नेपाल सम्वत् ११४६, यंलाथ्वः १०, दशमी (५ असोज २०८३, २१ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज सोमबार पनि जारी रहने भएको छ। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङबाहेकका जिल्लामा वडा अधिवेशन सञ्चालन भइरहेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सप्तरी क्षेत्र नं. २ र ४, सिराहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ का साथै आइतबार सम्पन्न हुन नसकेका सम्पूर्ण वडामा आज अधिवेशन निरन्तर हुने भएको हो।
समितिका अनुसार शनिबार र आइतबार गरी ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ। ती वडामा वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधिसमेत निर्वाचित भएका छन्।
केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले १५औँ महाधिवेशनअन्तर्गत वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधिको निर्वाचन उत्साहपूर्ण रूपमा भइरहेको जानकारी दिएका छन्।
निर्वाचन कार्यक्रमअनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ क्षेत्र नं. ६ बाहेक र सुनसरीलगायत जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ।
त्यसैगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने हालसम्म वडा अधिवेशन सुरु भएको छैन। समितिले ती जिल्लाबाहेक तोकिएका स्थानमा बाँकी वडा अधिवेशनको प्रक्रिया अघि बढाउने जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनअन्तर्गत वडा तहबाट सुरु भएको निर्वाचन प्रक्रियापछि क्रमशः पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गरिनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij