नेपाल सम्वत् ११४६, यंलाथ्वः ११, एकादशी (६ असोज २०८३, २२ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले सोमबार विभिन्न खेलमा मिश्रित प्रदर्शन गरेको छ। पदकको आशा गरिएका उसु र बक्सिङमा अपेक्षित सुरुवात हुन सकेन भने पुरुष कबड्डी र महिला भलिबल टोलीले पनि हार बेहोरेका छन्। सफ्ट टेनिसमा भने नेपालले एक खेल जितेको छ।
उसुमा महिला छाङक्वानतर्फ सुस्मिता तामाङ १३औँ स्थानमा रहिन्। आइची प्रिफेक्चुरल मार्सल आर्ट्स हलमा भएको फाइनलमा उनले ९.५८० अंक प्राप्त गरिन्। सात वर्षको उमेरमै पाँचौँ राष्ट्रिय खेलकुदमा रजत पदक जितेर चर्चामा आएकी सुस्मिताले आफूले सक्दो राम्रो प्रदर्शन गरे पनि पदकका लागि पर्याप्त अंक हासिल गर्न नसकेको बताइन्।
सन् २०१४ को एसियाडदेखि लगातार सहभागी हुँदै आएकी सुस्मिताले नेपाल र चीनलगायत शीर्ष टोलीबीच उसुमा ठूलो स्तर अन्तर रहेको बताइन्। प्रशिक्षणको स्तर, प्रतियोगितामा प्रयोग हुने म्याट र खेलाडीले पाउने सुविधामा समेत फरक रहेको उनको भनाइ थियो।
१६ खेलाडी सहभागी महिला छाङक्वानमा हङकङकी हुई यु लिडिया सामले ९.७१३ अंकसहित स्वर्ण जितिन्। मकाउकी चो मान साउले ९.७१० अंकसहित रजत तथा इन्डोनेसियाकी युगेनिया दिभा विडोडोले ९.७०६ अंकसहित कांस्य पदक जितिन्।
पुरुष ताइचिक्वानमा नेपालका हरिप्रसाद गोले ९.६३० अंकसहित १२औँ स्थानमा रहे। ताइचिक्वानको अर्को इभेन्टमा पनि गोले ९.५०६ अंकसहित १५औँ स्थानमा रहेका थिए। दुवै इभेन्टमा चीनका देवान लिउले स्वर्ण जिते।
महिला सान्डामा भने नेपालकी रिता ठाकुला क्वार्टरफाइनलबाट बाहिरिइन्। उनलाई तुर्कमेनिस्तानकी मर्यन जोराएभाले २–० ले पराजित गरिन्।
एसियाली खेलकुदमा नेपाललाई सात कांस्य पदक दिलाइसकेको बक्सिङमा पनि सोमबारको सुरुवात सुखद रहेन। पुरुष ७० केजी तौल समूहको प्रारम्भिक चरणमा नेपालका दानबहादुर दर्लामी इराकका अली कासिम हम्दान अल सारेसँग ५–० ले पराजित भए।
सन् २०१० को ग्वान्जाउ एसियाडमा दीपक महर्जनले कांस्य पदक जितेयता नेपालले बक्सिङमा एसियाड पदक जित्न सकेको छैन। यसपटक महर्जनकै प्रशिक्षकत्वमा नेपाली टोली सहभागी छ।
नेपालका लागि ५५ केजी तौल समूहका चन्द्रबहादुर थापामगर र महिला ५१ केजी तौल समूहकी रमिसा श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ।
पुरुष कबड्डीमा नेपालले थाइल्यान्डसँग ५९–४८ अंकले हार्दै प्रतियोगिताको सुरुवात गरेको छ। पहिलो हाफमा थाइल्यान्ड २८–२४ ले अगाडि थियो। दोस्रो हाफमा पनि थाइल्यान्डले आक्रामक खेल प्रदर्शन गर्दै ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र जोड्न सक्यो।
नेपालले अब समूह चरणमा पाकिस्तान र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
महिला भलिबलको क्लासिफिकेसन खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भयो। हङकङले पहिलो सेट २५–२०, दोस्रो २५–१९ र प्रतिस्पर्धात्मक तेस्रो सेट २८–२६ ले जित्यो।
नेपाल अब ११औँ स्थानका लागि खेल्नेछ। फिलिपिन्स र मंगोलियाबीचको खेलमा पराजित हुने टोलीसँग नेपालले ११औँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।
मिक्स डबल्समा नेपालले मिश्रित नतिजा निकालेको छ। समूह ‘एफ’ मा चाइनिज ताइपेईसँग ५–० ले पराजित भएको नेपालले दोस्रो खेलमा मंगोलियालाई ५–४ ले हरायो। तेस्रो खेलमा भने नेपाल इन्डोनेसियासँग ५–१ ले पराजित भयो।
नेपालका कमल भण्डारी र जर्जिया चौधरीले मिक्स डबल्समा प्रतिस्पर्धा गरेका थिए।
महिला टेबलटेनिस टिम इभेन्टमा नेपाल मकाउसँग ३–१ ले पराजित भयो। यद्यपि नौ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले आफ्नो खेलमा सानदार पुनरागमन गर्दै मकाउकी कुआन चिओकलाई ४–११, ३–११, ११–९, ११–७ र ११–९ ले पराजित गरिन्।
नेपालकी इभाना थापा र योङ्ग पौडेल भने आ–आफ्ना खेलमा पराजित भए। चौथो खेलमा नविता पनि झु यु लिङसँग पराजित भएपछि मकाउले समग्र खेल ३–१ ले आफ्नो पक्षमा पार्यो।
पुरुषतर्फ नेपाल बहराइनसँग ३–० ले पराजित भयो। यसअघि नेपाल चाइनिज ताइपेईसँग पनि ३–० ले पराजित भएको थियो।
पौडीमा पनि नेपाली खेलाडीले सोमबार अपेक्षित प्रदर्शन गर्न सकेनन्। महिला ५० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जन ३३.४० सेकेन्डसहित २७औँ स्थानमा रहिन्।
महिला २०० मिटर फ्रिस्टाइलमा डुवाना लामा २ मिनेट १५.४० सेकेन्डसहित १९औँ स्थानमा रहिन्। पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा योडेन श्रेष्ठ १ मिनेट ८.०१ सेकेन्डसहित ३०औँ स्थानमा रहे।
इर्भिन श्रेष्ठले ५० मिटर फ्रिस्टाइल २४.५६ सेकेन्डमा पूरा गर्दै ३८औँ तथा १०० मिटर फ्रिस्टाइल ५४.०३ सेकेन्डमा पूरा गर्दै ३६औँ स्थान हासिल गरे। पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपालका अभिव प्रधान ५२.७४ सेकेन्डसहित २८औँ स्थानमा रहे।
यसरी सोमबार नेपालको पदक यात्रा अपेक्षित रूपमा अघि बढ्न नसके पनि विभिन्न खेलका बाँकी स्पर्धाबाट नेपाली टोलीले प्रतिस्पर्धालाई निरन्तरता दिनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij