Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

दोलखाबाट मुख्यमन्त्रीको सन्देश– अधुरा योजना पूरा गरौँ, विकासमा गुणस्तर कायम गरौँ

दोलखाबाट मुख्यमन्त्रीको सन्देश– अधुरा योजना पूरा गरौँ, विकासमा गुणस्तर कायम गरौँ

नेपाल सम्वत् ११४६, यंलाथ्वः ११, एकादशी (६ असोज २०८३, २२ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माणमा दोलखाका ९ वटै स्थानीय तहले आपसी सहयोग र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

मंगलबार दोलखामा आयोजित बागमती प्रदेश सरकार तथा जिल्लास्थित स्थानीय तहबाट आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित योजना तथा कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापामगरले एउटा स्थानीय तह विपद्मा पर्दा अर्को स्थानीय तहले त्यसलाई आफ्नै समस्या सम्झेर सहयोग गर्नुपर्ने बताए।

उनले बाढीबाट प्रभावित क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन प्रदेश सरकार आवश्यक सहयोग, समन्वय र सहकार्यका साथ अघि बढिरहेको जानकारी दिए। बाढी तथा अन्य प्राकृतिक विपद्का कारण क्षति भएका सडक, पुल, खानेपानी, विद्युत् तथा सार्वजनिक संरचनाको पुनर्निर्माण चुनौतीपूर्ण रहेको भन्दै उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

मुख्यमन्त्री थापामगरले विकास निर्माणका काममा देखिँदै आएको ढिलासुस्ती र कमजोर गुणस्तरप्रति समेत असन्तुष्टि जनाउँदै सम्बन्धित निकायलाई जवाफदेही बन्न निर्देशन दिए। वर्षैपिच्छे एउटै योजनामा बजेट विनियोजन गर्ने तर अपेक्षाअनुसार काम सम्पन्न नगर्ने प्रवृत्तिले राज्यको स्रोतको प्रभावकारी उपयोग हुन नसकेको उनको भनाइ थियो।

उनले विकास निर्माणका योजनामा गुणस्तर कायम गर्न निर्माण व्यवसायी, उपभोक्ता समिति, प्राविधिक तथा सम्बन्धित कार्यालय सबै जिम्मेवार बन्नुपर्ने बताए। एउटै योजनामा पटक–पटक बजेट खर्च हुने तर काम प्रभावकारी रूपमा सम्पन्न नहुने अवस्था स्वीकार्य नहुने उल्लेख गर्दै उनले गुणस्तरहीन काममा संलग्नलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिए।

जिल्लामा लामो समयदेखि अधुरा रहेका योजना तथा ठेक्कालाई तत्काल अघि बढाउने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री थापामगरले बताए। उनका अनुसार विकासका लागि बजेट विनियोजन मात्र पर्याप्त नभई समयमै काम सम्पन्न गरी त्यसको प्रत्यक्ष लाभ नागरिकसम्म पुर्‍याउनु आवश्यक छ।

अधुरा योजना पूरा गर्ने, ठेक्का प्रक्रियामा देखिएका समस्या समाधान गर्ने तथा निर्माण कार्यलाई गति दिने विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले बताए। विकास निर्माणका कामलाई कागजमा मात्र सीमित नराखी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, प्रतिनिधिसभा सदस्य जगदीश खरेल, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भरत केसी, प्रदेशसभा सदस्यहरू, दोलखाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत जिल्लास्थित विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकार तथा स्थानीय तहबाट सञ्चालन भएका योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा आगामी कार्यदिशाका विषयमा समीक्षा गरिएको थियो।

मुख्यमन्त्री थापामगरले विकास निर्माणका क्रममा देखिएका समस्या पहिचान गरी समयमै समाधान गर्न, सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी पूर्वाधार विकासका काम अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार