छ अलेकजेंडर द ग्रेट (३५६ – ३२६ बि. सि) को शबयात्राको गाडीमा समेत घण्टा झुण्डाईएको थियो ।

घन्टीको चलन अगाढी देखि नै भए पनि मन्दिरमा भने रोमन साम्राज्यका संस्थापक बाद्शाह अगुस्तुस ( ब्नगकतगक ) ले ( ३६ बि. सि – १४ ए. डी ) पहिलो पटक जुपिटर को मन्दिर अगाडी घन्टी झुण्डाएका थिए । प्राचिन कालमा एथेन्स तथा रोमन पुरोहितहरुले हाते घन्टी बजाएर पुजा र प्रार्थना गर्थे जुन आधुनिक पुरोहितहरु तथा अन्य सर्बसाधारणले हाल सम्म पनि बिश्वभरि नै जारिराखेका छन् । (टि. राजगोपालन, “द वोरल्ड्स मोस्ट फेमोस वेल्स, मिरर , मार्च , १९८१)

भारत, चिन्, बर्मा , जापान, अमेरिका, रुस, ब्रिटेन आदि देशले बिभिन् उदेश्यका लागि घण्टा झुण्डाइराखेका पाइन्छ । अमेरिकाको फिलाडेल्फिया सहरमा देशभक्ति र स्वतन्त्रताको प्रतिकको रुपमा ठुलो घण्टा राखिएकोछ । यहि घण्टा बजाएर ब्रिटिश शाशन बाट अमेरिका स्वतन्त्र भएको घोषणा गरिएको थियो । अमेरिकामा फिलाडेल्फियाको अतिरिक्त सिकागो. न्यु योर्क र फ्लोरिडामा पनि बिशाल घण्टा झुण्डाई राखीएको देख्न सकिन्छ ।त्यस्तै रुस को क्रेमलिन , चीनको बेजिंग र नान्किंग र बर्मामा बिशाल घण्टाहरु झुण्डाईएका छन्। इंगलैंडको लण्डनमा बिस्व प्रख्यात बिग बेन भनिने घण्टा झुण्डाईएको छ जुन डेड शताब्दि भन्दा पुरानो मानिन्छ ।

नेपालमा घण्टाको प्रचलन :
नेपालमा पनि काठमाडौँ, ललितपुर र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रहरुमा ठुला आकारका घण्टाहरु प्रतिस्थापना गरिएका छन् । यस्ता ठुला घण्टाहरु खासखास धार्मिक प्रयोजनमा बजाइने गरिन्छन । उपत्यकामा सर्बप्रथम धार्मिक प्रवृतिका काठमाडौँका तत्कालिन राजा महेन्द्र मल्लले (विस १६१७ – विस १६३१) तुलजा भवानीको मन्दिर निर्माण गराई त्यस्को नजिकै एउटा घण्टा स्थापना गरेर प्रजाले बिहान–बेलुका खाना खाने समयमा घण्टा बजाउने नियम बसालेका थिए । उन्ले प्रजाले खाईसके पछी मात्र आफूले खाने गर्थे भन्ने इतिहासकारहरुको भनाइ छ ।

पछी काठमाडौँका राजा रणबहादुर शाहले वि.सं. १८५४ सालमा मात्र काठमाडौँ दरबार क्षेत्रमा झण्डै पाँच सय धार्नी तौल रहेको ठुलो घण्टाको स्थापना गरेका थिए । भक्तपुरका राजा रणजित मल्लले भक्तपुर दरबार क्षेत्रमा वि.सं. १७९४ मा घण्टा स्थापना गरेका हुन् । त्यसपछि ललितपुरका राजा विष्णु मल्ल र उनकी रानी चन्द्रलक्ष्मी देवीले वि.सं. १७९८ मा दरबारको प्राङ्गणमा ठुलो घण्टा स्थापना गरेका थिए । ठुलो खडेरी परेमा यहाँको घण्टी बजाएपछि वर्षा हुने विश्वास पनि रहेको पाइन्छ । राजा विष्णु मल्लले शत्रुको मन थर्काउन मूलचोक अगाडि ठुलो घण्टा राखेको भनाइ छ ।

यी सबै राजाले यी घण्टा आफ्ना इस्ट देबी दुर्गा र भवानी लाई समर्पण गरेको यी घन्टामा कुँदिएका छन् । (जीवनाथ धमला , “नेपाली संस्कृतिमा घण्टा”, गोरखापत्र १४ पुस २०८०) ।

घण्टा स्थापना गर्नुका उदेश्य:
हामि जतासुकै मन्दिर तिर घुम्दा मन्दिरमा ससाना घण्टीहरु र ठुला ठुला घण्टाहरु झुन्ड़ाईराखेको पाउंछौ । मन्दिरहरुका छानामा स–साना घण्टीहरुका झुन्ड़ाई राख्नाले त्यस्ले गहनाको झझल्को दिने गरि मन्दिरको शोभा बढाउने गर्छ। मन्दिरका छानामा झुण्ड्याइएका स– साना घण्टीहरुलाई हल्का हावाले पनि हल्लाउने भएकोले त्यस्ले सांगीतिक धुन उत्पन्न गरेर भक्तजनहरुको मनलाई शान्ति र आनन्द दिलाउँछ ।

मन्दिरका घण्टा वा घण्टीहरु भक्तजनहरुले चढाएका हुन्छन र भक्तजनहरुले नै पूजाआजाको बेला देबता लाई प्रसन्न पारेर आशिर्बाद प्राप्त गर्न बजाउने गर्छन । नेपालमा घण्टीको धार्मिक महत्व भएकोले हरेक मन्दिरमा घण्टी झुण्डाइराखिएको देख्न सकिन्छ । घरको पूजा कोठामा प्रतिस्थापित भगवानहरुको नित्य पुजा गर्दा होस् वा साँझ बत्ति दिंदा होस् सानो घण्टी बजाउने प्रचलन छ । यसरी घण्टी बजाउनुको कारण घण्टीको आवाजले भक्तहरुको प्रार्थना र आराधना देवतासम्म पुग्छ भन्ने जनधारणा हो । यति मात्र नभएर घण्टीको आवाजले निकाल्ने तरङ्गले एकाग्रता, शरीरका चक्रलाई सक्रिय पार्ने, मानिसमा रहेको नकारात्मकतालाई नष्ट गरेर शान्तिको अनुभूति र एकाग्रता प्रदान गरेर चिन्तामुक्त बनाउँछ भन्ने जनधारणा छ । (जीवनाथ धमला , “नेपाली संस्कृतिमा घण्टा”, गोरखापत्र १४ पुस २०८०)

भीमेस्वरमा घण्टा
प्राचिन शहर दोलखाको प्रशिद्ध भीमेस्वरको शिलारुपी मुर्तिको दायाँ बायाँ र अघिल्तिर भक्तजनहरुले चढाएका साना घन्टीहरु झुण्डाइएका छन् । भिमेस्वरको मुर्तिमा ढोग्नु अघि धेरैजसोले बायाँ हातले बायाँ तिर झुन्ड़ाई राखिएको घन्टी बजाउने गर्छन । त्यस्तै मन्दिर परिसरमा अन्य धेरै साना र मज्यौला खालका घन्टीहरु झुण्डाइएका देख्न सकिन्छ । भीमेस्वर मन्दिर परिसरमा बि. सं. – १८०० पछी मात्र घण्टाहरु स्थापना गर्न थालिएको देखिन्छ । अझ ठुला घण्टाहरु त् बि. सं. १९०० पछी मात्र स्थापना गरिएका थिए ।

भीमेस्वर मदिरको दक्षिण मा रहेको एक घण्टा मा यस्तो व्यहोराको अभिलेख कुँदिएको छ – श्री ३ भिमेस्वरा लाइ प्रसन्न पार्न बि. सं. – १८०८ मा यो घण्टा श्री श्रीजयरणजितमल्लदेब महाराजधिराज , पत्नी जयलक्ष्मीदेबी , छोरा अजितसिंह भाजु तिन जना ले यो घण्टा चढाएको हो । पश्चिम नाल्दुम देखि पुर्ब दुध कोशी सम्म राज्य जिती अजितसिंह भाजु लाई दोलखाको सारा इलाका जागिर दिएको बेलामा यो चढाएको हो । यो घण्टा चढाउनेले कोटी अस्वमेध यज्ञ, सय राजसुय यज्ञ, हजार कन्यादानको फल घण्टा चढाउनेले पाउंछन् ।

मन्दिरको उत्तरमा रहेका एक घण्टामा कुँदिएको अभिलेख अनुसार– बि. स. १८५१ मा म गौरीशंकर शर्माले भीमेस्वर लाइ प्रसन्न पार्न चढाएको घण्टा फुटेको हुँदा त्यसको जिर्णोद्वार गरि बि. स. १८६५ मा पुन चढाएको छुं । त्यस्तै मन्दिरको उत्तरमा रहेको अर्को एक घण्टामा कुँदिएको अभिलेख अनुसार सो घण्टा श्रीकाजी रणजंग पान्डेले सम्बत १८९७ मा श्री ३ भीमेस्वरमा चढाएको हो । मन्दिरको पश्चिम तिर अग्रभागमा रहेका एक घण्टा मा नेवारीमा अभिलेख कुँदिएको छ जस अनुसार भक्तपुर चपाटोलको मिलाकोघरका बासल बंजालदयानन्द , छोरा कृष्ण र नाला घरका भाजमान सिंह ३ जना व्यक्तिहरु मिलि दोलखाका श्री ३ भीमेस्वर लाइ प्रसन्न पार्न बि. सं. – १८८७ मा चदुवा थान एक चढाएको उल्लेख छ । (धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठ , दोलखाको ऐतिहासिक रुपरेखा , २०३१) ।

मुख्य मन्दिरको प्रवेश द्वारको पश्चिम तिर अग्रभागमा लहरै ठुलठुला तिन वटा घण्टा झुण्डाइएका छन् । भीमेस्वर मदिरमा प्रतिस्थापित यी तिन मुख्य घण्टा बि. सं. १९०० पछी मात्र स्थापना गरिएका हुन् । ति मध्य बायाँ तर्फ रहेका घण्टामा कुँदिएको अभिलेख अनुसार – सो घण्टा बि, सं. १९४३ कार्तिकमा कर्नेल फौदसिंह खत्रीक्षत्री , उनका पत्नी र पुत्र सहितले चढाएको हो ।सो घण्टा झिर्ण भएकोले उनका सन्ततिले केहि वर्ष अघि नयाँ घण्टा प्रतिस्थापन गरेका थिए ।

बिचमा रहेकोका घण्टामा कुँदिएको अभिलेख अनुसार सो घण्टा बि, सं. १९६५ माघ मा चंद्रबिर बसन्यात क्षत्रीले चढाएको हो । दायाँ तर्फ रहेका घण्टामा कुँदिएको अभिलेख अनुसार – सो घण्टा बि, सं. १९६८ जेष्ट मा चंद्रबिर बसन्यात क्षत्रीले चढाएको हो । ( यज्ञ कुमार प्रधान , दोलखाको सांस्कृतिक सम्पदा , २०७३)

अन्य मन्दिरहरुमा जस्तै भीमेस्वर मदिरमा घण्टा चढाउने भक्तजनहरु सबैको मूल उदेश्य भगवान प्रतिको असिम आस्था र प्रिती दर्साउनु र भगवान लाई प्रसन्न पारेर आफु र आफ्नो परिवारको सुख, शान्ति र प्रगतिको लागि आशिर्बाद प्राप्त गर्नु हो भन्ने घन्टामा कुँदिएको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार