
बाँपीझ्याला, काठमाडौँ । यदि सबै कुरा ठीकठाक अघि बढे, सन् २०२३ मा सौगात मल्लले साइन गर्ने फिल्मको संख्या सातभन्दा बढी पुग्नेछ । केहीमा उनी फाइनल भइसकेका छन् भने केहीमा छलफल चल्दैछ । एउटा कुरा पक्का के हो भने उनी धमाधम फिल्म साइन गरेर अघि बढ्ने पक्षमा छन् । हुन सक्छ, आफूले निर्माण गरेको पहिलो फिल्म ‘राधा’ बक्स अफिसमा कमजोर भएपछि सौगातमाथि आफूलाई अघि बढाउनुपर्ने दबाब पनि छ ।

सौरभ चौधरीको ‘अगस्त्य’मा सौगात लगभग तय छन् । झरना थापाको ‘भगवत् गीता’मा पनि उनी हुने चर्चा छ तर औपचारिक सहमति भइसकेको छैन । यसबाहेक अन्य केही फिल्मले सौगातलाई प्रस्ताव गरिरहेको जानकारी प्राप्त छ । यसैबीच, ‘पशुपति प्रसाद’को प्रतीक्षित स्पिनअफ (कुनै चर्चित फिल्मको एउटा पात्रमाथि केन्द्रित रहेर बनाइने श्रृंखला) ‘भष्मे डन’मा सौगात जोडिने पक्का भएको छ । निर्देशक दीपेन्द्र के. खनालले अभिनेता मल्लसँग मौखिक सहमति जुटेको बताए ।
‘हामीले मौखिक सहमति गरेका छौं । उहाँ हुने पक्का भएको छ । लिखित सहमति हुन बाँकी छ,’ निर्देशक खनालले भने । यो फिल्मको प्रमुख भूमिकामा पशुपति प्रसादका भष्मे डन अर्थात् विपिन कार्की देखिनेछन् । फिल्ममा विपिन र सौगातको समानान्तर भूमिका हुने निर्देशक खनालले जानकारी दिए । तर यो पशुपति प्रसादको सिक्वेल चाहिं होइन । यो फिल्मले ‘पशुपति प्रसाद’पछिको भष्मे डनको जीवन यात्राको कथा भन्नेछ । दर्शकले पशुपति प्रसादकै बेला यो चरित्रलाई रुचाएका थिए ।
सौगात र विपिनबाहेक यो फिल्ममा मितबाको भूमिकामा प्रकाश घिमिरे र हनुमान बनेका रविन्द्रसिंह बानियाँको पनि अभिनय हुनेछ । फागुन १२ गतदेखि पशुपतिनाथ मन्दिर वरपर छायांकन हुने फिल्मको निर्माण खगेन्द्र लामिछानेले गर्दैछन् । पटकथा लेखन पनि खगेन्द्रकै हो ।
टुकी आर्ट्स र दीपेन्द्र खनाल प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । आगामी दशैंमा प्रदर्शन लक्ष्य राखिएको फिल्मलाई लिएर दर्शकमाझ कौतुहलता समेत छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij