Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन

नेपाल सम्वत् ११४६, यंलाथ्वः १२, द्वादशी (७ असोज २०८३, २३ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा नेपालमा प्राविधिक शिक्षाका अग्रणी व्यक्तित्व प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ। ८६ वर्षको उमेरमा बुधबार साँझ ६ः५० बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिएका छन्।

प्रा.डा. शर्मा नेपालको उच्च शिक्षा, विज्ञान तथा प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने शिक्षाविद्का रूपमा परिचित थिए। उनको नेतृत्वमा काठमाडौं विश्वविद्यालयको स्थापना भएको थियो। विश्वविद्यालयको प्रारम्भिक चरणदेखि नै शैक्षिक गुणस्तर, अनुसन्धान र प्राविधिक शिक्षाको विस्तारमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनी लगातार छ कार्यकालसम्म काठमाडौं विश्वविद्यालयको उपकुलपति बनेका थिए।

परिवारका अनुसार उनको पार्थिव शरीर बिहीबार श्रद्धाञ्जलीका लागि काठमाडौंको बालकुमारीस्थित काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (केयूएसओएम) मा राखिनेछ। त्यसपछि अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ।

बेलायतबाट रसायनशास्त्र विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का संस्थापक निर्देशकसमेत थिए। नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच विस्तार गर्ने अभियानमा उनले अग्रणी भूमिका खेलेका थिए। कर्णालीको जुम्ला, दोलखाको जिरी र धनकुटाजस्ता दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न उनले विशेष पहल गरेका थिए।

विद्यालय तहदेखि विश्वविद्यालय शिक्षासम्मको सुधार र विस्तारमा सक्रिय रहेका शर्माले बूढानीलकण्ठ विद्यालय को अध्यक्षका रूपमा समेत काम गरेका थिए। शिक्षा क्षेत्रका विभिन्न नीतिगत सुधार, संस्थागत विकास र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा उनको योगदान उल्लेखनीय मानिन्छ।

उनको निधनसँगै नेपालले एक दूरदर्शी शिक्षाविद्, प्राविधिक शिक्षाका अभियन्ता तथा उच्च शिक्षाको विकासमा समर्पित व्यक्तित्व गुमाएको शिक्षाक्षेत्रका जानकारहरूले बताएका छन्।

प्रा.डा. शर्माका परिवारमा चार छोरी रहेका छन्। उनकी श्रीमती तथा एक छोरीको यसअघि नै निधन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार