कानुनी प्रविधि कम्पनी लेक्सईनटोश प्रालिले कानुन व्यवसायी तथा ल फर्मलाई लक्षित गर्दै एआईमा आधारित ‘प्राक्टिस म्यानेजमेन्ट प्लेटफर्म’ ‘मेरोकेस’ सार्वजनिक गरेको छ।
मेरोअड्डा डटकम सञ्चालन गर्दै आएको कम्पनीले नेपालको कानुनी अभ्यास र अदालतसम्बन्धी प्रक्रियालाई ध्यानमा राखेर मेरोकेस विकास गरिएको जनाएको छ। कम्पनीका अनुसार प्लेटफर्ममार्फत ग्राहक व्यवस्थापन, मुद्दाको अभिलेख, कानुनी अनुसन्धान, दस्तावेज भण्डारण, टोलीगत सहकार्य तथा पेसी व्यवस्थापन एउटै डिजिटल प्रणालीबाट गर्न सकिनेछ।
कम्पनीले मेरोकेसलाई नेपालकै पहिलो ‘इन्टरप्राइज–ग्रेड प्राक्टिस म्यानेजमेन्ट प्लेटफर्म’ भएको दाबी गरेको छ।
कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आलोक सुवेदीका अनुसार कानुन व्यवसायीले दैनिक रूपमा सामना गर्दै आएका कागजी फाइल व्यवस्थापन, पेसी सूची खोज्ने, ग्राहकको विवरण अद्यावधिक गर्ने तथा कानुनी नजिर पत्ता लगाउनेजस्ता समस्यालाई सहज बनाउने उद्देश्यले प्लेटफर्म निर्माण गरिएको हो।
उनका अनुसार विदेशी सफ्टवेयरलाई नेपालको कानुनी अभ्यासमा अनुकूलन गर्नुभन्दा नेपाली अदालत र कानुन व्यवसायीको आवश्यकता केन्द्रमा राखेर मेरोकेस विकास गरिएको हो।
मेरोकेसमा ग्राहकको प्रारम्भिक परामर्श, अनबोर्डिङ, सम्पर्क इतिहास तथा दस्तावेज व्यवस्थापनका लागि केन्द्रीकृत प्रणाली राखिएको कम्पनीले जनाएको छ। यसबाट सेवाग्राहीसँग सम्बन्धित विवरण सुरक्षित रूपमा भण्डारण गरी आवश्यक परेको समयमा सहजै प्राप्त गर्न सकिनेछ।
‘केस म्यानेजमेन्ट एन्ड लाइफसाइकल ट्र्याकिङ’ सुविधामार्फत मुद्दा दर्तादेखि फैसलासम्मका विभिन्न चरणको अनुगमन गर्न सकिने व्यवस्था गरिएको छ। मुद्दाका तथ्य, सुनुवाइ विवरण, पक्षहरूको जानकारी तथा अदालतका आदेशलाई छुट्टाछुट्टै केस प्रोफाइलमा राख्न सकिने कम्पनीको भनाइ छ।
ल फर्मका व्यवस्थापक तथा वरिष्ठ अधिवक्ताले टोलीका सदस्यलाई काम बाँडफाँड गर्न, आन्तरिक म्याद तथा माइलस्टोन निर्धारण गर्न र मुद्दाको प्रगति अनुगमन गर्न सक्नेछन्। प्रयोगकर्ताको भूमिकाअनुसार पहुँच नियन्त्रण तथा आन्तरिक नोट आदानप्रदानको सुविधासमेत प्लेटफर्ममा राखिएको छ।
कम्पनीका अनुसार मेरोकेसमा सुरक्षित क्लाउड दस्तावेज भण्डारण सुविधा उपलब्ध छ। यसमा फिरादपत्र, पुनरावेदन, सम्झौतापत्र, प्रमाण तथा अदालती सूचनालाई मुद्दाअनुसार वर्गीकरण गरी राख्न सकिनेछ।
प्लेटफर्मले नेपालभरका अदालतबाट जारी हुने पेसी सूची तथा अदालती प्रकाशनसमेत अनुगमन गर्ने कम्पनीले जनाएको छ। अदालतले नयाँ सुनुवाइको मिति वा पेसी सूची सार्वजनिक गरेपछि सम्बन्धित मुद्दाको विवरण स्वचालित रूपमा अद्यावधिक हुने र मिति डिजिटल क्यालेन्डरमा समावेश हुने कम्पनीको दाबी छ।
हदम्याद, बैठक तथा अन्य महत्त्वपूर्ण मितिका लागि प्रयोगकर्ताले छुट्टाछुट्टै अलर्टसमेत तय गर्न सक्नेछन्।
कम्पनीले मेरोकेसको कानुनी अनुसन्धान प्रणाली प्राथमिक कानुनी स्रोतमा आधारित रहेको जनाएको छ। यसमा नेपालको संविधान, संघीय ऐन, नियम, निर्देशिका, अदालतका फैसला तथा नेपाल कानून पत्रिकामा प्रकाशित सर्वोच्च अदालतका नजिरलगायतका कानुनी दस्तावेज समावेश गरिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार एआईले तयार गर्ने अनुसन्धान सारांश, फैसलाका आधार तथा कानुनी विश्लेषणलाई सम्बन्धित सरकारी राजपत्र वा अदालतको फैसलासँग जाँच गर्न मिल्ने गरी प्रस्तुत गरिनेछ। यसले एआईबाट गलत वा काल्पनिक कानुनी उद्धरण आउने जोखिम कम गर्ने कम्पनीको दाबी छ।
कानुनी अनुसन्धानका लागि प्लेटफर्ममा ‘आस्क मीरा एआई’ र म्यानुअल सर्च इन्जिनसमेत राखिएको छ। यी उपकरणमार्फत देवनागरी, रोमन नेपाली तथा अंग्रेजी भाषामा खोजी गर्न सकिने कम्पनीले जनाएको छ।
प्रयोगकर्ताले स्प्लिट–स्क्रिन सुविधामार्फत एकातर्फ कानुनी अनुसन्धान तथा नजिर हेर्दै अर्कोतर्फ निवेदन, सम्झौता वा कानुनी रायको मस्यौदा तयार गर्न सक्नेछन्।
लेक्सईनटोशको कानुनी टोलीले नयाँ कानुन, राजपत्र तथा सर्वोच्च अदालतका फैसला सार्वजनिक भएपछि प्रणालीमा अद्यावधिक गर्ने जनाएको छ।
कम्पनीका अनुसार मेरोकेस एकल रूपमा अभ्यास गर्ने कानुन व्यवसायीदेखि ठूला ल फर्म, कर्पोरेट कानुनी विभाग तथा विभिन्न कानुनी अभ्यासकर्तालाई लक्षित गरी विकास गरिएको हो।
प्लेटफर्मले प्रशासनिक काम तथा कानुनी अनुसन्धानमा लाग्ने समय घटाउन र ल फर्मभित्र कामको बाँडफाँडलाई व्यवस्थित बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ। वरिष्ठ अधिवक्ताले जुनियर एसोसिएटले तयार गरेको अनुसन्धानलाई स्रोतसहित जाँच गर्न सक्ने भएकाले बहस तथा कानुनी रणनीतिमा बढी ध्यान दिन सहयोग पुग्ने कम्पनीले जनाएको छ।
कम्पनीले प्रारम्भिक प्रयोगकर्तालाई लक्षित गर्दै छुटसहितको ‘अर्ली एडप्टर प्रोग्राम’ समेत ल्याएको छ। यसअन्तर्गत सुरुवाती ग्राहकले सहुलियतपूर्ण मूल्यमा सेवा लिनुका साथै आगामी दिनमा थपिने सुविधामा प्राथमिकता पाउने कम्पनीले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij