Nov 24 2026 | २०८३, मंसिर ८, गते

Nov 24 2026 | २०८३, मंसिर ८, गते

दोलखाका स्थानीयलाई हिम पर्वत हाइड्रोपावरको आईपीओ खुला

दोलखाका स्थानीयलाई हिम पर्वत हाइड्रोपावरको आईपीओ खुला

नेपाल सम्वत् ११४६, कौलागाः २, द्वितिया (११ कार्तिक २०८३, २८ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । हिम पर्वत हाइड्रोपावर लिमिटेडले दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले बुधबार, कात्तिक ११ गतेदेखि पहिलो चरणको सेयर निष्कासन सुरु गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चार लाख २२ हजार ५०० कित्ता सेयर छुट्याइएको छ।

बिगु र कालिञ्चोकका कुन वडाका बासिन्दाले भर्न पाउँछन्?

आयोजनाको अति प्रभावित क्षेत्रअन्तर्गत बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका–२, ३ र ४ का स्थायी बासिन्दालाई १० लाख १४ हजार कित्ता सेयर छुट्याइएको छ।

त्यसैगरी, यी वडाबाहेक बिगु र कालिञ्चोक गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाका लागि छ लाख ७६ हजार कित्ता सेयर छुट्याइएको कम्पनीले जनाएको छ।

विदेशमा रहेका नेपालीका लागि चार लाख २२ हजार ५०० कित्ता

वैदेशिक रोजगारीमा रहेका र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीका लागि चार करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको चार लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कहिलेसम्म र कहाँबाट दिने आवेदन?

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि मंसिर १० गतेसम्म थपिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा कात्तिक १६ गतेसम्म र पर्याप्त आवेदन नपरे कात्तिक २५ गतेसम्म आवेदन दिने समय तोकिएको छ। 

स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणालीबाट आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

दोलखाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई जलविद्युत् आयोजनाको सेयरमा सहभागी हुने अवसर प्रदान गर्ने उद्देश्यसहित खुलाइएको आईपीओमा आवेदन दिनुअघि आफ्नो वडा, स्थायी बसोबाससम्बन्धी योग्यता र आवेदनको समयसीमा यकिन गर्न कम्पनीले जारी गरेको आधिकारिक सूचना हेर्नु उपयुक्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार