Oct 18 2026 | २०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

गुठियारको असहयोगले दोलखाको ऐतिहासिक खड्ग जात्रा प्रभावित हुने आशंका

गुठियारको असहयोगले दोलखाको ऐतिहासिक खड्ग जात्रा प्रभावित हुने आशंका

नेपाल सम्वत् ११४६, कौलाथ्वः ६, षष्ठी (३० असोज २०८३, १६ अक्टोबार, २०२६) शुक्रबार, बाँपिझ्याला । प्राचिन शहर भीमेश्वर नगर दोलखाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको प्रसिद्ध खड्ग जात्रा यस वर्ष प्रभावित हुने सम्भावना बढेको छ। यस वर्ष जात्रा सञ्चालनको पालो परेको पिङ्गल टोलका गुठियारहरू सम्पर्कमा नआएपछि जात्रा सञ्चालनमा अन्योल सिर्जना भएको हो। जात्रा नरोकियोस् भन्दै स्थानीय गुठियारहरूले वडा कार्यालयमा लिखित निवेदन दिए पनि सुनुवाइ नभएको भन्दै पिङ्गलवासीले असन्तुष्टि व्यक्त गरेका छन्।

विजयादशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन दोलखा बजारमा परम्परागत रूपमा मनाइने खड्ग जात्रा यहाँको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्व हो। तर, यस वर्ष पालो परेको पिङ्गल टोलका मुख्य गुठियारहरू काठमाडौंमा बसोबास गर्ने र जात्रा सञ्चालनका लागि आउन नसक्ने बताएपछि समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ।

स्थानीय गुठियारहरूका अनुसार काठमाडौंमा रहेका पालोवाला गुठियारहरूसँग सम्पर्क गर्दा उनीहरूले जात्रा सञ्चालनप्रति चासो नदेखाएको प्रतिक्रिया दिएका छन्। यसले पुस्तौँदेखि चल्दै आएको सांस्कृतिक परम्परा निरन्तरतामै प्रश्न उठाएको स्थानीयको चिन्ता छ।

वडा कार्यालयमा निवेदन, समन्वय नभएको गुनासो
जात्रा सञ्चालनमा अवरोध आउन नदिन पिङ्गल टोलका स्थानीय गुठियारहरू बालकृष्ण श्रेष्ठ, भविन्द्रकुमार श्रेष्ठ, राकेश प्रधान, मनिल श्रेष्ठलगायतले भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्षलाई सम्बोधन गर्दै आवश्यक समन्वय र पहलका लागि लिखित निवेदन दिएका थिए।

निवेदनमा काठमाडौंमा रहेका पालोवाला गुठियारहरू रमेश प्रधान, सुरेश प्रधान, दिनेश प्रधान, राम श्रेष्ठ, राधेस श्रेष्ठ, गीता प्रधानलगायतको नाम र सम्पर्क नम्बर उल्लेख गर्दै वडा कार्यालयमार्फत आवश्यक पहल गरिदिन अनुरोध गरिएको थियो। तर, निवेदन दिएपछि पनि वडा कार्यालय तथा सम्बन्धित निकायबाट ठोस पहल नभएको भन्दै निवेदकहरूले गुनासो गरेका छन्।

स्थानीयवासीले ऐतिहासिक जात्राजस्तो महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको संरक्षण र निरन्तरताका लागि स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाले समयमै समन्वय गर्नुपर्ने माग गरेका छन्।

पिङ्गल टोलको सहभागिता नहुँदा जात्रा नै रोकिने जोखिम
परम्पराअनुसार दोलखा शहर भीमेश्वर नगरका विभिन्न गुठी, कुल तथा टोलबाट खड्गधारीहरू सहभागी भई नगर परिक्रमा गरेपछि खड्ग जात्रा सम्पन्न हुन्छ। यस क्रममा पिङ्गल टोलबाट हुने सहभागिता पनि महत्वपूर्ण मानिन्छ। उक्त टोलबाट खड्गधारी सहभागी हुन नसके जात्रा सञ्चालनमै अवरोध पुग्न सक्ने आशंका गरिएको छ।

पछिल्लो समय जात्रामा सहभागी हुने पुराना पुस्ताका व्यक्तिहरूको उमेर, अशक्तता तथा कतिपयको देश–विदेशमा बसोबासका कारण जनशक्ति अभावसमेत देखिन थालेको स्थानीय अगुवाहरू बताउँछन्। यस्तो अवस्थामा गुठियारहरूबीच समन्वयको अभाव देखिनु परम्परा संरक्षणका दृष्टिले चिन्ताजनक बनेको उनीहरूको भनाइ छ।

दोलखाको मौलिक संस्कृति र ऐतिहासिक पहिचानसँग जोडिएको खड्ग जात्रालाई निरन्तरता दिन सम्बन्धित गुठियार, वडा कार्यालय तथा अन्य सरोकारवाला निकायले तत्काल पहल गर्नुपर्ने माग उठेको छ। काठमाडौंमा रहेका गुठियारहरूसँग समन्वय गरी जात्रा सञ्चालनको सुनिश्चितता गर्न र स्थानीयले दिएको निवेदनमाथि आवश्यक सम्बोधन गर्न पिङ्गलवासीले आग्रह गरेका छन्।

ऐतिहासिक खड्ग जात्राको संरक्षण र निरन्तरताका लागि समयमै समन्वय हुन नसके पुस्तौँदेखि चल्दै आएको सांस्कृतिक परम्परा प्रभावित हुने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्।

khadga1.jpg

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार