Oct 18 2026 | २०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा सल्यानका किसान

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा सल्यानका किसान

नेपाल सम्वत् ११४६, कौलाथ्वः ६, षष्ठी (३१ असोज २०८३, १७ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । दसैँको रौनक बढ्दै जाँदा सल्यानका किसानलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो छ। वर्षाले बालीमा क्षति पुर्‍याउने जोखिम र जङ्गली जनावरको त्रासका कारण किसान दसैँको तयारीभन्दा धान काट्ने, झाँट्ने र थन्क्याउने काममा व्यस्त भएका छन्।

मौसम खुलेको मौका छोप्दै किसान परिवारका सदस्यसहित खेतबारीमा खटिएका छन्। कतिपयले धान काट्न र झाँट्न मेसिनको प्रयोग गरेका छन् भने धेरै खेत भएका किसानले मजदुर लगाएर बाली भित्र्याइरहेका छन्। पाकेको धान समयमै सुरक्षित गर्नुपर्ने भएकाले चाडपर्वको रमझमभन्दा खेतीपातीलाई प्राथमिकता दिनुपरेको किसान बताउँछन्।

त्रिवेणी गाउँपालिका–१ का किसान रुद्र बस्नेत आठ रोपनीभन्दा बढी खेतमा लगाएको धान भित्र्याउन परिवारसहित खटिनुभएको छ। खेतीपातीबाटै वर्षभरि परिवारको गुजारा चलाउनुपर्ने भएकाले पाकेको बाली समयमै भित्र्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।

“दसैँ त प्रत्येक वर्ष आउँछ, तर पाकेको बालीमा वर्षाले क्षति पुर्‍यायो भने परिवार पाल्नै गाह्रो हुन्छ। त्यसैले दसैँका कामकाजलाई थाती राखेर खेतमा पाकेको धान भित्र्याउन लागेका हौँ,” बस्नेतले भन्नुभयो।

छत्रेश्वरी गाउँपालिकाकी प्रमीला बुढाथोकी पनि दसैँको तयारी छाडेर धान भित्र्याउन व्यस्त हुनुहुन्छ। दसैँको टीकाअघि नै खेतको काम सक्ने योजना रहेको उहाँले बताउनुभयो। पाकेको धान समयमै भित्र्याउन सके वर्षाको चिन्ताबाट मुक्त हुनुका साथै हिउँदे बाली लगाउन पनि सहज हुने उहाँको भनाइ छ।

“पाकेको धानबाली समयमै भित्र्याउन पाए आनन्द हुन्छ। पानी परेर क्षति पुर्‍याउने हो कि भन्ने डर पनि हुँदैन। धान भित्र्याएपछि हिउँदे बाली लगाउन पनि सहज हुन्छ,” बुढाथोकीले भन्नुभयो।

शारदा नगरपालिका–९ का किसान हर्क बुढालाई दुई वर्षअघिको अनुभवले यस वर्ष धान भित्र्याउन थप हतार गराएको छ। दुई वर्षअघि दसैँ मनाएर बाली भित्र्याउने योजना बनाएका उहाँको खेतमा एक सातासम्म परेको वर्षाले पाकेको धान नष्ट गरेको थियो। त्यही अनुभवका कारण यस वर्ष चाडपर्वभन्दा बाली भित्र्याउन प्राथमिकता दिएको उहाँले बताउनुभयो।

“दसैँ आउँछ, जान्छ। हामी खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने मानिसका लागि काम ठूलो कुरा हो। घरमा जे छ, त्यसैमा सीमित रहेर पर्व मनाउनुपर्छ। पाकेको धान नष्ट भयो भने परिवार पाल्न समस्या हुन्छ,” बुढाले भन्नुभयो।

वर्षाको जोखिमसँगै जङ्गली जनावरबाट हुने क्षति पनि सल्यानका किसानका लागि अर्को चुनौती बनेको छ। कालीमाटी गाउँपालिका–१ का दुर्गा बस्नेतका अनुसार बँदेल, बाँदर, हरिण र दुम्सीले हरेक वर्ष खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेका छन्। पाकेको बाली समयमै नभित्र्याए जङ्गली जनावरले नोक्सान पुर्‍याउने डरले किसानलाई छिटोछिटो काम गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।

बाली नष्ट हुँदा परिवारको जीविकोपार्जनमा समस्या पर्ने र मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्था आउने भएकाले किसान पाकेको धान सुरक्षित रूपमा भित्र्याउन लागिपरेका छन्। वर्षभरि परिवारको खाद्यान्न जोहो गर्नुपर्ने किसानका लागि पाकेको बाली सुरक्षित गर्नु आर्थिक सुरक्षासँग पनि जोडिएको छ।

सल्यानका किसानका लागि दसैँ खुसी, उमङ्ग र उत्सवको पर्व भए पनि वर्षभरि खाने अन्न सुरक्षित गर्नु पहिलो प्राथमिकता बनेको छ। चाडपर्वको रमझममा रमाउनुअघि पाकेको धान भित्र्याउनुपर्ने बाध्यताले धेरै किसानको दसैँ खेतबारीमै बितिरहेको छ। उनीहरूका लागि यसबेला दसैँको खुसीसँगै वर्षभरि परिवारको पेट भर्ने अन्न सुरक्षित गर्ने चिन्ता पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार