Nov 29 2026 | २०८३, मंसिर १३, गते

Nov 29 2026 | २०८३, मंसिर १३, गते

सेन्सर अनुमति पाएको ‘पाँच पाण्डव’ प्रदर्शनमा रोक, निर्माण टोलीलाई झड्का

सेन्सर अनुमति पाएको ‘पाँच पाण्डव’ प्रदर्शनमा रोक, निर्माण टोलीलाई झड्का

नेपाल सम्वत् ११४७, कौलागाः ११, एकादशी (१९ कार्तिक २०८३, ५ नोभेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनका लागि ‘युनिभर्सल सर्टिफिकेट’ पाइसकेको फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनमा रोक लगाइएको छ। आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने तयारीमा रहेको फिल्मलाई सूचना तथा सञ्चार मन्त्रालयले तत्काल प्रदर्शन नगर्न निर्देशन दिएको निर्माण पक्षले जनाएको छ।

निर्माण टोलीका अनुसार फिल्मले सेन्सर बोर्डबाट प्रदर्शनका लागि अनुमति पाएको केही घण्टामै मन्त्रालयबाट रोकसम्बन्धी सूचना आएको हो। मन्त्रालयका कर्मचारीले फोन गरेर ‘बुकिङ नखोल्न, गृह सचिवको ठाडो आदेश रहेको’ भन्दै पत्र बुझ्न सिंहदरबार आउन भनेको स्रोतको भनाइ छ।

निर्माण पक्षका अनुसार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा फिल्म प्रदर्शन रोक्न आग्रह गरेका थिए। त्यसैका आधारमा गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई फिल्म प्रदर्शन नगराउन निर्देशन दिएको स्रोतले जनाएको छ।

फिल्म प्रदर्शनमा रोक लगाइएको विषयमा फिल्मकर्मीहरूले आपत्ति जनाएपछि चलचित्र विकास बोर्डले यसबारे छलफल गरेर समाधान खोज्ने आश्वासन दिएको स्रोतको भनाइ छ।

फिल्मको थिम पोस्टर सार्वजनिक भएदेखि नै एउटा समूहले यसको विरोध गर्दै आएको थियो। फिल्मले आफ्नो आस्थामाथि चोट पुर्‍याएको भन्दै उक्त समूहले आलोचना गरेको थियो। फिल्मका मुख्य पात्र हरिवंश आचार्यलाई लक्षित गर्दै उनको फिल्म बहिष्कार गर्नुपर्ने आवाजसमेत उठाइएको थियो। निर्माण पक्षले यही समूहको दबाबका कारण प्रदर्शन रोक्न निर्देशन आएको दाबी गरेको छ।

झट्ट हेर्दा ‘महाभारत’सँग सम्बन्धित देखिए पनि फिल्मले महाभारतलाई लाक्षणिक रूपमा मात्रै प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ। फिल्मको मूल कथा भने दाजुभाइबीचको सम्बन्धमा केन्द्रित रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार