Nov 05 2026 | २०८३, कार्तिक १९, गते

Nov 05 2026 | २०८३, कार्तिक १९, गते

कृषि, शिक्षा र स्वास्थ्यमा टुकी संघको योगदान, २४औँ साधारणसभा सम्पन्न

कृषि, शिक्षा र स्वास्थ्यमा टुकी संघको योगदान, २४औँ साधारणसभा सम्पन्न

नेपाल सम्वत् ११४७, कौलागाः ११, एकादशी (१९ कार्तिक २०८३, ५ नोभेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । ग्रामीण विकास टुकी संघ, दोलखाको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा आयोजित सभाको उद्घाटन भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले गर्नुभएको थियो।

संघका अध्यक्ष जयप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न सभामा सचिव घनश्याम ओलीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामेश्वर अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक प्रतिवेदनअनुसार संघको कुल आर्थिक कारोबार २ करोड ७ लाख ९४ हजार ३४९ रुपैयाँ ७७ पैसा रहेको छ।

वि.सं. २०४८ सालमा दोलखाका टुकी सदस्यहरूबाट स्थापना भएको संघले कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका सशक्तीकरण र ग्रामीण जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ। स्वीस सरकारलगायत विभिन्न सहयोगी निकायको सहकार्यमा स्थानीय समुदायको सहभागितामार्फत एकीकृत ग्रामीण विकासका कार्यक्रम सञ्चालन गर्दै आएको संघमा हाल ५०७ जना सदस्य आबद्ध छन्।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार संघले महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान (ओसेलिप) परियोजनामार्फत विगु र कालिञ्चोकका विभिन्न वडामा कृषक समूह गठन, कृषक पाठशाला सञ्चालन, उन्नत बीउ तथा कृषि सामग्री वितरण, प्लास्टिक टनेलमार्फत तरकारी खेती प्रवर्द्धन र कृषि प्राविधिक सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै, महिला सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, गर्भवती महिलाका लागि पोषण तथा परामर्श सेवा र आवश्यकतामा परेका महिलालाई आकस्मिक स्वास्थ्य उपचार सहयोगसमेत उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ।

संघअन्तर्गत सञ्चालित टुकी माटो परीक्षण प्रयोगशालाले दोलखासहित छिमेकी जिल्लाका कृषकलाई माटो परीक्षण तथा प्राविधिक परामर्श सेवा दिँदै आएको छ। आर्थिक वर्ष २०८३/८४ मा मात्रै प्रयोगशालाबाट ३९५ वटा माटोका नमुना परीक्षण गरी प्रतिवेदनका आधारमा परामर्श सेवा प्रदान गरिएको छ।

सभामा भीमेश्वर नगरपालिका–६ का वडाध्यक्ष नवीन लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव रमेशकुमार श्रेष्ठ, राप्रपाका प्रतिनिधि केशव काफ्ले, संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठ, पूर्वअध्यक्ष हर्कमान प्राखिन, सल्लाहकार दामोदर न्यौपाने, दोलखा उद्योग वाणिज्य संघका महासचिव रामकृष्ण श्रेष्ठ, आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की, उपाध्यक्ष लालबहादुर घिसिङलगायतले संघले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासमा पुर्‍याएको योगदानबारे चर्चा गर्नुभएको थियो।

ग्रामीण समुदायको आवश्यकता र सहभागितालाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम सञ्चालन गर्दै आएको संघले आगामी दिनमा पनि स्थानीय तह, समुदाय र सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

२०४८ सालदेखि ग्रामीण विकास अभियानमा सक्रिय

ग्रामीण विकासको सफल नमुनाका रूपमा परिचित टुकी अवधारणालाई आत्मसात् गर्दै वि.सं. २०४८ सालमा दोलखा जिल्लाका टुकी सदस्यहरूबाट ग्रामीण विकास टुकी संघ स्थापना भएको हो। करिब ४९ वर्षअघि प्रतिपादन भएको टुकी अवधारणालाई संस्थागत गर्दै संघले स्थापना कालदेखि नै जिल्लाको ग्रामीण विकासमा काम गर्दै आएको छ।

स्वीस सरकारलगायत विभिन्न सहयोगी निकायको सहयोगमा नेपाल सरकारका विभिन्न तह, विशेषगरी स्थानीय तह र सरोकारवालासँगको समन्वय तथा सहकार्यमा संघले एकीकृत ग्रामीण विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

संघमा हाल ५०७ जना सदस्य आबद्ध छन्। तीमध्ये २२४ जना पुरुष र २८३ जना महिला रहेका छन्। कुल सदस्यमा ३१५ जना आजीवन र १९२ जना साधारण सदस्य छन्।

संघले संस्थागत विकासअन्तर्गत सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न ७६ जना टुकी सदस्यलाई तीन चरणमा दुईदिने नेतृत्व विकास तालिम प्रदान गरेको छ। त्यस्तै, नौवटै पालिकास्तरीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई स्थानीय तहको सात चरणीय योजना तर्जुमा र बजेट विनियोजन प्रक्रियामा भूमिका सम्बन्धी दुईदिने क्षमता विकास तालिम सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ।

ओसेलिप परियोजनामार्फत महिला तथा बालबालिका सशक्तीकरण

संघले फोरुट–नर्वे र सिविन नेपालसँगको साझेदारीमा महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान (ओसेलिप) परियोजना सञ्चालन गर्दै आएको छ।

आर्थिक वर्ष २०६५/६६ देखि दोलखाको उत्तरी क्षेत्रका कालिञ्चोक गाउँपालिकाका वडा नं. १ देखि ४ र विगु गाउँपालिकाका वडा नं. ४ देखि ८ सम्म परियोजना सञ्चालन हुँदै आएको छ। हालको परियोजना अवधि सन् २०२४ जनवरी १ देखि २०२८ डिसेम्बर ३१ सम्म रहेको छ।

परियोजनाले खाद्य सुरक्षा तथा जीविकोपार्जन, लैङ्गिक सशक्तीकरण र मानसिक स्वास्थ्य तथा परामर्शलाई मुख्य कार्यक्षेत्र बनाएको छ। पछाडि पारिएका समुदाय, विशेषगरी महिला तथा बालबालिकाको जीवनस्तर सुधार गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको छ।

परियोजनाअन्तर्गत विगु गाउँपालिका–४, लादुकमा बन्दाबालीमा एकीकृत शत्रुजीव व्यवस्थापनसम्बन्धी १८ हप्ते कृषक पाठशाला सञ्चालन गरिएको छ। विगु गाउँपालिका–८, खोपाचागुमा रोग तथा किरा पहिचान, व्यवस्थापन र उपचारसम्बन्धी बाली उपचार शिविर सञ्चालन गरी ३१ जना कृषकलाई सेवा प्रदान गरिएको छ।

त्यस्तै, कृषि बाली तथा पशुपन्छीमा रोगकिराका कारण हुने क्षति रोकथाम र नियन्त्रणका लागि आपत्कालीन उपचार सहयोग कार्यक्रम सञ्चालन गरी ११ जना कृषकलाई प्रत्यक्ष सेवा उपलब्ध गराइएको छ।

कृषिजन्य उत्पादनको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विगु गाउँपालिका–४, सिंगटीमा एकदिने कृषि प्रदर्शनी भेला आयोजना गरिएको थियो। कार्यक्रममा गाउँपालिका, दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखा, कृषि सहकारी तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो।

कालिञ्चोक गाउँपालिका–२, बाबरेमा छवटा नयाँ कृषक समूह गठन गरी २७ जना कृषकलाई प्लास्टिक टनेलमा बेमौसमी तरकारी उत्पादनसम्बन्धी तालिम प्रदान गरिएको थियो। कृषकलाई उन्नत बीउ, प्लास्टिक टनेल तथा आवश्यक प्राविधिक ज्ञान र सीपसमेत उपलब्ध गराइएको थियो।

परियोजना क्षेत्रमा गठन भएका ३० वटा कृषक समूहमा कृषि प्रविधि हस्तान्तरणसम्बन्धी बैठक सञ्चालन गरिएको थियो। ती बैठकमा कृषकहरूलाई खेतबारीमै पुगेर बालीमा देखिएका समस्या पहिचान गर्ने र घरेलु, स्थानीय तथा आधुनिक विधिबाट समाधान गर्ने उपायबारे जानकारी दिइएको थियो।

त्यसैगरी, पाँचवटा वडाका ११ कृषक समूहलाई कृषि सामग्री तथा उन्नत बीउ वितरण गरिएको थियो। कृषि औजार तथा यन्त्र सञ्चालन र बीउ रोप्ने विधिबारे प्रारम्भिक अनुशिक्षणसमेत प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।

विगु गाउँपालिका–६, आलम्पुमा केराउको बीउ र कालिञ्चोक गाउँपालिका–१ मा मार्फा रायोको बीउ उत्पादन गरिएको छ। धान दिवस, कोदो दिवस, माटो दिवस तथा महिला हिंसाविरुद्धको १६ दिने अभियानलगायतका कार्यक्रममार्फत समुदायमा सचेतना अभिवृद्धि गर्ने काम पनि गरिएको छ।

महिला समूह र लैङ्गिक सशक्तीकरणमा जोड

परियोजना क्षेत्रमा गठन भएका २३ वटा महिला समूहका पदाधिकारी तथा अगुवाहरूलाई समूह सञ्चालन, जिम्मेवारी निर्वाह र सदस्यसँगको व्यवहारसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ।

लैङ्गिक हिंसा रोकथामसम्बन्धी अभिमुखीकरण तालिममा २८ महिला र दुई पुरुष गरी ३० जनाको सहभागिता रहेको थियो। तालिममा लैङ्गिक भूमिका, धर्मसंस्कृति, परम्परा, पैतृक सम्पत्तिमा महिलाको पहुँच तथा महिला र पुरुषको समान सहभागितालगायतका विषयमा छलफल गरिएको थियो।

स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा गई नियमित गर्भ परीक्षण गराउने गर्भवती महिलाका लागि १ हजार ७२४ पटक पोषणसम्बन्धी सेवा तथा परामर्श प्रदान गरिएको थियो। गर्भावस्थामा स्वस्थ र पोषणयुक्त आहार, व्यवहार तथा पारिवारिक हेरचाहबारे जानकारी दिइएको संघले जनाएको छ।

त्यस्तै, गर्भवती, सुत्केरी तथा घाउचोटको उपचार गर्न नसकेका १३ जना महिलाले आपत्कालीन स्वास्थ्य उपचार सहयोग प्राप्त गरेका छन्।

माटो परीक्षण प्रयोगशालाबाट ३९५ नमुनाको परीक्षण

कृषि उत्पादन वृद्धि र माटोको उचित व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले संघ परिसरमा टुकी माटो परीक्षण प्रयोगशाला सञ्चालनमा रहेको छ।

माटो व्यवस्थापन निर्देशनालय हरिहर भवनको प्राविधिक सहयोग, तत्कालीन जिल्ला कृषि विकास कार्यालय दोलखा र जिल्ला विकास समितिको समन्वय तथा आर्थिक सहयोग एवं फोरुट–नर्वेको सहयोगमा प्रयोगशाला निर्माण गरिएको थियो। वि.सं. २०७१ साल असार १५ गते धान दिवसका अवसरमा तत्कालीन संविधानसभा सदस्य पशुपति चौलागाईंले प्रयोगशालाको औपचारिक उद्घाटन गर्नुभएको थियो।

प्रयोगशालाबाट माटोको पिएच अर्थात् अम्लीयपन तथा क्षारीयपन, प्राङ्गारिक पदार्थ, मुख्य खाद्यतत्त्व नाइट्रोजन, फस्फोरस, पोटासियम र माटोको बनोट परीक्षण हुँदै आएको छ।

दोलखासहित रामेछाप, ओखलढुंगा र सिन्धुपाल्चोकका कृषकलाई समेत सेवा दिँदै आएको प्रयोगशालाले आर्थिक वर्ष २०८३/८४ मा मात्रै ३९५ वटा माटोका नमुना परीक्षण गरेको छ। परीक्षण प्रतिवेदनका आधारमा कृषकलाई माटो व्यवस्थापनसम्बन्धी परामर्शसमेत प्रदान गरिएको छ।

माटोको अवस्था पहिचान गरी आवश्यकताअनुसार मलखादको प्रयोग गर्न कृषकलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रयोगशालाले नियमित सेवा प्रदान गर्दै आएको छ।

स्थानीय तह र सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता

सभामा भीमेश्वर नगरपालिका–६ का वडाध्यक्ष नवीन लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव रमेशकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि केशव काफ्ले, संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठ, पूर्वअध्यक्ष हर्कमान प्राखिन, सल्लाहकार दामोदर न्यौपाने, दोलखा उद्योग वाणिज्य संघका महासचिव रामकृष्ण श्रेष्ठ, आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की र संघका उपाध्यक्ष लालबहादुर घिसिङलगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले ग्रामीण विकास टुकी संघले दोलखाको कृषि, शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्नुभएको थियो। स्थानीय समुदायको सहभागिता र आवश्यकतामा आधारित कार्यक्रमले ग्रामीण क्षेत्रको जीवनस्तर सुधारमा सहयोग पुर्‍याएको उहाँहरूको भनाइ थियो।

सभामा संघको स्थापनादेखि हालसम्मको यात्रामा योगदान पुर्‍याउने टुकी सदस्य, स्थानीय तह, राजनीतिक दल, साझेदार संस्था, सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी, नागरिक समाज, किसान समूह र शुभचिन्तकप्रति आभार व्यक्त गरिएको थियो।

संघले आगामी दिनमा पनि स्थानीय तह, समुदाय र विभिन्न सरोकारवाला निकायसँगको समन्वय तथा सहकार्यलाई निरन्तरता दिँदै दोलखाको ग्रामीण विकास र समुदायको जीवनस्तर सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार