Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

सिमिकोटमा ४८ वर्षयताकै ‘रेकर्ड ब्रेक’ वर्षा, पुरानो कीर्तिमान तोडियो

सिमिकोटमा ४८ वर्षयताकै ‘रेकर्ड ब्रेक’ वर्षा, पुरानो कीर्तिमान तोडियो

नेपाल सम्वत् ११४६, यंलाथ्वः १५, चतुर्दशी –१० असोज २०८३, २६ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमिकोटमा ४८ वर्षयताकै उच्च वर्षा भएको छ। पछिल्लो २४ घण्टामा परेको ११४.८ मिलिमिटर वर्षाले सिमिकोटको पुरानो उच्च वर्षाको रेकर्ड तोडिएको हो।

मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतकी प्रमुख डा. इन्दिरा कडेलका अनुसार २०८३ असोज ९ गते बिहान ८ः४५ बजेदेखि असोज १० गते बिहान ८ः४५ बजेसम्म सिमिकोटमा ११४.८ मिलिमिटर वर्षा मापन भएको हो।

कार्यालयको अभिलेखअनुसार सन् १९७८ जुन १ देखि २०२६ सेप्टेम्बर २६ सम्मको २४ घण्टे अवधिमा सिमिकोटमा मापन भएको यो सबैभन्दा धेरै वर्षा हो। यसअघि १९ अक्टोबर २०२१ मा २४ घण्टामा ११० मिलिमिटर वर्षा भएको थियो।

डा. कडेलले यसपटक सिमिकोटमा २४ घण्टाको वर्षाले यसअघिका सबै उच्च रेकर्ड तोडेको बताइन्।

समुद्री सतहबाट करिब २ हजार ९९३ मिटर उचाइमा रहेको सिमिकोटमा यसअघि पनि उल्लेख्य वर्षा हुने गरेको अभिलेख छ। सन् २०१५ जनवरी ३ मा ९८ मिलिमिटर, सन् २००० जुन ९ मा ९२.८ मिलिमिटर, जुन ८ मा ९०.४ मिलिमिटर र सन् २०१७ मे ३ मा ८४ मिलिमिटर वर्षा भएको थियो।

४८ वर्षको दीर्घकालीन अभिलेखअनुसार सिमिकोटमा १०० मिलिमिटरभन्दा बढी वर्षा दुई दिन, ७५ मिलिमिटरभन्दा बढी सात दिन र ५० मिलिमिटरभन्दा बढी वर्षा १३ दिन भएको छ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण पछिल्ला तीन दिनदेखि उच्च हिमाली क्षेत्रमा हिमपात तथा पहाडी र तराई क्षेत्रमा वर्षा भइरहेको छ। पछिल्लो भारी वर्षासँगै हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै विभिन्न स्थानमा जनजीवनसमेत प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार