बाँपीझ्याला, काठमाडौं । गत कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ लाई दर्शकले रुचाइरहेका छन् । प्रदर्शनकै दिन देखि हल पुगेर निर्माण टिमले दर्शकको प्रतिक्रिया लिइरहेका छन् । उपत्यकाका दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् ।
काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएको टिम मोफसलमा निस्किएको छ । कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराईली प्रतिक्रियाका लागि मोफसल निस्किएको हो ।
आज बुधबार नेपालगञ्जका दर्शक भेटेर प्रतिक्रिया लिने टिम दाङ, बुटवल हुँदै चितवनसम्म पुग्नेछ । ‘हामी आज नेपालगन्जका दर्शकहरूसँग भेटघाट गर्नेछौँ । त्यसपछि दाङ, बुटवल हुँदै चितवनका दर्शकलाई भेटेर काठमाडौं फर्किने तयारी छ’, कार्यकारी निर्माता बानियाँले भने ।
निर्देशक भट्टराई पनि दर्शकको प्रतिक्रिया निकै सकारात्मक रहेको बताउँछन् । ‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिएँ । हल भिजिटमा पाएको प्रतिक्रियाले झनै हौसला मिलेको छ । यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति हो’, निर्देशक भट्टराईले भने । फिल्म हेर्न प्रायः परिवार नै एकसाथ आइरहेका छन् ।’
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नव प्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ ।
आदर्शनगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij