Nov 24 2026 | २०८३, मंसिर ८, गते

Nov 24 2026 | २०८३, मंसिर ८, गते

सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपिएल च्याम्पियन

सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपिएल च्याम्पियन

नेपाल सम्वत् ११४७, कछलाथ्वः १२, नवमी (५ मंसिर २०८३, २१ नोभेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक एनपिएल च्याम्पियन बनेको हो।

लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्दै शानदार जित हासिल गर्‍यो। सुदूरपश्चिमको जितमा जर्ज मन्सेले विस्फोटक शतकीय पारी खेल्दै अविजित १२५ रन बनाउनुभयो। उहाँले ५४ बलको सामना गर्दै १२ छक्का र आठ चौका प्रहार गर्नुभयो।

अर्का ओपनर विनोद भण्डारीले पनि अविजित ३० रनको योगदान दिनुभयो। उहाँले २७ बलमा उक्त रन बनाउनुभएको थियो। दुवै ओपनरको उत्कृष्ट साझेदारीले सुदूरपश्चिमलाई सहज रूपमा उपाधि दिलायो।

लगातार तेस्रो फाइनलमा ऐतिहासिक सफलता

सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो पटक एनपिएलको फाइनल खेलेको हो। अघिल्ला दुई संस्करणमा उपाधि जित्न असफल भएको सुदूरपश्चिमले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक च्याम्पियन बन्न सफल भयो।

उपाधि जितेसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपियाँ पुरस्कार पाएको छ।

लुम्बिनीले बनाएको १५५ रन

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ रन बनाउनुभयो। कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अलि शेखले २४ तथा डार्सी शर्टले २१ रन जोड्नुभयो।

सुदूरपश्चिमका स्कट कुगलेइनले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिनुभयो। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले समान एक विकेट लिनुभयो।

फाइनलसम्मको यात्रा

लिग चरणमा शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। तर दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै फाइनल पुगेको सुदूरपश्चिमले निर्णायक खेलमा लुम्बिनीलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो।

यससँगै सुदूरपश्चिम रोयल्सले एनपिएलको तेस्रो संस्करणमा ऐतिहासिक सफलता हासिल गर्दै पहिलो पटक च्याम्पियन बन्ने गौरव प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार