Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

प्रेम पाएपछि काजीको जीवनमा नयाँ प्रश्न : ‘कबड्डी–५’ मा परिवार, समाज र बदलिँदो समयको कथा

प्रेम पाएपछि काजीको जीवनमा नयाँ प्रश्न : ‘कबड्डी–५’ मा परिवार, समाज र बदलिँदो समयको कथा

नेपाल सम्वत् ११४६, यंलागाः ११, नवमी (२१ असोज २०८३, ७ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । कबड्डी’ शृंखलाका अघिल्ला भागमा काजीले मैयाँलाई पाउन गरेको संघर्षलाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको थियो। तर पाँचौँ शृंखलामा आइपुग्दा काजीको जीवनमा प्रश्न फेरिएको छ—प्रेम पाएपछि जीवन कसरी अघि बढाउने?

अभिनेता दयाहाङ राईका अनुसार ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ ले यही प्रश्नको व्यावहारिक पक्षलाई कथाको केन्द्रमा राखेको छ। प्रेम प्राप्तिसँगै काजीले परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीका बीच विभिन्न सम्झौता गर्नुपर्ने अवस्था फिल्ममा देखाइएको उनले बताए।

रामबाबु गुरुङको निर्देशन तथा कथा–लेखनमा बनेको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदैछ। पाँचौँ भागमा काजीको प्रेमकथा नयाँ मोडमा पुग्ने दयाहाङको भनाइ छ।

‘प्रेम प्राप्तिको संघर्षबाट अघि बढिसकेको काजीको जीवनमा अब प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव दर्शकले देख्न पाउनुहुनेछ,’ दयाहाङले भने, ‘प्रेम पाएपछि त्यसको व्यावहारिक पाटो पनि हुन्छ। त्यही पाटो हेर्न नै ‘कबड्डी–५’ बनेको हो।’

उनका अनुसार पहिलो भागदेखि पाँचौँ भागसम्म आइपुग्दा काजीको चरित्रसँगै उसको जीवन भोगाइमा पनि ठूलो परिवर्तन आएको छ। त्यसैले यसपटक दर्शकले विगतका भागभन्दा केही फरक काजीलाई देख्न पाउनेछन्।

‘कबड्डी’ शृंखलाको सुरुदेखि नै काजी र मैयाँको सम्बन्ध कथाको महत्वपूर्ण पक्ष रहँदै आएको छ। पाँचौँ भागमा फेरि मैयाँसँगको भेट हुँदा पुरानो प्रेमले काजीको मनमा हलचल ल्याउनु स्वाभाविक भए पनि यसपटक उसको प्राथमिकता केवल प्रेम प्राप्तिमा सीमित नरहेको दयाहाङ बताउँछन्।

‘यसपटक एउटा इनर्जी, उमेर र आफ्नोपनभन्दा पनि परिवार, समाज र साथीभाइसँग काजीले धेरै कुरामा सम्झौता गर्छ। किनभने त्यहाँ उसको सपना जोडिएको छ,’ उनले भने, ‘हिजो प्रेम प्राप्त गर्नु थियो, यसपटक उसले धेरै चिजसँग सम्झौता गरेर जान्छ।’

काजीले जीवनभर प्रेम गरेको आफ्नो ‘सोल्टिनी’ अर्थात् मैयाँ फेरि उसको जीवनमा फर्किएपछि आउने भावनात्मक उतारचढाव पनि फिल्मको महत्वपूर्ण पाटो रहेको दयाहाङले बताए।

बदलिँदो राजनीतिक परिवेशको प्रभाव

‘कबड्डी–५’ मा काजीको व्यक्तिगत जीवनसँगै बदलिँदो राजनीतिक परिवेशले पात्रको जीवन र मनोदशामा पार्ने प्रभावसमेत देखाइएको छ। यद्यपि फिल्मको मुख्य विषय राजनीति भने नरहेको दयाहाङले स्पष्ट पारे।

‘पछिल्लो समयको राजनीतिले गर्ने असर, राजनीतिक परिवर्तनसँगै आउने अपेक्षा र परिवर्तनपछिका सपनाहरूको प्रभाव देख्न सकिन्छ,’ उनले भने, ‘तर दोस्रो भागमा जसरी हामीले राजनीतिक विषय नै उठाएका थियौँ, त्यस्तो विषयचाहिँ यसमा छैन। दर्शकले समयसँगै आएको परिवर्तनप्रतिको काजीको मनोदशा भने देख्न सक्नेछन्।’

यसअघिका शृंखलामा जस्तै यसपटक पनि साथीहरूको उक्साहटले काजीको जीवनमा पार्ने प्रभाव फिल्ममा देखाइएको छ। त्यसको परिणाम भने फिल्म हेरेपछि मात्रै थाहा हुने दयाहाङको भनाइ छ।

‘पाँचौँ भागसम्म आइपुग्दा काजी मेरै साथी हो जस्तो लाग्छ’

काजीको चरित्रसँग करिब १५ वर्षदेखि जोडिएर काम गरिरहेका दयाहाङलाई अहिले यो पात्र पर्दाको चरित्रभन्दा पनि आफ्नै साथी जस्तो लाग्न थालेको छ।

‘यतिका वर्ष गरिसक्दा काजी क्यारेक्टर छोड्छु जस्तो लाग्दैन, तर नजिकको साथी जस्तो आभास हुन्छ,’ उनले भने।

काजीको चरित्रलाई लामो यात्रामा अगाडि बढाउँदा मानिसको जीवनमा आउने परिवर्तनलाई आधार बनाएको उनले बताए। दोस्रो भागमा काजीको चरित्रलाई कसरी अगाडि बढाउने भन्ने विषय आफूलाई निकै चुनौतीपूर्ण लागेको उनको स्मरण छ।

‘दोस्रो भाग गर्दा चाहिँ काजी क्यारेक्टर कसरी अगाडि बढ्छ भनेर मलाई निकै कठिन भएको थियो,’ उनले भने, ‘तर एउटा जर्नीमा उभिएर हेर्दा हाम्रो जीवनमा जसरी परिवर्तन आउँछ, त्यसरी नै काजीलाई पनि अगाडि लगेको छु।’

पहिलो भागदेखि पाँचौँ भागसम्म आइपुग्दा काजीले भोगेको करिब १५ वर्षको जीवनयात्रासँग काम गर्न पाउनु आफूका लागि रमाइलो अनुभव भएको दयाहाङले बताए।

उनले भविष्यमा पनि ‘कबड्डी’का पात्रहरूको जीवनलाई अझ अगाडि लैजाने इच्छा रहेको सुनाए। ‘यिनै पात्रहरूको ६५ वर्षपछिको मनोदशा कस्तो हुन्छ होला? सबै पात्रहरू कहाँ के गरिरहेका होलान् भन्ने तरिकाले बनाउन मन छ,’ उनले भने।

रामबाबु गुरुङको कथा तथा लेखन रहेको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’मा दयाहाङ राईसँगै विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार