
बाँपीझ्याला, काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान सेवाका लागि आवश्यक तयारी पूरा भएको छ। सो उडानसँगै रात्रिकालीन उडान सेवासमेत सञ्चालन गरिने विमानस्थल प्रमुख विक्रम गौतमले बताउनुभएको छ।
उहाँले २३ फेब्रुअरी (फागुन ११) देखि अन्तर्राष्ट्रिय विमान उडानको तयारी रहेको जानकारी दिनुभयो। गत जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दिउँसो चार बजेपछि नियमित उडान रहेको छैन।
फेब्रुअरी २३ पछि रात्रिकालीन पनि उडान हुने जनाइएको छ। विमानस्थल प्रमुख गौतमका अनुसार अहिलेसम्म आन्तरिक उडान मात्र भएका छन्। अब भने अन्तर्राष्ट्रिय कम्पनीले पनि उडान गर्ने गौतमले सुनाउनुभयो।

“अहिलेसम्मका सबै उडान भीएफआर (भिजुअल फ्लाइट रुल्स) प्रविधिअनुसार सञ्चालित छन्। भीएफआरमा ककपिटमा बसेका पाइलटले आँखाले हेरेको भरमा उडान र अवतरण गराइन्छ तर प्रविधिमा आधारित रहेर उडान गर्ने विधि आइएफआर (इन्स्टुमेन्टल फ्लाइट रुल्स)अनुसार भने फेब्रुअरी २३ देखिमात्र उडान र अवतरण सुरु हुनेछ,” उहाँले भन्नुभयो।
आईएफआर प्रविधिमा उडान र अवतरण गराउँदा रातिको समयमा पनि विमानस्थल सञ्चालन हुने जानकारी उहाँले दिनुभयो। त्यो बेला उडान र अवतरण गराउँदा उपकरणको प्रयोग गरिन्छ। उहाँले रात्रिकालीन उडानका लागि अहिले सबै कर्मचारीलाई प्रशिक्षण दिइएको जानकारी दिनुभयो।
“फेब्रुअरी २३ मा बुद्ध तथा यतीलगायतका एयरलाइन्सले तत्कालका लागि उडान भर्नेछन्,” उहाँले भन्नुभयो, “त्योबाहेक अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले पनि उडानका लागि चासो दिएको पाएका छौँ।’’

तीमध्ये कोरियन एयर, फ्लाई दुबई, कतार, थाई स्माइल, जजिरा, हिमालयन, बुद्ध एयरले चासो दिएको उहाँले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय उडानको चाहिने आवश्यक सरकारी कार्यालयहरू भन्सार, अध्यागमन, क्वारेन्टिन, मनिचेन्जरदेखि सबैखाले सुविधा विस्तारको कार्य भइरहेको छ।
यस अन्तर्राष्ट्रिय विमानस्थलमा हाल दैनिक रूपमा २६ उडान (ल्यान्डिङ र टेकअफ) भएका छन्। सबैभन्दा बढी काठमाडौँ–पोखरा रुट नै हो। त्यसपछि भरतपुर–भैरहवा र नेपालगञ्जमा कहिलेकाहीँ उडान हुने गरेको छ।
जनवरी १ देखि व्यावसायिक रूपमा विमानस्थलबाट उडान सञ्चालन गरेपछि १२ मा मात्र विमानस्थल सबैखाले हवाई उडानका लागि उडान योग्य रहेको भन्दै प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआईपी) प्रकाशित गरेको थियो।
त्यहाँ विमानस्थलको एआईपी प्रकाशन गरेको ४२ दिन नपुगेका कारण रात्रिकालीन उडान नभएको उल्लेख गरिएको छ। प्राधिकरणले प्रकाशन गर्ने एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीले आफ्नो उडानलाई पोखरासम्म विस्तार गर्नसक्ने भएको थाहा भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij