
घटस्थापनाका दिन देखि बाह् कुसुले दुई कसाहीको मनमोहक मालश्री धुनको बाजा सँग सँगै बडादशैं प्रारम्भ हुन्छ । प्राचिन शहर दोलखामा बडादशैंमा न्हीलोखु फय, स्वन–तय (घटस्थापना), फुलपाति, महाअष्टमी÷कालरात्री, महानवमी (पुजा), विजयादशमी/ हिफाथामी जात्रा÷टीका, खड्गयात्रा, कोजाग्रत पूर्णिमा सम्म विभिन्न विधिविधानले नवदुर्गाको पूजा गरी मनाइन्छ ।

घटस्थापना :
दशैको शुरुको दिन विहान सबेरै (काग कराउनु भन्दा अगावै) त्रिपुरासुन्दरीबाट पुजारी, डमरु, राजकुलबाट गुबाजु, बाहुन, जैसी , तलेजु भवानीको पुजारी लगायत दोलखामा भएको करीव ३४ वटा कुलबाट बाजा गाजा (दुई कसाही र बा¥ह« कुसलेको बाजा) बजाई दोलखाको तीन धारा (राइती)मा गई धार्मिक विधि विधानले पुजा–आजा गरी त्रिपुरा सुन्दरीको डमरुले चोखो पानी थापेपछि पालै–पालो प्रत्येक कुलबाट आएका थकातीहरुले चोखो पानी थापिन्छ । त्यस पश्चात आ–आफ्नो कुलमा गई घटस्थापना गरी स्वन–तई (जमरा) राखिन्छ । घटस्थापनाको अघिल्लो दिनमा श्री भीमेश्वरको गुठीयार र टहलुवा तामाकोशीमा गई रातभर जागराम बसी पुजापाठ गरेर त्यहाँबाट बालुवा र चोखो पानी ल्याइ त्रिपुरासुन्दरी, तलेजु भवानी, राजकुलमा तामाकोशी नागदहबाट ल्याएको बालुवा र चोखो पानी दिइ धार्मिक विधि विधानले भगवतीको आरधना गरी भगवतीलाई जगाई जमरा राखिन्छ ।

राजकुलमा जमरा राख्दा बाहुन, राजगुरु र गुठीयारले संयूक्त रुपमा पुजा आरधना गरी बाजा बजाई जमरा राखि घटस्थापना गरीन्छ र त्यसपछि उक्त जमरामा घटस्थापना नित्य बिहान–बेलुका चोखो पानी छर्कि डमरु बजाई पुजा–आजा गरिन्छ । यसरी नै प्रत्येक कुलहरुमा पनि घटस्थापना गरिन्छ । त्यसपछि पूर्णिमाको दिनसम्म डमरु बजाई विशेष पुजा आरधना गरिन्छ । बिहान– बेलुका प्रत्येक कुल लगायत सम्पूर्ण मठमन्दिर, देवस्थलहरुमा गै कसाही, कुसुलेले बाजा बजाउने गरीन्छ ।


फुलपाति :
फूलपाती अर्थात दशैको सप्तमीको दिन तोकिएको शुभ साइतमा राजकुलबाट भीमेश्वर गुठीयार, पुरोहीत, मूसेलधारी (मुसेल बाल्ने), माहाने लगायतका मानिसहरु बाजा–गाजा सहित श्री भीमेश्वर मन्दिरमा आउँछन् र श्री भीमेश्वरमा विशेष पुजा विधिले ध्वजा पतका राखि सिगारिन्छ र फूलपाती बोक्ने डोलीलाई पनि विशेष रुपले सिँगारी राखिएको हुन्छ । चार गुठीयारहरु दिनभर व्रत बसी चोखोनितो रहि सेतो धोती पहिरी गुठी पालो पर्ने गुठीयारले फुलपातिको डोलीलाई अगाडी र पहिल्लो सालको गुठियार पछाडी बोक्ने र अन्य २ गुठीयार केराको बोट बोकी दायाँ बायाँ बसी भीमेश्वरको उत्तरतिर गुरुजुले विशेष पुजा स्थान बनाई राखिएको हुन्छ, सोही स्थानमा श्री भीमेश्वरको चार गुठीयारले बोकेको डोलीलाई पुजा गर्छ । त्यहाँ छ थरी (जिम्मावाल) मध्य एक थरी (जिम्मावाल) उपस्थित हुनु जरुरी छ । बिधिपुर्वक पुजा गरिसकेपछि बोकालाई मार हानी टाउको, अदुवाको बोट, धानको बाला, फूलहरुको बोट डोलीमा राखि बाजा–गाजा, भजन कीर्तन सहित गुठीयार, नकिन थाकती सहितले विधिपूर्वक राजकुलमा फूलपाती भित्र्याइन्छ । उक्त फुलपातिलाई विजयादशमीको दिन बाजा–गाजा सहित गुठीयारहरुले जाल्डुम जोरमा लगि विसर्जन गरिन्छ । अनिमात्र टीकाको साइत चल्दछ ।

नखत : महाअष्टमी
वडा दशैँको आठौं दिन अर्थात महाअष्ठमीमा दोलखाका नेवार समुदायहरु व्रत बसी घर लिपपोत गरि नवदुर्गाको पुजा–आजा गर्न थापन सहित पुजा सामग्री तयार गरि आ–आफ्नो कुल्यानमा गई थाकती मार्फत पुजा अर्चना गर्ने गर्दछन् भने त्यस दिन श्री भीमेश्वर मन्दिर लगायत दोलखाका विभिन्न शक्ति पिठहरुमा आफ्नो मनोकांक्षा पूरा गर्न आ–आफ्नै तरिकाले पूजा गर्नेको भिड हुन्छ ।

महानवमी : पुजा
यसदिन बिहानै (करिव ४ बजेतिर) श्री भीमेश्वरमा रुद्रि पुजा गरेपछि बली पुजा सुरु हुन्छ । त्यसदिन दोलखा बासी नेवार समूदायले आ–आफ्नो कुल्यानबाट आफूले भाकल गरेको बोका सङ्कल्प गरी ल्याई भीमेश्वरमा पालै–पालो बोका बली दिने गर्दछन् । यो क्रम त्यस दिन बेलुकासम्म चल्छ । त्यसपछि मात्र भिमेश्वरको नित्य (राज) पुजा हुने गर्दछ ।
मध्यरातमा श्री भीमेश्वर, श्री त्रिपुरासुन्दरी, श्री तलेजु भवानी, राजकुलमा कालरात्री पुजा हुन्छ । कालरात्रीको रात श्री भीमेश्वरमा मेष बली हुन्छ । श्री भीमेश्वरमा मेष बली दिँदा माहानेले महानवमीको दिन विहानै भीमेश्वर भण्डारबाट भगवतीको मुकुट, किकिर्पा र अन्य गर गहनाहरु लगी सर–सफाई गरी सिन्दुरले सिंगार–पटार गरी नाङ्लोमा राखी ल्याउँछ र मध्यरातमा श्री भीमेश्वरलाई विधि पूर्वक पुजा गरी सिंगारिएको विशेष प्रकारको मुकुट, किकिर्पा लगायतका गहनाले सिंगारी सेतो कपडाले श्री भीमेश्वरलाई ढाकी त्यस कपडालाई चुडामनीसम्म लगेर टाँगिएको हुन्छ । जसअनुसार भीमेश्वरले बलि खाने बेलामा सेतो कपडाको बाटो गरी अरु रुप चुलिकामा गएर बस्ने र भीम भैरवको रुपमात्र भीमेश्वरको सिलामा बसी बली खाने गर्दछन् भन्ने धारणा छ ।
त्यसपछि श्री भीमेश्वरको गुठीबाट पालो पर्ने गुठीयारले संकल्प गरि बाजा–गाजा सहित सर्वप्रथम जोर बोका बली दिएपछि पाँचवटा राँगो बली दिइन्छ । राँगो बली दिँदा अगाडी पुजा गर्ने राँगो (हामिल्ठो) र सबभन्दा अन्तिममा पुजा गनेृ राँगो (लिमिल्ठो) भनेर छुट्याएर राखि पालैपालो बली दिइन्छ । उक्त राँगो पुजा मध्यरातमा हुन्छ जुन पुजालागि कालरात्रीको पुजा भनिन्छ । लिमिल्ठो राँगो बली दिइसकेपछि चार दिनसम्म श्री भीमेश्वरमा कुनै पनि बली पुजा चल्दैन ।
दशमी : टीका
बिहानै श्री भीमेश्वर मन्दिरमा थाकतीले फूल तल झिक्छ, महानेले कसैसँग नबोली, पछाडी नफर्कि कालरात्रीको समयमा श्री भीमेश्वर चुडामनीमा टाँगेको सेतो तुल निकाली पुजा–आजा गरि बाजा–गजा सहित राजकुल तर्फ जान्छन् र, बाटोमा जाँदा थाकतीले पुरान्छेमा बसीरहेको हिपाथामीलाई श्री भीमेश्वरका फूल प्रसाद दिएपछि (हिपाथामीहरु सुन्द्रावतीको डुम्कोटबाट अघिल्लो दिनमा नै आएर कटेरो बनाई धुनि जगाई देवी–देवता बोलाई कामि रहन्छन् ।) हिपाथामीहरु त्यहाँबाट भीमेश्वरमा रहेको तीनधारामा नुहाई भीमेश्वरमा विशेष पुजा गरेर काम्दै–काम्दै देवीकोट (त्रिपुरासुन्दरी) तिर लाग्दछन् । देवीकोटमा हिपाथामीहरु आफ्नो कोठामा गई सिंगारपटार गरि सेतो फेटा बाँधी तल झर्छन् र देवीकोटको पुजारीले तान्त्रीक विधिद्वारा पुजा–आजा गर्छन् ।

त्यसपछि पुजारीले हतियार पुजा गरेर चौखुर बाँधेर राखेको राँगोलाई पुजारीको आदेश अनुसार कसाहीले घाँटीको छाला तारेर रगतको नलि निकाली हिपाथमी तर्फ रगत छिर्काउँछ । हिपाथामीले रगत खाएको अभिनय सहित तीन फेर घुमी मुख धोईसकेपछि काम्दै–काम्दै तोकिएको ठाउँहरुमा तीन–तीन फेर घुमेर राजकुल तर्फ जान्छन् । राजकुलमा माहानेले हिपाथामीलाई पुजा–आजा गरी बत्ती दिन्छ र हिपाथामीले उक्त बलेको बत्तिलाई चारैतर्फ मन्छाइ सकेपछि बाँकी रहेको बलेको बत्ती मुखमा राख्छन् ।

त्यसपछि त्यहाँबाट चक्र पुगेर बाँधि राखेको राँगोलाई तीन फेर घुमी कुट्छन् र राइती (तीनधारा) मा गएर नुहाएर आफ्नो वासस्थानमा गएर बस्छन् । दोलखामा सञ्चालन हुने यो जात्रालाई गहिरिएर हेर्दा यस जात्राको चाल–चलन, सिंगारपटार, जात्रा सञ्चालन हुने स्थान, जात्रा हिड्ने बाटोलाई हेर्दा यो जात्रा किराँत कालिन सभ्यतामा सञ्चालन भएको पौराणिक जात्रा हो कि? त्यसैले यस विषयमा खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ । वडा दशैंको विजया दशमीको दिनमा सञ्चालन हुने यस जात्राको सम्पूर्ण जिम्मेवारी जात्रामा संलग्न थामी समुदायको हुन्छ ।

यस जात्रा संचालन गर्न आयस्थाको रुपमा प्रसस्त जग्गा जमिनहरु राखिएको थियो । तर हाल उक्त जग्गा कहाँ छ, कति छ, भन्ने विषयमा खोज गर्नुपर्ने देखिन्छ । हिपाथामी जात्रा नसकिए सम्म दोलखा बजार भित्र टिका लगाउनु हुँदेन भन्ने मान्यता छ । दोलखाको राजकुलबाट सुरु गरिएको सरकारी टिका पश्चात मात्र दोलखा बजारमा आ–आफ्नो कुलमा गई टिका लगाउने र त्यस पश्चात मात्र घर घरमा टिका लागउन परम्परा छ । सरकारी टिका लगाउने चलनबाट दोलखा स्वतन्त्र राज्य भएको बेलामा यहाँका राजाले सवै जनताहरुलाई दोलखा बजार परिक्रमा गर्दै प्रत्येक टोलटोलमा गएर जनताहरुलाई राजाको हातबाट टिका लगाई दिने परम्पराबाट हाल उक्त टिका स्थानीय जनप्रतिनिधि प्रमुख, पुरोहित र गुठियारबाट संयुक्त रुपमा सवै जनतालाई टिका लगाई दिने पचलन रहि आएको छ ।
एकादशी : खड्गजात्रा
बिहानै झिसमिसेमा नै कसाही कुसुले कलाकारहरुले मनमुग्द पार्ने खालको बाजा बजाएर कोर्छे राजकुल्यानबाट माथिल्लो बिहार्छे र तल्लो बिहार्छेका खाँरो (खड्गधारी)हरुलाई लिन आउँछन् । जसलाई दोलखा नेवार समुदायले देशमै नभएको बाजा भनेर भन्ने गरिन्छ । देवता र दानवको महा–संग्राम हुन लाग्दा देवताहरु युद्धको तयारी स्वरुप आफ्नो सेना लगायत विभिन्न देव गणहरुलाई जम्मा पार्ने क्रममा माथिल्लो बिहार्छे र तल्लो बिहार्छे राजाको चेली–बेटीबाट पनि देवगण÷सेनाहरु आमन्त्रित गर्नुपर्ने भयो । ती देवगणहरुलाई लिन जान देशमै नभएको बाजा (त्यतिबेला बजाएको बाजाको धुन अन्य बेला बजाउनु हुँदैन) बजाएर लिन जान्छन् र कोर्छे देवकुल्यान पुगेपछि सगुन लिएर राजकुल स्थित याकरगण कहाँ गएर आरधना गरी याकरगणकै नेतृत्वमा देवी भगवती लगायत अन्य देवगणहरु नक्छे, कोर्छे हुँदै टोलटोलका कुना–कुनामा गएर दानवहरुसँग युद्ध गर्दै विजय प्राप्त गर्दै टसिचा आइपुग्छ ।

टसिचा पुगेर दानवसँग युद्ध गर्न थप शक्तिको आवश्यकता महशुस गर्दै याकरगण पिङ्गल स्थित डोबर खसी (भैरव÷कुमारी) सँग मद्दत माग्न पुग्छ । डोबर खसीले मद्दतको आश्वासन पछि याकरगण सोही बाटो फर्कन्छ र सँगसँगै दानवसँग युद्ध गर्दैजाने क्रममा बालमन्दिर अगाडीको दोबाटोमा पुगेपछि डोबर खसीहरुको समुह (चार जना) सहयोगका लागि आउँछन । उक्त समुहमा सेनासँग देवताको रुप धारण गरि दानव आएको याकर गणले चाल पाउँछ र त्यहीँ दानवको बद् गरिदिन्छ । त्यसरी युद्ध गर्दै–गर्दै माथिल्लो टोल, श्री भीमेश्वर हुदैँ त्रिपुरासुन्दरी पुग्छन् । महिषासुर दानवको बद् गर्न फेरी थप शक्तिको आवश्यकता महसुस गरी याकरगणले बटुक भैरव कहाँ जान्छ र बटुक भैरवले महिषासुरको बद् गर्न आफ्नो नाबालक छोरा वटिङ् खारा पठाउने निधो गर्छ र सोही समयमा नै छोराको व्रतबन्ध गरी, व्रतबन्ध गरेको पोसाकमा नै मारको दानवको आन्ध्रा लगाई दिएर याकरगणसँग प्रमुख सेनापति बनाएर पठाउँछ ।

बटिङ् खाराले आफ्नो सुराकिको आधारमा दानवलाई लखेट्दै लखेट्दै, ठाउँठाउँमा घमासान युद्ध गर्दै नक्छेंको चक्रमा पुग्छ र सुराकिले दिएको जानकारीको आधारमा त्यहाँ महिषासुरसँग घमासान युद्ध हुन्छ । महिषासुर त्यहाँबाट भागेर जान्छ र बटिङ्खारा, याकरगण लगायतका सेनाले लखेट्दै जाँदा खिङल्चामा पुगेर महिषासुरको बद् गरि विजय उल्लासको बाजा बजाएर फर्कन्छ । याकरगणले आफूलाई सहयोग गर्ने सबै देवगणहरुलाई सकुसल आ–आफ्नो ठाउँमा पु¥याई फर्कन्छ ।

फर्कने क्रममा ठाउँठाउँमा केही दानवहरु बाँचीरहेको थाहा पाएर उक्त ठाउँहरुमा दनव स्वरुप मुलफर्सी (कुभिन्डो) लागि काट्दै राजकुल भित्रिन्छ । यसरी यो जात्राको समाप्ती हुन्छ । कोजाग्रत पूर्णिमाको दिन दोलखाको सम्पुर्ण कुल्यान र शक्ति पिठहरुबाट पुजामा प्रयोग भएका सामग्रीहरु दोबाटोमा लगि अन्त्यष्ठी गरिन्छ र दोलखामा बडादशैंको समाप्ती हुन्छ ।
फाईल फोटो: बाँपीझ्याला डटकम/ सामाजिक सञ्जाल
यसै गरी यसपालीको दशै घटस्थापनादेखि कोजाग्रत पूर्णीमाको दिनसम्म धुमधामसँग विधिपूर्वक नियमानुसार सम्पन्न गरिएको छ । दशैलाई विदा गर्दैआउँर्दै गरेको दीपावली, नेपाल सम्वत् ११४५ र छठपर्वको अवसरमा हामी र हाम्रो बाँपीझ्याला डटकमको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । जय दोलखा भीमेश्वर ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij