
माघ १७ माघ, बाँपीझ्याला, काठमाण्डौं । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्याैली पेसा भैंसीपालन हो । उहाँले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएको छ । उहाँले यसैको आम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आउनुभएको छ । परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लग्नुभएका उहाँले भैंसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय रु. एक लाख ५० हजारसम्म मासिक आम्दानी गर्दै आउनुभएको छ ।

साना–ठूला गरेर ७२ माउ भैंसीपालन गर्नुभएका उहाँले दूध र दही बिक्री गरेर २३ जनाकाे परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु ।” ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्याएर दूध बिक्री गर्ने काम गर्दै आएको बताउनुभयो । घरका अन्य सदस्यले पनि काममा साथ दिएको उहाँ बताउनुहुन्छ । विदेशमा अर्काको अधिनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । उहाँसँग वैदेशिक रोजगारको पनि अनुभव छ । उहाँले भन्नुभयो, “विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा रु ६०–७० हजारसम्म कमाइ हुन्छ, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ, भैंसी बढाएर पाल्दै आएको छु । आम्दानी पनि राम्रै भइरहेको छ ।” दूध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरे पनि बाँकी रकम नाफा हुने गरेको उहाँ बताउनुहुन्छ ।

गाउँमा सबैभन्दा धेरै भैँसीपालन गर्ने किसानका रूपमा रहनुभएका यावदले लाखाैं खर्च गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा परिवारसँग बसेर पैसा कमाउन सकिने अरुलाई समेत सुझाव दिनुहुन्छ । त्यसका लागि आफूमा आत्मविश्वास हुनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाइ गर्न सकिन्छ ।”
भैंसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भन्नुभयो, “अहिलेसम्म जे–जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु । कतैबाट कुनै सहयोग लिएको छैन ।” कतैबाट सहयोग प्राप्त नभए पनि आफ्नै मेहनतले पुर्ख्याैली पेसालाई व्यवस्थित गर्दै लग्ने सोचमा रहेको उहाँ बताउनुहुन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij