नेपाल सम्वत् ११४७, कछलाथ्वः १३, त्रयोदशी (६ मंसिर २०८३, २२ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । बहुप्रतीक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालालाई मुख्य केन्द्र बनाएर प्रतियोगिताको व्यवस्थापकीय तथा प्राविधिक तयारी तीव्र पारिएको छ। प्रतियोगिता सफल बनाउन कर्णाली प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का टोली मैदानमा खटिएका छन्।
घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेको दसौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। यद्यपि, प्रतियोगिताका विभिन्न खेल मंसिर ८ गतेदेखि नै सुरु हुनेछन्। प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुका अनुसार उद्घाटन समारोहअघि नै १० खेल सञ्चालन हुनेछन् भने प्रतियोगिताको समापन मंसिर २७ गते सुर्खेतमै हुनेछ।
प्रतियोगिता नजिकिँदै गर्दा वीरेन्द्रनगरमा स्वागतद्वार निर्माण, प्रचारप्रसार तथा अन्य व्यवस्थापकीय कामलाई तीव्रता दिइएको छ। खेलाडीहरू पनि प्रशिक्षणलाई अन्तिम रूप दिँदै प्रतियोगिताको तयारीमा जुटेका छन्। विदेशमा रहेका खेलाडीसमेत स्वदेश फर्किएर बन्द प्रशिक्षणमा सहभागी भइरहेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको र खेलस्थलहरू सञ्चालनका लागि तयार रहेको बताएका छन्। सामान्य मर्मतसम्भारबाहेक अधिकांश खेलस्थल तयार भइसकेको तथा खेल सामग्री ल्याउने काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
प्रतियोगिताको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। खेलस्थल तथा मुख्य चोकहरूमा २०० भन्दा बढी सिसीटिभी क्यामेरा जडान गरिएको छ। खेलाडी, प्रशिक्षक तथा अतिथिहरूको आवास व्यवस्थापनका लागि सुर्खेतका होटलहरूमा पर्याप्त कोठाको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन्। ती स्पर्धामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन्। साथै, ८१ प्रशिक्षक र ४१ व्यवस्थापकको सहभागिता रहनेछ।
प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कारसमेत प्रदान गरिने व्यवस्था गरिएको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कांस्य विजेताले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सामूहिक अर्थात् टोली स्पर्धामा स्वर्ण विजेताले १५ हजार, रजत विजेताले १० हजार र कांस्य विजेताले आठ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगिता सञ्चालनका लागि २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक परिचालन गरिनेछ। यसबाहेक ३४९ स्थानीय सहयोगी तथा खेल सङ्घका ९६ प्रतिनिधि पनि प्रतियोगिता व्यवस्थापनमा संलग्न हुने राखेपले जनाएको छ।
प्रतियोगिताका खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा २३ खेल आयोजना हुनेछन् भने सल्यानमा दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल सञ्चालन हुनेछन्। लुम्बिनी प्रदेशका बाँके र बर्दियामा चार खेल आयोजना गरिनेछ।
साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दका अनुसार नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ तथा बर्दियाको भूरीगाउँस्थित कभर्ड हलमा खोखो र गुलरियास्थित कभर्ड हलमा टेनिस खेल सञ्चालन हुनेछन्। ती खेलस्थलहरूको पूर्वाधार सुधार तथा व्यवस्थापनको काम पनि अघि बढाइएको छ।
नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवात २०३८ सालमा काठमाडौँबाट भएको थियो। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो। त्यसपछि आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुदले खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै कर्णाली प्रदेशको खेलकुद, पर्यटन र आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij