
परम्परा र मौलिकताको साइनो दोलखाको लागि अचम्भको छ । यहाँ संस्कृतिमा विविधता त छ नै, दोलखाको नेवार भाषा र नेवारकै रीतिरिवाजमा पनि एकतामा अनेकता छ, जुन काठमाडौं उपत्यका र मोफसलमा रहेका नेपाल भाषा बाल्ने नेवारहरूको बीचमा दोलखाको नेवार भाषाले नेवार भाषाको पहिचान दिलाएको इतिहासको पानाले खुलाएको छ, यद्यपि केही शिक्षा र ज्ञानलाई ग्रहण गर्ने तरिकालाई आत्मसात् गर्न हाम्रा पूर्खाहरूले कञ्जुस्याइँ गरेको कारणले कता कता हामी पछाडि पर्यौं कि जस्तो आभास छाएको छ ।
दोलखा त्यसैपनि प्राचीन शहरको नामले नचिन्ने विरलै होलान् । हिजोआज केही ठुटे विद्वानहरू, कुवाको भ्यागुतोरुपी कानुनी कार्यकर्ताहरू र शिकारु पत्रकार भनाउँदाहरूले दोलखाको संस्कृति र परम्परालाई ओझेलमा पारेर स्थानको बाहुल्यतालाई नै प्रभाव पर्नेगरि मनगढन्ते टिप्पणी अगाडि ल्याउने प्रयत्न गरिरहेका छन् । यसबारेमा प्राध्यापक डाक्टर शब्द झुण्ड्याएर विद्वान विदुषी कहलाउन चाहनेहरू ब्यूँझन जरुरी भैसकेको छ । हैन भने शैक्षिक प्रमाणपत्रको परिभाषा दिएर दक्षताको पहिचान दिलाउनुको कुनै अर्थ रहनेछैन ।

दोलखाको मौलिक परम्परालाई मनैदेखि खोतलेर हेर्दा आजको दिनलाई गणेश चतुर्थीको रुपमा दोलखा नेवार भाषामा ‘चौठी’ भनेर मानिन्छ । वास्तविकता हिन्दू धर्म ग्रन्थमा गणेशलाई अग्रदेवको रुपमा मानिन्छ,यसको अर्थ हो पूजा आराधना गर्दा सर्बैभन्दा पहिले श्रीगणेशलाई आराधना नगरीकन कुनैपनि कार्य सिद्ध हुन्न भन्ने मान्यता स्वयं गणेशजीकै पिताजी महादेवले वरदान दिएको आधारमा हामीले बुझेका छौं । आज उनै आराध्यदेव श्रीगणेशको जन्म दिन हो । त्यसैले आजको दिनलाई गणेश चतुर्थीको नामले जान्दछौं । श्री गणेशको यो चतुर्थी तिथिसंग के सम्बन्ध छ भन्ने बारेमा यस्तो कथा सुन्नमा आएको छ ।
नेपालका नेवार समुदायले विभिन्न पर्वहरू वर्षभरि नै मनाउँदै आएका छन् । यस्ता चाडपर्वहरू मध्ये चथा अर्थात गणेश चौथी पनि एक हो । यो पर्व भाद्र शुक्ल चौथीका दिन मनाइने गरिन्छ । यसलाई नेपाल भाषामा चथा भनिन्छ र यस दिन पुजिने देवतालाई चथा देवता भनिन्छ । यस दिन भक्तपुरको नवदुर्गा गणमा भगवान गणेशको सृष्टि हुने गर्दछ । त्यसैले यस दिनलाई गणेश चौथी पनि भन्ने गरिन्छ । यस दिन बिहानैदेखि भक्तजनहरू नजिकका गणेश मन्दिरमा गई पूजा, अर्चना गर्ने गर्दछन् । भगवान गणेशको पुजा बिहान गरे तापनि चथा गणेशको पुजा भने चन्द्रमा देखेपछि रातिको समयमा गर्ने गरिन्छ । चथा पुजा किन राती गरिन्छ भन्ने सम्बन्धि एक किंवदन्ती रहेको छ ।

भगवान गणेशको रुप माथी चन्द्रदेवले खिल्ली उडाएकोले गणेश क्रुद्ध भै चन्द्रदेवलाई श्राप दिएको थियो कि अब उपरान्त कसैले चन्द्रको दर्शन गरे चन्द्र दोष लाग्ने छ जसले गर्दा मिथ्या चोरीको दोष लाग्ने छ । यसै श्रापले गर्दा सबैले चन्द्रदेवको दर्शन गर्न छोड्यो । आफ्नो गल्ती महशुस गरि चन्द्रले भगवान गणेशसंग क्षमा माग्यो र गणेश प्रशन्न भै सबै श्राप त फिर्ता लिन सक्दिन तर ञलाथ्व चतुर्र्थीको दिन बाहेक अरु दिनको दोष क्षमा गरि दिए । त्यसैले चथाको दिन चन्द्रमा हेर्नू हुन्न भनी आजसम्म पनि थिमीमा लुक्ने प्रचलन रहिआएको छ । यसरी परम्परा रहि आएको छ ।
त्यसैगरि द्वापरयुगमा भगवान कृष्णले चतुर्थीका दिन चन्द्रमा हेरेको हुनाले मिथ्या चोर दोष लागेछ र उहाँ माथी स्यमन्तक मणिको चोरी तथा प्रसेनको हत्याको मिथ्या दोष लागेपछि श्री गणेशको पुजा गरि क्षमा माग्नाले उक्त दोषबाट मुक्त हुनु भयो र त्यसै दिन देखि चतुर्थीको दिन श्री गणेशको पुजा गरि चन्द्र दोषबाट मुक्त होस भनी क्षमा माग्न गणेशको पुजा गर्ने प्रचलन चल्दै आएको हो । त्यसैले यसदिन चन्द्रमा हेर्नू हुन्न भन्ने मान्यता रहेको छ । यदि गल्तीले चन्द्रमालाई हेर्यो भने चन्द्र दोष नलागोस भनी क्षमा माग्दै गणेशको पुजा गर्ने गरेको हो ।
अब दोलखामा चथा चौठी या गणेश चतुर्थी जे भन्दा नि आज यस परिवेशमा परापूर्व कालदेखि नै चोर देवता (खुँ द्यउ) पूजा गर्ने भनेर मान्ने गरेको सुन्दै आएका छौं, यसमा हामीले सुन्नमा या बुझ्नमा गल्ती गर्यौं या हाम्रा जिजु हजुरबाहरुले भन्नमा या बुझाउनमा गल्ती गरेका हुन् त्यो यथार्थ अबका विद्वानहरूले प्रस्ट्याउन जरुरी देखिन्छ ।

जे होस्र हामीले सुनी बुझि आएका लोकोक्ति अनुसार आजको साँझमा नयाँ उत्पादित अन्न जस्तै कि मकै भटमास र अन्य गेडागुडी भुटेर देउतालाई चढाउने प्रचलन छ । यस्तो खाद्यवस्तुलाई स्थानीय भाषामा ‘छुसेमुसे’ भन्ने गरिन्छ । यसको साथमा हरियो काँक्रा पनि हालिन्छ । जब साँझ पर्छ तब प्रत्येकको घरघरको कोठामा पूर्वतिर फर्केर सालको पातमा टीका प्रसाद चढाइ गणेश भगवानलाई स्मरण गरेर पूजा गरिन्छ ।
दोलखाको स्थानीय रीत अनुसारको यो पूजाको व्याख्या गर्नुपर्दा आजको साँझको यो पूजाले त्यो परिवेशमा चोर डाँकाहरूले दुःख नदिउन् भन्ने उद्देश्यले पूजा गरिएको हो जस्तो देखिन्छ । तर गणेश चतुर्थीको महिमा सुन्दा बिनाकारण चोर दोष नलागोस् यदि लागिहाले भने पनि त्यो दोषबाट मुक्त होस् भनेर गणेश भगवान संग आराधना गरिएको भन्ने देखिन्छ ।

जे होस् सन्दर्भ र प्रसंगलाई जसरी हेरिए पनि उक्त पूजा गरिसक्ने बित्तिकै गल्छेँडो कुलो झोरतिर कुकुरका बथानले लखेटेर दोबाटो कटाइ दिन्छ, तर केलाई त भन्दाखेरि अहिलेसम्म कसैले यसैलाई हो भनेर खुलेर भन्न सकेको छैन । अनि बुढापाकालाई सोध्दा ती नै चोरदेउतालाई लखेटेको भनेर सुनाउथे । यो मनगढन्ते कुरा होइन मैले नै ४–५ वषृसम्म निकै ध्यान दिएको थिएँ ठ्याक्कै गणेशको पूजा सकिने बित्तिकै एक हुल कुकुरले माथि थाँछेँ भन्ने झोरखोलाबाट लखेटेर पञ्चायत घर हालको राजकुलोबाट पोखरीतिर झर्ने कुलोसम्म लखेटेर लान्थ्यो । तर लखेटिने वस्तु भने देखिदैनथ्यो ।

यही दिन काँक्रो चोरेर खानेहरूको विगविगी हुन्थ्यो त्यतिबेला । तर अहिले सबैमा बुद्धि पलाएछ क्यारे ती अमयार्दित काम हुन छोडेका छन् । शायद यसलाई पनि कसै कसैले मौmिकतासंग जोड्दा हुन् तर त्यो होइन, जुन नराम्रो करतूत त्यतिबेला हुन्थ्यो त्यो अज्ञान र अल्पशिक्षको कारणले भएको भनेर बुझ्न जरुरी छ । जय गणेश ! जय भीमसेन ! जय द्वाल्खा !!
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij