नेपाल सम्वत् ११४६, यंलाथ्वः १२, द्वादशी (७ असोज २०८३, २३ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । निजामती कर्मचारीको अनलाइन सरुवा प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै पहुँच र प्रभावका आधारमा आफूअनुकूल कार्यालयमा सरुवा गराउने पुरानो प्रवृत्तिमा कमी आएको छ। गत साउनदेखि पूर्ण रूपमा लागू गरिएको प्रणालीले कर्मचारी सरुवालाई प्रविधिमैत्री र व्यवस्थित बनाएको हो।
निश्चित अवधि पूरा भएपछि प्रणालीले नै कर्मचारीको सरुवा गर्ने तथा कर्मचारी र रिक्त कार्यालयको विवरण उपलब्ध गराउने भएकाले दबाब र प्रभावका आधारमा अवधि नपुग्दै सरुवा गर्ने अभ्यास बन्द भएको मन्त्रालयले जनाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव धोलकराज ढकालले अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै सरुवामा हुने दबाब र प्रभाव अन्त्य भएको बताउनुभयो।
मन्त्रालयका अनुसार हालसम्म अनलाइन प्रणालीमार्फत १ हजार ८२२ जना कर्मचारीको सरुवा भइसकेको छ। प्रणालीबाट साप्ताहिक रूपमा औसत १०३ जना कर्मचारीको सरुवा हुने गरेको छ। प्रणालीमा ७ हजार ५०६ जना कर्मचारी दर्ता भएका छन् भने १ हजार ८१९ वटा सरुवा पत्र तयार भइसकेका छन्। हालसम्म १ हजार ६८० कार्यालय सरुवा प्रणालीमा आबद्ध भएका छन्।
सहसचिव ढकालका अनुसार कर्मचारीले जान चाहेको कार्यालयमा दरबन्दी रिक्त भए प्रणालीले सोही कार्यालयमा सरुवा गर्छ। रिक्त नभए उपलब्ध अर्को विकल्पअनुसार सरुवा हुने व्यवस्था छ।
उहाँका अनुसार यसअघि दुर्गम जिल्लाका कार्यालयबाट सरुवा हुन कर्मचारीहरू काठमाडौं आएर महिनौँसम्म होटलमा बसेर शक्तिकेन्द्र धाउनुपर्ने अवस्था थियो। अनलाइन प्रणालीले त्यस्तो बाध्यताको अन्त्य गरेको उहाँको भनाइ छ।
गत जेठमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट इलाका प्रशासन कार्यालय पर्वतमा सरुवा हुनुभएका नायब सुब्बा डा. प्रकाश भट्टराईले पनि अनलाइन सरुवा प्रणालीले सुगम क्षेत्रमा कार्यरत कर्मचारीलाई दुर्गम तथा दुर्गममा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा गर्ने आधार तयार गरेको बताउनुभयो। उहाँले प्रणालीलाई थप पूर्वानुमानयोग्य र निरन्तर बनाउनुपर्नेमा जोड दिनुभयो।
अनलाइन सरुवा प्रणालीमा कर्मचारीको योग्यता, विशेष क्षमता, अनुभव र ज्येष्ठतालगायत विवरणका आधारमा प्राथमिकता निर्धारण गर्ने व्यवस्था गरिएको छ। प्रणालीमा आबद्ध कर्मचारीको डिजिटल प्रोफाइलसमेत तयार गरिएको मन्त्रालयले जनाएको छ।
कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत जोडिएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको छ।
सरुवासम्बन्धी पत्रसमेत प्रणालीबाटै स्वचालित रूपमा तयार हुने व्यवस्था मिलाइएको छ। अनलाइन सरुवा सफ्टवेयरलाई राष्ट्रिय किताबखानाको सफ्टवेयरसँग आबद्ध गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
सरकारले अघि सारेको शासकीय सुधारअन्तर्गतका एक सय कार्यसूचीमध्ये कर्मचारी सरुवा प्रणालीलाई प्रविधिमैत्री बनाउने विषय समेटिएपछि मन्त्रालयले अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा ल्याएको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij