भीमेश्वर नगरपालिका–८, बोचमा क्षयरोग नियन्त्रण तथा रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्थानीयस्तरमा क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने, रोगको समयमै पहिचान तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले आमा स्वास्थ्य समूहका अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो।
नेपाल क्षयरोग निवारण संस्था, जिल्ला शाखा दोलखाको आयोजनामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिका–८ को वडा कार्यालयले आर्थिक सहयोग गरेको थियो। त्यसैगरी, जनस्वास्थ्य कार्यालय दोलखा र धुलिखेल अस्पताल दोलखाले प्राविधिक सहयोग उपलब्ध गराएका थिए।
वडा नं. ८ का वडाध्यक्ष काजी बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका निवर्तमान अध्यक्ष हर्कबहादुर श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले क्षयरोग नियन्त्रणका लागि संस्थाले दोलखा जिल्लाका सबै स्थानीय तह तथा वडासँग समन्वय र सहकार्य गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले क्षयरोगको पहिचान, रोकथाम र उपचारबारे समुदायस्तरमै जानकारी पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका सभापति तथा वडाध्यक्ष बुढाथोकीले क्षयरोग नियन्त्रणको अभियान मानिसको जीवन बचाउने महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो। उहाँले आफ्नो कार्यकाल छोटो भए पनि अघिल्लो नेतृत्वबाट सिकेका अनुभवका आधारमा आगामी नेतृत्वले समेत निरन्तरता दिन सक्ने गरी अभियानको सुरुवात गरेको उल्लेख गर्नुभयो। स्वास्थ्य क्षेत्रमा गरिने लगानी प्रत्यक्ष रूपमा नागरिकको जीवन रक्षासँग जोडिने भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था दोलखाका सभापति तीर्थबहादुर जोशीको समेत विशेष उपस्थिति रहेको थियो। अभिमुखीकरणका क्रममा सहभागीहरूलाई क्षयरोगका लक्षण, रोग पहिचान गर्ने तरिका, सर्ने माध्यम, रोकथामका उपाय, परीक्षण तथा उपचार प्रक्रियाबारे प्रशिक्षण दिइएको थियो।
धुलिखेल अस्पताल दोलखाका चिकित्सक डा. सौरभ चतुर्वेदी, जनस्वास्थ्य कार्यालय दोलखाका हेल्थ असिस्टेन्ट रामकुशल यादव तथा नेपाल क्षयरोग निवारण संस्थाका सदस्य एवं अहेव रामकृष्ण मास्केले प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो। उहाँहरूले क्षयरोग समयमै पहिचान गरी नियमित उपचार गरेमा निको हुने भएकाले लक्षण देखिएमा स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रमकै अवसरमा क्षयरोग नियन्त्रण तथा जनचेतना अभिवृद्धि अभियानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै वडाध्यक्ष काजी बुढाथोकीलाई सम्मान गरिएको थियो। साथै, उपचाररत दुई जना क्षयरोगका बिरामीलाई शीघ्र स्वास्थ्यलाभको कामनासहित पोषण सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
स्थानीय आमा स्वास्थ्य समूहका अध्यक्षहरू, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रमले समुदायस्तरमा क्षयरोगसम्बन्धी सचेतना विस्तार गर्न र रोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सञ्चालन नेपाल क्षयरोग निवारण संस्था दोलखाका सचिव भक्तलाल श्रेष्ठले गर्नुभएको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij