बाँपीझ्याला, काठमाडौं । नेपालमा शुक्रबार पाँचवटा फिल्म रिलिज हुँदैछन् । नेपालको ‘हिजोआजका कुरा’, भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ प्रदर्शन हुनेछन् ।
एकैदिन पाँच फिल्म रिलिज हुँदा दर्शकलाई रुचिअनुसार हेर्ने विकल्प खुला भए पनि बक्स अफिसमा भने दबाब पर्नेछ । शो र दर्शक बाँडिंदा रिलिज हुन लागेको नयाँ नेपाली फिल्मलाई पक्कै चुनौती खडा हुनेछ । त्यति मात्र होइन, अहिले हलमा राम्रो प्रदर्शन गरिरहेको ‘दुई नम्बरी’ र चल्दै गरेको ‘प्रेमगीत ३’लाई थप चुनौती हुनेछ ।
टेलिभिजनमा ‘हिजोआजका कुरा’ हेरेर हुर्किएको नेपाली दर्शकको जमातलाई फिल्म हिजोआजका कुरा रुचिकर हुनसक्छ । तर ‘मास’ दर्शकलाई यसले कत्तिको अपील गर्न सक्ला भन्ने कुरा चाहिं फिल्मको वर्ड अफ माउथमा निर्भर हुनेछ । समीक्षकबाट सकारात्मक समीक्षा प्राप्त गरेको दक्षिण भारतीय फिल्म ‘कन्तारा’लाई ‘केजीएफ २’ का निर्माताले निर्माण गरेका हुन् । विश्वभर नै शुक्रबार लाग्न लागेको कन्तारा साउथ फिल्म रुचाउने र केजीएफका फ्यानलाई रुचिकर हुनसक्छ ।
सलमान खान र चिरञ्जीवी स्टारर फिल्म ‘गडफादर’ भारतमा गत साता नै रिलिज भएपनि एप्पल इन्टरटेनमेन्टले नेपालमा भने भोलि (शुक्रबार)देखि रिलिज गर्दैछ । भारतीय बक्स अफिसमा यसले औसत कमाइ गरिरहेको छ । आयुष्मान खुराना स्टारर कमेडी ड्रामा ‘डाक्टर जी’लाई लिएर पनि दर्शकमाझ पर्खाइ छ । विषयगत फिल्म हेर्न रुचाउने गम्भीर दर्शकदेखि कमेडी रुचाउने दुवैथरी दर्शकलाई यसले आकर्षित गर्न सक्छ । यसले पुरुष गाइनोक्लोजिस्टको कथा भन्छ ।
‘वान पिस रेड’ सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्म हो । एनिमे सिरिजका फ्यान र दर्शकलाई लक्षित गर्दै नेपाल रिलिज गर्न लागिएको यो फिल्मलाई लिएर तन्नेरीमाझ उच्च पर्खाइ छ । अहिले हलमा चलिरहेको ‘२ नम्बरी’ले पहिलो साताजस्तै आफ्नो बक्स अफिस मोमेन्टलाई अघि बढाउन सके, यसले दोस्रो साता पनि कमाइ राम्रै गर्न सक्छ । तर दर्शकीय क्रयशक्ति र शोको दबाब चाहिं बक्स अफिसमा स्पष्ट रुपमा पर्नेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij