नेपाल सम्वत् ११४६, यंलाथ्वः ८, अष्टमी (३ असोज २०८३, १९ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । काठमाडौं उपत्यकामा साझा यातायातले आफ्नो रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने भएको छ। संविधान दिवसको अवसर पारेर कम्पनीले शनिबारदेखि रात्रिकालीन सेवा विस्तार गर्दै ६ वटा रुटमा विद्युतीय बस सञ्चालन गर्न लागेको हो।
यस्ता छन् नयाँ र विस्तारित रुटहरू :
शनिबारदेखि नयाँ व्यवस्थाअनुसार निम्न रुटहरूमा विद्युतीय बसहरू सञ्चालन हुनेछन्
बुढानीलकण्ठ–गोदावरी : ६ वटा बस जगाती–रत्नपार्क–ठमेल : ६ वटा बस चक्रपथ परिक्रमा (दुवैतर्फ) : ८ वटा बस विमानस्थल–नागढुंगा : ४ वटा बस कीर्तिपुर–जमल : ४ वटा बस
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि सुरु भएको रात्रिकालीन सेवा यसअघि दुईवटा रुटमा सीमित थियो। अब उपत्यकाका विभिन्न क्षेत्र समेट्ने गरी थप रुटमा सेवा विस्तार गर्न लागिएको हो।
कम्पनीका अनुसार नयाँ व्यवस्थाअनुसार बुढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, चक्रपथ परिक्रमा दुवैतर्फ ८ वटा, विमानस्थल–नागढुंगा रुटमा ४ वटा तथा कीर्तिपुर–जमल रुटमा ४ वटा विद्युतीय बस सञ्चालन हुनेछन्।
यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट रुटमा ४ वटा र लगनखेल–बुढानीलकण्ठ रुटमा ३ वटा बसलाई पनि निरन्तरता दिइने साझा यातायातले जनाएको छ।
रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन्। यात्रुको चाप तथा आवश्यकताका आधारमा सेवा सञ्चालनको समय र बसको संख्या थपघट गर्न सकिने कम्पनीले जनाएको छ।
साझा यातायातले रात्रिकालीन सार्वजनिक यातायातको पहुँच विस्तारसँगै रातको समयमा यात्रा गर्ने सर्वसाधारण, विद्यार्थी, कर्मचारी तथा विभिन्न पेशामा संलग्न व्यक्तिलाई सहज हुने अपेक्षा गरेको छ।