Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

तलब वृद्धि माग्दै भीमेश्वर मन्दिरका कर्मचारी र टोहलबाको अल्टिमेटम

तलब वृद्धि माग्दै भीमेश्वर मन्दिरका कर्मचारी र टोहलबाको अल्टिमेटम

नेपाल सम्वत् ११४६, यंलागाः ११, नवमी (२१ असोज २०८३, ७ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल दोलखा भीमेश्वर मन्दिरको गुठी व्यवस्थापन समिति पछिल्लो समय विवाद र दबाबको चपेटामा परेको छ। गुठियारहरूले लामो समयदेखि अधिवेशन नगरी समिति एकलौटी ढंगले सञ्चालन गरिएको भन्दै तत्काल अधिवेशन गर्न माग गरिरहेका बेला मन्दिरका कर्मचारी तथा टोहलबाले तलब वृद्धि र सेवा–सुविधाको माग अघि सारेका छन्।

समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गुठियारहरूले अधिवेशनको माग गरेपछि भीमेश्वर नगरपालिका–२ को वडा कार्यालयले समेत तत्काल अधिवेशनको प्रक्रिया अघि बढाउन समितिलाई निर्देशन दिएको थियो। तर, वडा कार्यालयको निर्देशनसमेत कार्यान्वयन नभएको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढ्दै गएको छ।

लामो समयदेखि अधिवेशन हुन नसकेको विषयमा गुठी संस्थानले समेत व्यवस्थापन समितिलाई अधिवेशन गर्न दबाब दिइरहेको बताइएको छ। स्थानीय सरकार, गुठियार, स्थानीय बासिन्दा तथा सम्बन्धित निकायबाट निरन्तर दबाब बढ्दै गएपछि गुठी व्यवस्थापन समिति थप संकटमा परेको छ।

यसअघि पनि मन्दिर परिसरमा गमला, धूप, गेट, त्रिशूल, बहुमूल्य गरगहना तथा घेराबार निर्माणलगायतका विषयमा पटक–पटक विवाद उत्पन्न हुँदै आएका थिए। विभिन्न विषयमा स्थानीयस्तरमा विरोध तथा असन्तुष्टि व्यक्त हुँदै आए पनि समितिको कार्यशैलीमा अपेक्षित सुधार नभएको गुनासो स्थानीयको छ। यही असन्तुष्टिका बीच केही महिनाअघि व्यवस्थापन समितिका केही गुठियार सदस्यले समेत राजीनामा दिएका थिए।

यही अवस्थामा मन्दिरको आन्तरिक व्यवस्थापन तथा पूजाआजामा खटिएका चार जना टोहलबा र एक जना कर्मचारी गरी पाँच जनाले सामूहिक निवेदन दिँदै असोज मसान्तसम्मको अल्टिमेटम दिएका छन्। उनीहरूले आफूहरूको तलब वृद्धि तथा सेवा–सुविधा थप नगरिए असोज मसान्तपछि सामूहिक रूपमा काम छाड्ने अर्थात् राजीनामा दिने चेतावनी दिएका हुन्।

कर्मचारी तथा टोहलबाले राखेको मागका विषयमा गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठसँग सम्पर्क गर्दा समितिले मागलाई सकारात्मक रूपमा लिएको बताए।

श्रेष्ठले कर्मचारी तथा टोहलबाले राखेका माग जायज रहेको उल्लेख गर्दै उनीहरूको सेवा–सुविधाका विषयमा छिट्टै बैठक बसेर उचित निर्णय लिइने बताए।

यता, गुठीको अधिवेशन तत्काल गर्नुपर्ने माग र वडा कार्यालयको निर्देशन कार्यान्वयन नभएको विषयमा भने समितिले अहिलेसम्म ठोस निर्णय सार्वजनिक गरेको छैन।

असोज मसान्तको समयसीमा नजिकिँदै जाँदा कर्मचारी तथा टोहलबाको माग सम्बोधन नभए मन्दिरको दैनिक नित्यपूजा तथा आन्तरिक व्यवस्थापनमा समेत असर पर्न सक्ने देखिएको छ। स्थानीयले भने गुठी व्यवस्थापनमा देखिएका विवाद तत्काल समाधान गर्दै लामो समयदेखि हुन नसकेको अधिवेशन पारदर्शी ढंगबाट सम्पन्न गर्न माग गरेका छन्।

वर्षौंदेखि मन्दिरको व्यवस्थापन चुस्त बनाउन नसकेको आरोप खेपिरहेको गुठी व्यवस्थापन समितिका लागि कर्मचारी तथा टोहलबाको पछिल्लो चेतावनीले थप चुनौती सिर्जना गरेको छ। स्थानीयस्तरमा गुठीको एकलौटी कार्यशैली अन्त्य गरी नयाँ, पारदर्शी र सहभागितामूलक ढंगबाट व्यवस्थापन अघि बढाउनुपर्ने आवाजसमेत तीव्र बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार