पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। सीआईबीले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थपको माग गरेपछि अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सीआईबीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा रकम सङ्कलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अर्याललाई पक्राउ गरिएको जनाएको छ।
प्रहरीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ।
उक्त रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत अर्यालको संलग्नता रहेको प्रहरीको आरोप छ।
सीआईबीले यस प्रकरणमा अनुसन्धान अघि बढाउन २०८३ मङ्सिर २ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अदालतबाट चार दिनको म्याद पाएसँगै प्रहरीले अर्यालमाथि थप अनुसन्धान अघि बढाउने भएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij