Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाको भैरव कुमारी जात्रा सम्पन्न

दोलखाको भैरव कुमारी जात्रा सम्पन्न

नेपाल सम्वत् ११४४, गुँलागाः ६ (१० भाद्र, २०८१) सोमबार, बाँपीझ्याला, दोलखा । भैरव कुमारी रात्रीकालिन जात्रा आज सम्पन्न भएको छ । यही २०८१ साल भाद्र ५ गते द्धितियादेखी ९ गते षष्ठिसम्म लगातार ५ दिन (बेलुकी बेलुकी) सम्म बेलुका करिव ९–१० बजेदेखि रात्री ३–४ बजेसम्म जात्रा निकाली बिधिपूर्वक नचाई मनाईने चलन रहेको छ । यस किसिमको भैरव कुमारी जात्रा नाच नेपाल राज्य भित्र कतै कही नभएकोले यसको आफ्नै मौलिकता र महत्व रहेको पाईन्छ ।

भैरवकुमारी नाच जात्रा प्राचिन शहर दोलखा भीमेश्वर नगरपालीका वडा नं.२ दोलखा स्थित पिङ्गल टोलमा रहेको पुनः निर्मीत भैरव कुमारी घर बाट निकालिएको हो । रातको करिव ९–१० बजेदेखि शुरु भएर विहानको ३–४ बजेसम्ममा यो जात्रा भित्याउने चलन रहेको छ । भैरवकुमारी जात्रा युद्धको शैलीमा वाजा गाजासँगै नाचिन्छ ।

यो जात्रा भैरव र कुमारी र गण सहित दोलखा शहरको टोल टोलमा र यस भित्र रहेको डवलीमा नाचेर पाँच रातसम्म मनाईने यो जात्रा आफ्नै ऐतिहासिक महत्व अनी पौराणिक कथामा आधारित रहेको छ । जुन जात्रामा दोलखाका स्थानिय वासिन्दा मध्येका शिवभक्ती परिवारका सदस्यहरुमात्र सहभागी हुन पाउने परम्परा रही आएको छ ।

यसै गरी अघिअघि सेना र पछिपछि भैरव र कुमारी आ–आफ्नै भूमिकाअनुसार नाच्दै हिँडेको रोचक दृष्य र प्राचीन युद्ध कला कौशलमा यो जात्रा हेर्न दोलखामा यस पटक बाक्लै चहलपहल देखिएको थियो ।

यसै गरी भैरव कुमारी जात्रा समाप्त भएपछि शिवभक्ती परिवारले एउटा भोजको आयोजना गरेर भोजखाने चलन छ । उक्त भोज खान आजभन्दा ४-५ सय वर्ष अगाडी देखिनै गुठीको व्यवस्था गरेर राखि दिइएको पाइन्छ ।

इतिहास हेर्दा विद्यानन्द राजउपाध्याय (जुन घरमा कुमारी निकालिन्छ त्यही घरको मुल मानिस हाल श्रेष्ठ लेख्छन् ) ले कुमारी गुबुँ भन्ने खेत गुठीको निम्ती राखेर उक्त आयस्ता बाट ५ दिन भैरव–कमारी जात्रा निकाले वापत भोज खान बन्दोवस्त मिलाएको देखिन्छ । यसरी ऐतिहासिक तथ्य भएको यो जात्रा दोलखाको एउटा महत्वपूर्ण पौराणीक मध्येको एक जात्रा हो ।

भैरव कुमारी (बालकुमारी) जात्रा कसरी शुरु भयो त ?
प्राचिन शहर दोलखा भीमेश्वर नगर वडा नं. २ को महत्वपूर्ण जात्राहरु मध्ये गाईजात्राको भोली पल्ट बेलुकी द्धितिया देखि षष्ठिसम्म लगातार ५ दिन (बेलुकी बेलुकी) सम्म जात्रा निकाली बिधिपूर्वक मनाईने भैरब र कुमारी (बालकुमारी) जात्रा एक हो । यो जात्रा कसरी उत्पती भयो भन्ने बारेमा बिश्लेषण गर्न खोजिएको छ ।

मन्दिर :
दोलखा जिल्ला भीनपा वडा नं. –२ दुङ्गल टोल स्थित दक्षिण तर्फ तामकोशी नदि जाने बाटोको उत्तर तर्फ सानो जंगल छ । यस जंगलको मध्य भागमा भित्र जाने एउटा बाटो छोडी चारैतिर ढुंगाको पर्खालले घेरेको छ । पर्खाल भित्र ३ वटा ढुंगा केही तल गाडिएको अवस्थामा रहेको छ भने त्यसको पछाडी लाम्चो ढुंगा उभ्याइएको छ । यसको ठिक अगाडी एउटा लाम्चो ढुंगा बिछ्याइएको छ । यसैलाई बालकुमारी (कुमारी) भनिन्छ । यसरी बिछ्याइएको ठुलो ढुंगामुनी कुमारीलाई तान्त्रिक बिधिद्वारा साधना गरी बसाइएको भन्ने जनविश्वास रहेको पाईन्छ ।

उत्पत्ति र स्थापना :
दोलखा शहरको पुरानो बस्ती दुङ्गल हालको भीनपा–२ दुंगलको नामले प्रख्यात छ । जुन ठाउंमा त्यसताका २ जना सिन्धु र बिन्दु आचार्य नाम गरेका २ जना त्रान्त्रिक दाजुभाई थिए । ति दुई दाजुभाई दिनदिनै तामकोशीको किनारमा गएर नुहाउने अनि चोखो पानी ल्याई नित्य पूजा गर्दा रहेछन् । यसरी तामकोशीमा जादा एकदिन अति राम्री ३ वटी कन्या देखेछन् यसरी देखे पछि त्रान्त्रीक शक्तिले ध्यान गरी हेर्दा देविहरु भनी थाहा पाएपछि तान्त्रीक शक्तिबाटै ति तिन वटी कन्यालाई समाती दोलखा ल्याएछन् ।

साक्षात देविका तीन दिदीबहिनीहरु त्रिपुरा सुन्दरी, बालकुमारी र कालिञ्चोक माई श्री भीमेश्वर मन्दिरको पछाडीपट्टी रानीवनसंगैको ओढारमा वासस्थान गरेका थिए । पछि त्यसको वरिपरि जनावर पशुपंछी मानिसहरु दिन–प्रतिदिन मर्दै गएकाले स्थानिय वासिन्दाहरु होहल्ला र आतंकित हुंदै गयो । यसरी दिन दिनै यहि क्रम जारी रहेपछि तान्त्रिक विद्यामा निपूण गुरुको आत्मिक दृष्टिकोणबाट हेर्दा देवि माताहरु खुल्ला ओढारमा बस्नु परेकोले यस्तो दैविप्रकोप हुन आएको होे भनि पत्ता लगाएपछि यी तीनै दिदीबहिनीहरुलाई एउटै ठाउंमा राख्न नहुने विचार माताहरु सित प्रकट गर्दा देवि माताहरु सहमतिको विन्दुमा पुगेकाले आचार्यले आ–आफ्नो वस्ने ठाउंको वारेमा विन्ती प्रकट गर्दा जेठी दिदी त्रिपुरा सुन्दरी खोला देख्ने ठाउं र जंगलको छेउमा वस्ने निधो भए वमोजिम हालसम्म त्यही रानीवन (काँडल) को नजिक अर्थात ओढार संगै अवस्थित छ (हाल जुन ठाउं भीनपा–२, दुंगलमा पर्दछ) । माहिली बहिनी बालकुमारी दिदीसंगै आसपासमा वस्ने सहमति कायम गरिन भने कान्छी वहिनीले हिमालको मधुर मुस्कान देख्ने र आफू बसेको ठाउंबाट दिदीको दैनिक दर्शन गर्न पाउने ठाउंमा विराजमान हुने सहमतिले हाल दोलखा शहर देखि करीव ३ कोष टाढा उच्च पहाडमा सुमद्र सतहदेखि १३,६०२ फिटको उच्चाईमा अवस्थित छ । यसरी देवि माताहरुलाई आ–आफ्नो इच्छा अनुसार बसाईयो ।

यसरी बसाई सकेपछि देवि माताहरु मध्ये बालकुमारी अति चञ्चल स्वभावकी थिईन । जुन सुकै बेला रातो पहिरनमा शहर बजार घुमि रहने, यसरी सधै रातो पहिरनमा घुमी रहने भएकोले बालकुमारी देवी मातालाई रातो (हेगउ) कुमारी पनि भन्दछन् । यसरी आफुलाई मन लागेको बेला निस्कने हिडडुल गर्ने भएपछि केटाकेटी, ठुलो मानिस दिन दिनै मर्न थाले यसरी दिन प्रतिदिन मर्न थालेपछि दोलखा शहरमा हाहाकार मच्चियो ।

यो मस्या समाधानका लागि स्थानिय बासिन्दाहरु बीच छलफल एवं सल्लाह भयो र सबैको सल्लाह र सहमतीमा त्यसताका त्रान्त्रिक बिद्यामा निपुण दोलखावासी बिद्यानन्दले अन्तदृष्ट्रिबाट पत्ता लगाउंदा बालकुमारी देवी माताबाट यस्तो गराएको भन्ने थाहा पाएपछि क्षमा पूजा गरी देवी मातालाई जगाई नरसंहार भएको बेलिबिस्तार गर्दा माताबाट आज्ञा भएनुसार आफुलाई कसैले हेरबिचार नगरेकोले गर्दा यस्तो बिपत्ति हुन गएको भनि जवाफ पाएपछि त्रान्त्रिकको आफ्नो चलाखिपनबाट अवदेखि मानव जातिलाई दुःख नदिएमा सम्पूर्ण ब्यवस्था हुनेछ भनी त्रान्त्रिक र देवी माता बीच बाचा बन्धन भयो ।

यसपछि त्रान्त्रिकले आफ्नो तान्त्रिक शक्तिबाट मातालाई खाडलमा पुर्ने योजना बनाए त्यसपछि दिक्षितहरुलाई पूजाको सामानहरु तयार पार्न लगाई ७–८ फिटको खाडल (हालको मन्दिर अगाडी) खन्न लगाई नित्यकर्म अनुसार पूजाआजा गरी त्यस खाल्डोलाई छोप्ने ढुंगाको ढकनी बनाई राखि दुवैलाई सिक्रिले बाध्ने र जो अगाडी सिक्रि चुडालेर बाहिर निस्कन सक्दैन त्यसलाई सदाको लागि पुर्ने शर्तमा बाचा भए । यसपछि देवी मातालाई फलामको साङ्लाले ढुंगामा अंकुसे लगाई बा“धे र आफुलाई चामलको पिठोको साङ्ला बनाई बा“धे ।

देवी माता फलामे साङ्लाको जालमा फसे भने त्रान्त्रिक आफु पिठोको साङ्लाले बा“धेको कारणले सजिलै साङ्ला चुडालेर बाहिर निस्किन् । देवी मातालाई यो कष्ट भएको असह्य भएर केही अनर्थ गरी हाल्ने हो की भनि त्रान्त्रिकले जुन दिन तामाकोशीको ढुंगा आ“प हुन्छ, भंगेराले पाईला चाल्छ र भुटेको भटमास उम्रेला त्यस बेलामा मात्र बाहिर निस्कन पाउने बाचा गराई सदाको लागि ढकनी बन्द गरी दियो । यसै बेलादेखि दिक्षाकर्म, मन्त्रतन्त्र प्राप्त गरेका ब्यक्तिहरु बाहेक अन्य ब्यक्तिहरु जान नहुने भयो । जुन मान्यता हालसम्म पनि रहिरहेको छ । तर शिवभक्ति परिवारका सदस्यहरु भने आफ्नो कुल देवता मानि जाने गर्दछन् ।

शिवभक्ति परिवारको कुलदेवता कसरी भयो र बालकुमारी देवी माताको जात्रा कसरी शुरुवात भयो ?
किम्बदन्ती अनुसार शिवभक्ति परिवारको पुर्खोली बजै (ब्वातिन) शिवलक्ष्मी दिनहु जसो देवी चढी काम्ने गर्दी रहेछिन् । दोलखा शहरमा कुनै न कुनै रोगको निहुले केटाकेटी, ठुलो मानिसहरु मर्न थाले । यसरी केटाकेटी, ठुलो मानिसहरु दिन प्रतिदिन मर्न थालेपछि दिन दिनै देवी चढ्ने ब्वातिन शिवलक्ष्मीलाई गोरेबाबुका पुर्खाले चुल्ठो समाती दिसामा दाहिने खुट्टाले टेक्दै बुढीको मुखमा हान्न थाले । बालबच्चा, ठुलो मानिसलाई दुःख दिने त“ बोक्सी बुढीलाई भनि लात्तले हान्दै गरेको बेलामा देवी चढी बग्न थालेको ब्वातिनले म बोक्सी होईन र मैले कसैको बालबच्चा पनि मारेको होइन म निर्दोष छु म बालकुमारी देवी हु“ मलाई त्रान्त्रिकले छलले बाचा गराई म माथि विश्वासघात गरी फलामे साङ्लाले बादी जमिनमुनी खाल्डोमा पुरी ढुंगो छोपी आफु भागे यसरी म अपमानित भएको छु ।

तान्त्रिकले मेरो लागि केही गरेन यस माथि फोहर दिशा मेरो मुखमा कोचि अर्को अपमान तिमीहरुले ग¥यौ त्यसले गर्दा म तिमीहरुलाई सराप दिन्छु भन्दै तिमीहरुको सन्तान दरसन्तानको कुर्कुचा फुटेर जाओस भनेर सराप दिए । यसपछि तान्त्रिकले अन्तदृष्ट्रिबाट हेर्दा बालकुमारी देवी माता रहेछ भनी थाहा पाई क्षमा मागे । यसपछि यदि मानव जातिलाई नोक्सान नगर्ने हो भने बर्षमा १ पटक ३ दिन गाईजात्राको भोलीपल्ट द्धितिया, तृतिया र चौठीसम्म जात्राका रुपमा शहर परिक्रमा गर्न पाउने र जात्रा मनाउने बाचा गरे । यसरी बर्षमा १ पटक ३ दिन जात्रा निकाल्ने चलन रहि आएकोमा पछि पञ्चमी, षष्ठी २ दिन थप गरी ५ दिन जात्रा मनाउने चलन चलि आएको छ । जुन हालसम्म पनि यथावत भएको छ ।

भैरबकुमारी जात्रा कसरी शुरु भयो ?
भैरबकुमारीको जात्रा कसरी कहा“बाट संचालन गर्ने भन्ने सम्बन्धमा कुमारी देवीमाताबाट आज्ञा भए अनुसार माथिल्लो टोलको थात बिहार्छें जाने मुखको घरमा एक ब्वातिन (घर्तिनी परिवारको सदस्य) छ जुन ब्वातिनले बताए अनुसार १ जना कुमारी, १ जना कालो बर्ण, लुगा पहिरन भएको भैरब, १ जना सेतो जामा लवेदा शुरुवाल लगाएको हातमा तरवार र ढाल लिएका राजा इन्द्र, १ जना घोडाचढी (सर गौ), १ जना नायिका (नकिन), १ जना नाक काट्ने (नास डेङुगु), १ जना जाल फाल्ने (जाल ङकु ) १ धागो मिलाउने (थाजि यङ्गु), २ जना कालो भैरबको साहन बाहन, २ जना रातो कुमारीको साहन बाहन २ जना ध्वजा पतका बोक्न १ जना टिलिङ टिलिङ बजाई भूत प्रेत पन्साई बाटो खुल्ला गराउने (गुभाजु) समेत गरी जम्मा १५ जनाको गण हुनु पर्ने जस्मा १४ जना शिवभक्ति परिवारको र १ जना बज्रचार्य गुभाजु परिवारको पुरुष सदस्य हुनु पर्ने, रातो कुमारी एवं उनको साहन बाहनहरुलाई रातो पहिरनको र कालो भैरब एवं उनको साहन बाहनलाई कालो पहिरनको लुगा हुनु पर्ने तथा मुकुन्डो, घर गहना हुनु पर्ने बताए ।

यसको साथै भैरब र कुमारीबाट पूजा लिदा जुन घरबाट पुजाआजा हुन्छ त्यस घरबाट जान आउने बाटोमा ४ वटा सिडि हुनु पर्ने र पहिलो सिडीमाथि बाया“ खुट्टा भैरब र कुमारीले राखेर पुजा लिने भनी बताए । अहिले पनि भैरवकुमारी जात्रा नाच्दै जादा भीमसेन डब्बली उत्तर तर्फ समाजसेवी दिवंगत खड्ग बहादुर श्रेष्ठको घरबाट यो पूजा थाप्ने चलन रहेको छ । तर अन्य घरबाट यस्तो पूजा थाप्ने चलन छैन ।

बालकुमारीको जात्रा त निकाल्ने तर कसरी कहिले निकाल्ने भन्ने बिषयमा स्थानिय बासिन्दाहरु बीच छलफल र सर–सल्लाह भयो । छलफल र सहमती अनुसार श्रावण सङ्क्रान्तीदेखि दक्षिणायन लाग्ने र यस महिनादेखि देवगण तल पर्ने र भूतप्रेत दानवगण माथि पर्ने भई दावगणले देवगण मानवहरुलाई दुःख दिने भएकोले दावगण भूतपे्रतलाई हटाउन भाद्र कृष्ण पक्ष द्धितियाको रात अर्थात रक्षाबन्धन पुर्णीमाको भोली पल्ट देखि भैरब कुमारीलाई निकाली जात्रा संचालन गर्ने सहमती भयो ।

यसको साथै जात्रा निकाल्ने घरहरु २ ठाउंमात्र रहेको छ । एक पिंगलटोल हाल (दोलखा बजार भीनपा–२) र टसिचाटोल (दोलखा बजार, भीनपा–२) बाट ३÷ ३ वर्षको आलो पालो गरी निकाल्ने चलन छ । यो हालसम्म पनि रहि रहेको छ । यस जात्रामा कसाई बाजा अर्थात कसाईबाट बजाईन बाजा, १२ जना कुसुलेले सहनाई फुक्ने प्रचलन रहेको छ ।

जात्रा निकाल्नु भन्दा पहिले जात्रामा भाग लिने भैरब, कुमारी र अन्य गण एवं साहन बाहनहरुलाई देवतादेवी अनुसार लुगा लगाउन लगाई पगडी बा“धी सगुन दिएर मात्र बाहिर निकाल्ने चलन रहेको छ । सगुन लिने बेलामा सगुन बाजा बजाईन्छ । यसपछि पूजाआजोको बिधि सिद्धिएपछि सबभन्दा पहिले राजा इन्द्र र नकिन हुने निस्कन्छ, यसपछि जाल फाल्नेले जाल फालेको अभिनय गर्ने, घोडा चढ्ने राजाको पछिपछि लाग्ने, नाक (नास) काट्नेले बुच्चे खुकरी र रगत थाप्ने ढुंग्रो लिनेले खुकुरी नचाउंदै नाच्ने गर्दछ । त्यसपछि त्यसपछि अन्तिममा भैरब कुमारी निस्कन्छ र भैरब बाजाको तालमा नाच्छ । यसको केही समय पछी कुमारी निस्कने चलन रहेको छ । जुन प्रचलन अहिलेसम्म कायमै रहेको छ । तर कुमारी भैरबको पछाडी पछाडी बसि नाच्छ ।

कुमारी जात्रामा भैरबको प्रवेश कसरी भयो ?
यसरी भैरब कुमारी जात्रामा कसरी प्रवेश भयो भन्ने बारेमा हामी जो कसैलाई खुलदुली हुन सक्छ यस सन्दर्भमा बालकुमारी अति चञ्चल भएकोले कुनै बिध्वंश कार्य गर्न सक्छ भनी नियन्त्रणका लागि पतिका रुपमा भैरबलाई समावेश गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । त्यसैले भैरबले जहिले पनि बाल कुमारीलाई जहिले पनि आफ्नो पछाडी पछाडी मात्र राखेको हुन्छ कहिबाट अगाडी बढ्न लागे अगाडि बढ्न दिदैन आफ्नो पछाडी पछाडी मात्र लाने गर्दछ ।

यसै गरी जात्रा शुरु भएको पहिलो दिन भूत प्रेतहरुले जात्रा हेर्छ र मानव जातिले हेर्नु हुंदैन भन्ने मान्यता रहेको छ । तर अहिले मानव जातीले पनी हेर्ने थालेका छन् । जात्रा शुरु भई केही पर पुगेपछि भूत प्रेत, दानव राक्षसहरु आई भैरब कुमारीको बाटो छेक्ने, जात्राको नक्कल गर्ने र बाधा पार्ने गरी खिसी गरेकोले भैरब र कुमारीले बज्रयोगीनी (जोगिन देउ) हालको दोलखाको पाखलती बसपार्क ईन्द्रसिंह पार्कसँगै भुत प्रेत, दानवराक्षसलाई लखेटेर लगेको थियो भन्ने मान्यता रहेको छ । यसै गरी दोश्रो दिनदेखि भने जात्रामा भुत प्रेत, दानव राक्षसले अवरोध गरेको कारण गुभाजुले एउटा मानिसलाई बारन अर्थात पुजा एवं खाद्य सामान बोक्ने खर्पन जस्तो बोकाइृ सबभन्दा अगाडी बसी बज्र लिई घण्टी बजाउंदै भुत प्रेत, दावन राक्षसहरुलाई पन्साउदै र जस्ले जे माग्छ त्यही वारनबाट चित्त बुझाउदै बाटो दाया“ बाया“ पन्छाउदै जान्छ भन्ने स्थानिय बुढापाकाहरुको भनाई रहेको पाउंछौं । यसरी (टिलिङ टिलिङ बजाएर हिड्ने गुभाजु) यसरी भुत प्रेत, दानव राक्षसले दुःख दिन्छ भनी भैरबले नक्छें टोलको बुद्धस्तुपको छेउबाट, तिनधारा अगाडीको नारायणको प्राङ्गणबाट र माथिल्लो टोलको सरचुका भन्ने ठाउंबाट सिठि फुकि सहरपा डांडा तिर हेरी बोलाई सर्तकता गराउंछ भन्ने भनाई रहेको छ । जुन हालसम्म पनि प्रचलनमा रहेको छ । दोश्रो दिन देखि भैरबको जिउमा करिव डेढ मिटर लामो तामाको पाताको लिङ्ग बा“धिएको हुन्छ र एक जनाले समातेको हुन्छ । यसरी दोश्रो दिन देखि लिङ्ग भैरबले राख्नुमा पनि किम्बदन्ती रहेको पाउंछों । पहिलो दिन भैरब कुमारी जात्रामा कुमारीलाई मात्र पूजाआजा गर्ने र भैरबलाई वास्ता नगरेकोले भैरब रिसाई दोश्रो दिन देखि यहि लिङ्गमा पूजाआजा गर्नु भनी लिङ्ग फैलाई दिएको मानिन्छ ।

भैरब कुमारी जात्रा दोलखा शहर पिंगल टोलको घरबाट निकाल्दा पिंगल, राजकुलेश्वर, बहिर, श्यामसुन्दर, डोकलुङा, टसिचा, कोर्छे, गणेश टोल, पालचुटी, माथिल्लो टोल, भीमसेन डब्बली, भीमसेन थान, कालिमन्दिर, त्रिपुरासुन्दरी, र दुंगल हुंदै पिंगल घरमा प्रवेश गर्ने चलन रहेको छ । यसै गरी टसिचा टोलबाट निकाल्दा कोर्छे, गणेश टोल, पलाचुटी, माथिल्लो टोल, भीमसेन डब्बली, भीमसेन थान, कालिमन्दिर, त्रिपुरासुन्दरी, र दुंगल, पिंगल, बहिर, श्यामसुन्दर, डोकलुंगा हुंदै टसिचामा प्रवेश गर्दछ । यो जात्रा रातीको समयमा हुने हुंदा स्थानिय एवं बाह्य भक्तजनहरुबाट ब्रत लिने, मईनटोल बाल्ने, गोकुल धुप, सिन्के धुप बाल्ने गर्दछन् । तर अहिले मईन्टोलको प्रचलन हटेकोले विजृुलीबाट चल्ने ईमजेन्सी लाईट बाल्ने गरिन्छ । यस जात्रामा दिवंगत आत्माको आन्मा शान्तीको लागि तथा आफन्तहरुको सुख शान्ति एवं दिर्घायूको कामना, नौ ग्रह शान्तीको कामनाका साथ महिलाहरु ब्रत बस्ने गर्दछन् । भैरब कुमारी मांसाहारी देवता देवी भएकोले चिउरा मासु लगायत सबै किसिमका तरकारीहरु समावेश गरिन्छ । यो जात्रा रातभरी नाच्ने जात्रा भएकोले जति जति पछि पछि दिन हुन्छ त्यति त्यति उज्यालो भएपछि मात्र भित्र जाने गरिन्छ ।

भैरब कुमारी जात्रा कहिले देखि शुरु भयो ?
कहिलेदेखि कसरी शुरु भयो भन्ने प्रमाण त भेट्टिएको त छैन तरपनि स्थानिय बयोबृद्धहरुको भनाई अनुसार बि.सं. १७८२–१७८३ देखि शुरुवात भएको मानिन्छ । भैरब र कुमारी लगायत अन्य साहन बाहनहरुले लगाईने मुकुन्डो सुनको बनाउन लगाई जात्रा निकाल्न खोजे तर धातुबाट बनेको मुकुन्डो लगाई जात्रा निकाल्ने बेलासम्म पनि भैरब कुमारीलाई कम्पन छुट्ने अर्थात शरिरमा देवता पस्ने भएन त्यसपछि धातुको मुकुन्डो हटाई साविककैको मुकुण्डो प्रयोग गरेपछि जात्रा शुरु भयो । साविकको मुकुन्डो लाहाबाट निर्मित मुकुन्डोलाई ब्यक्तिगत तथा संघ–संस्थाहरुबाट बर्षेनी मर्मत सुधार गरि आएको छ ।

भैरवकुमारी जात्रा व्यवस्थापनमा सहयोग :
भैरब कुमारी जात्रामा सहभागी हुने शिबभक्ति परिवारका सन्तानहरुलाई १० पाथि धानको बीउ जाने कुमारी बु“ नामबाट प्रख्यात गुबु“ भन्ने खेत, ४ माना मकैको बीउ जाने देउपाटी भन्ने बारी रहेको छ । यो खेतबारीको अन्न जात्रामा सहभागी हुने शिवभक्ति परिवारका सदस्यहरुले बा“डी चुडी खाने गर्दछन् । भैरब र कुमारीले लगाउने अनेक किसिमका गर गहनाहरु रहेको छ । सो गर गहनाहरु बिभिन्न स्थानिय एवं बाह्य भक्तजनहरुले चढाएको पाईन्छ । नेपाल सम्वत् ९१२ (बि.सं. १८४८) मा काठमाण्डौं नघल निवासी चित्रनरसिंह र सुपुत्र भोजमान सिंह भर्या हेमलक्ष्मीले चा“दीको लामो सिक्रि माला एवं चा“दीकै कमलको फुल जोडिएको चढाएको भन्ने उल्लेख गरेको देखिन्छ । दोलखा बस्ने बिद्यानन्दले १६ तोलाको चा“दीको माला, सिहबीरको नारचा भन्ने खेत कुमारीलाई चढाएको भन्ने देखिन्छ ।

बर्तमान अवस्थाको बढ्दो महंगीले गर्दा पहिले पहिलेको गुठीको नाउंमा राखेको जग्गाबाट मात्र जात्रा संचालन हुन नसक्ने अवस्था भएकोले भीनपा –२, निवासी श्री डब्बल बहादुर श्रेष्ठको सुपुत्र ब्यापारी एवं उद्योगपती श्री लक्ष्मण श्रेष्ठले बि.सं. २०४९ सालमा टसिचामा २ तले कुमारी घर बनाई दियो भने जात्रा संचालनको लागि रू. ५०,०००÷– अक्षकोष राखि प्राप्त ब्याजबाट खर्च गर्ने ब्यवस्था मिलाई दिएको छ ।
यसै गरी स्थानिय निकायको पुनः स्थापना पछी भीमेश्वर नगरपालीका अन्तर्गत वडा नं. २ दोलखाले बार्षिक बजेट विनियोजन गरी जात्रा संचालनमा सहयोग गर्दै आएको छ ।

भैरवकुमारी जात्रा संचालन घर :
भीमेश्वर नगरपालीका वडा नं. २ पिङ्गल स्थित भीमेश्वर नगरपालीकाको सहयोगमा २ तल्ले घर निर्माणाधिन अवस्थामा रहेको छ । यसै गरी भक्तजन दोलखावासी एवं शुभचिन्तक नेपाली दाजुभाई र भीमेश्वर नगरपालीका वडा नं. २ को सहयोगमा साँढे २ तले घर निर्माण सम्पन्न भएको छ । यसै गरी यस वर्ष पिङ्गल टोल स्थित निर्माणाधित भैरव कुमारी घरबाट जात्रा सम्पन्न भयो । आगामी दिनमा टसिचा स्थित भैरबकुमारी घरबाट जात्रा निकालिने छ ।

जात्रा संचालनमा सहयोग :
भीमेश्वर नगरपालीका वडा नं. २ स्थित रहेको बनारसी सहयोगी हातहरुले यसपाली स्वयमसेवक, बाटोमा बत्ति व्यवस्थापन, ठाउँ ठाउँमा पानी, चिसो व्यवस्थापनमा सहयोग गरेको थियो ।

गुभाजु सहभागी :
टिलिङ टिलिङ बजाउने गुभाजु जात्रामा सहभागी भएन । यसमा दोलखावासीले धेरैभन्दा धेरै दुःख व्यक्त गरेका छन् । र सहभागी हुन नआउने गुठीयार एवं बज्रचार्यलाई कारबाही हुनु पर्ने माग दोलखावासीले राखेका छन् ।
https://bampijhyala.com/2024/08/24/90154/

अन्तमा,
भैरबकुमारी जात्राको पहिलो दिन बाटोमा सडक बत्तिको कमि भएको थियो । भोली पल्ट वडाध्यक्ष स्टालिन श्रेष्ठलाई उक्त कुराको जानकारी गराएपछी प्राविधीक कारणले गल्ती हुन गएको भन्नु हुर्दै ३२ वडा सडक बत्तिको व्यवस्थापन गरी जात्रा संचालनमा सजिलो भएको थियो ।

दोलखाको संस्कृती, परम्परा र जात्रामात्रा संचालनमा दोलखावासी एक हौं । हाम्रो गौरव, हाम्रो दोलखा को नारालाई साकार बनाऔं । यस कार्यमा एकत्रित हुन सतबुद्धी प्राप्तको लागि हामी दोलखा भीमेश्वरसँग प्रार्थना गर्दछौं ।
जय दोलखा भीमेश्वर ।

उपेन्द्र प्रधान, भीमेश्वर नगरपालीका वडा नं. २, दोलखा ।

यस लेखको लागि सहयोगी :
कृष्ण प्रसाद श्रेष्ठ, पुरान्छे टोल
भरत श्रेष्ठ, थातकोर्छे टोल
होमचन्द्र श्रेष्ठ, गुर्कोट टोल
राम श्रेष्ठ, पिङ्गल, गुठीयार प्रतिनिधी

सन्दर्भ ग्रन्थी :
दोलखाको ऐतिहासिक रुपरेखा, आँखा, चिमाल, दोलखा ज्योती, बाँपीझ्याला लछिपती र दोलखाको साँस्कृतिक सम्पदा ।

फोटो : बाँपीझ्याला डटकम/ सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार