Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको फिल्म राधा पुनः रिलिज हुने

हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको फिल्म राधा पुनः रिलिज हुने

बाँपीझ्याला, काठमाडौं । हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको फिल्म राधा पुनः रिलिज हुने भएको छ । फिल्मका निर्देशक सुवर्ण थापाले कथावस्तु राम्रो हुँदाहुँदै पनि अधिकांश दर्शकले हेर्न नपाएको गुनासो गरेपछि देशका प्रमुख सहरमा चाँडै पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिए । हलमा नियमित प्रदर्शनका साथै च्यारिटी र विशेष शो समेत आयोजना गरिने उनले बताए ।

गत भदौ १० गते रिलिज भएको फिल्मले हलमा राम्रो शो नदिएर अन्याय गरेको भन्दै गत मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रदर्शन रोक्ने निर्णय गरेको थियो । ‘राधा’सँगै प्रदीप खड्का स्टारर ‘प्रकाश’ र तेलुगू फिल्म लाइगर पनि प्रदर्शनमा आएका थिए । यी दुवै फिल्म अहिले हलमा लागिरहेका छन् । ‘लाइगर’लाई उच्च शो दिएर आफ्नो फिल्मलाई कम दिएको भन्दै ‘प्रकाश’ले विरोध जनाएपछि यो फिल्मले भने राम्रै शो पाइरहेको छ ।

अभिनेता सौगात मल्लले पहिलोपटक निर्माण गरेको ‘राधा’ हराएका पति खोज्न एकल आमाले गरेको संघर्षको कथा प्रस्तुत गर्छ । फिल्मको केन्द्रीय भूमिकामा सृष्टि श्रेष्ठ छिन् भने दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल, मेनुका प्रधान र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । प्रदर्शन रोकिएको दिनसम्म फिल्मले १४ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार