Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

आज विश्वकर्मा पूजा, औजारदेखि सवारीसाधनसम्म पूजा गरिँदै

आज विश्वकर्मा पूजा, औजारदेखि सवारीसाधनसम्म पूजा गरिँदै

नेपाल सम्वत् ११४६, यंलाथ्वः ६, षष्ठी (१ असोज २०८३, १७ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइँदैछ। आश्विन सङ्क्रान्तिका दिन हिन्दू धर्मावलम्बीले भगवान् विश्वकर्माको पूजा आराधना गर्दै सवारीसाधन, कलकारखाना तथा उद्योगमा प्रयोग हुने धातुजन्य उपकरण र औजारको पूजाआजा गर्ने परम्परा छ।

विशेषगरी कालिगड, मेकानिक तथा विभिन्न उद्योग–कलकारखानामा काम गर्ने श्रमिकहरूले फलाम तथा अन्य धातुबाट बनेका औजार, मेसिन र उपकरणको पूजा गरी विश्वकर्मा दिवस मनाउने गर्छन्। यस दिन सवारीसाधनको समेत विशेष रूपमा पूजा गर्ने चलन रहेको छ।

धार्मिक मान्यताअनुसार भगवान् विश्वकर्मालाई देवताका वास्तुकार तथा विभिन्न दिव्य निर्माणका सर्जकका रूपमा स्मरण गरिन्छ। विश्वकर्माको पूजा गरी औजार, धातुजन्य उपकरण तथा सवारीसाधनको सम्मान गर्दा कामका क्रममा चोटपटक तथा दुर्घटनाबाट जोगिन सकिने जनविश्वास छ।

विश्वकर्मा पूजासँग विभिन्न धार्मिक किंवदन्तीसमेत जोडिएका छन्। द्वापरयुगमा भगवान् कृष्णलाई विभिन्न राक्षसले दुःख दिएपछि कृष्णकै आग्रहमा विश्वकर्माले समुद्रको बीचमा द्वार निर्माण गरी संरक्षण गरेको धार्मिक विश्वास रहेको पाइन्छ। यही धार्मिक परम्परासँग जोडेर विश्वकर्मा पूजा गर्ने चलन विकास भएको किंवदन्तीमा उल्लेख छ।

विश्वकर्मा पूजाका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विशेष चहलपहल देखिन्छ। भद्रकाली, मैतीदेवी तथा ललितपुरको महालक्ष्मीलगायतका मन्दिर तथा शक्तिपीठमा सवारीसाधनको पूजाआजा गर्न भक्तजन तथा सवारीधनी पुग्ने गर्छन्।

यस दिन उद्योग, कारखाना, वर्कसप तथा निर्माणसम्बन्धी क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणलाई सफा गरी पूजा गर्ने तथा प्रसाद वितरण गर्ने प्रचलनसमेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार