Nov 27 2026 | २०८३, मंसिर ११, गते

Nov 27 2026 | २०८३, मंसिर ११, गते

भारतमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याल काठमाडौं ल्याइए

भारतमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याल काठमाडौं ल्याइए

नेपाल सम्वत् ११४७, कछलागाः २, प्रतिपदा (१० मंसिर २०८३, २६ नोभेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । भारतमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ। मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त रकम असुली गरिएको प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

सीआईबीका प्रवक्ता अनुपशमशेर जबराका अनुसार अर्याललाई बिहीबार अपराह्न विराटनगर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो।

सीआईबीले बिहीबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा अर्याललाई २०८३ मङ्सिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ।

अर्याललाई पक्राउ गर्न सीआईबीले मङ्सिर २ गते जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो। पक्राउ गर्ने तयारीबारे जानकारी पाएपछि उनी दिल्ली गएको बताइएको थियो। उनलाई दिल्लीबाट पक्राउ गरी भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल हुँदै पूर्वी नाकाबाट विराटनगर ल्याइएको स्रोतले जनाएको छ।

मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा निर्धारित शुल्कभन्दा बढी रकम असुली गरिएको प्रकरणमा अर्यालमाथि अनुसन्धान भइरहेको छ। श्रम मन्त्रालयको सचिवका रूपमा कार्यरत रहँदा उक्त प्रक्रियामा संलग्न रहेको आरोपमा उनलाई अनुसन्धानको दायरामा ल्याइएको सीआईबीले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा सीआईबीले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो। उक्त प्रकरणमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित तत्कालीन मन्त्रालयका कर्मचारी तथा अन्य व्यक्तिहरू प्रहरी हिरासतमा छन्।

मलेसिया जाने करिब सात लाख नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गरिएको आरोपमा अनुसन्धान जारी रहेको छ। यस प्रकरणमा मेडिकल व्यवसायी, तत्कालीन सरकारी अधिकारी तथा कर्मचारीबीचको सम्भावित मिलेमतोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार