Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

भोटेकोशी बाढीको वैज्ञानिक कारण खोज्दै ऊर्जा मन्त्रालय, विज्ञ समिति गठन गरिँदै

भोटेकोशी बाढीको वैज्ञानिक कारण खोज्दै ऊर्जा मन्त्रालय, विज्ञ समिति गठन गरिँदै

नेपाल सम्वत् ११४६, यंलाथ्वः २, द्वितिया (२८ भाद्र २०८३, १३ सेप्टेम्वर, २०२६) आईतबार बाँपिझ्याला । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको वास्तविक उत्पत्ति, कारण र त्यससँग जोडिएका हिमाली भू–जोखिमबारे वैज्ञानिक अध्ययन अघि बढाएको छ।

मन्त्रालयले बाढीलाई सामान्य बाढी वा अतिवृष्टिका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी तथा अन्य जोखिम एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्ने भएको हो।

ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार वैज्ञानिक अध्ययनका लागि सोमबार विज्ञसहितको उच्चस्तरीय समिति गठन गर्ने तयारी गरिएको छ। समितिले विपद्को सम्भावित उद्गमस्थलदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो तटीय क्षेत्रमा परेको प्रभावसम्मको घटनाक्रमलाई वैज्ञानिक आधारमा पुनर्निर्माण गर्नेछ।

जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनअनुसार अहिलेसम्म भोटेकोशी बाढीको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त वैज्ञानिक प्रमाणबाट प्रमाणीकरण हुन सकेको छैन।

त्यसैले जलवायु परिवर्तनलाई बाढीको कारणका रूपमा तत्काल निष्कर्ष निकाल्नुभन्दा पहिले घटनाको सम्पूर्ण वैज्ञानिक पुनर्निर्माण आवश्यक रहेको आयोगको निष्कर्ष छ।

मन्त्रालयका अनुसार अध्ययन मुख्यतः तीन चरणमा हुनेछ। पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ। यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्ध विश्लेषण गरिनेछ।

दोस्रो चरणमा बाढीका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ। त्यसपछि तेस्रो तथा महत्वपूर्ण चरणमा मानवजनित जलवायु परिवर्तनले यस्ता जोखिमको सम्भावना, तीव्रता वा पूर्वतयारी अवस्थामा कति प्रभाव पारेको थियो भन्ने विषयमा वैज्ञानिक मूल्याङ्कन गरिनेछ।

यसअघि सन् २०२४ सेप्टेम्बर २६ देखि २८ सम्म नेपालमा भएको अत्यधिक वर्षा, बाढी तथा पहिरोबारे वर्ल्ड वेदर एट्रिब्युसनको अध्ययनले मानवजनित जलवायु परिवर्तनसँग सम्बन्धित प्रभाव रहेको औंल्याएको थियो। तर रसुवा–भोटेकोशीको घटना फरक प्रकृतिको हुन सक्ने भएकाले त्यस घटनासँग प्रत्यक्ष तुलना गरेर पूर्वनिर्धारित निष्कर्ष निकाल्नुभन्दा उपलब्ध वैज्ञानिक प्रमाणका आधारमा अध्ययन गर्नुपर्ने मन्त्रालयको धारणा छ।

प्रस्तावित विज्ञ समितिमा हिमनदी तथा हिममण्डल विज्ञान, भूगर्भशास्त्र, भूरूपविज्ञान तथा पहिरो विज्ञान, जलविज्ञान तथा नदी जलयान्त्रिकी, मौसम तथा जलवायु विज्ञान, रिमोट सेन्सिङ, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञलाई सहभागी गराउने तयारी छ।

भोटेकोशी–ल्हेन्दे नदी प्रणाली सीमापार प्रकृतिको भएकाले चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक तथ्यांकलाई समेत अध्ययनमा समेट्ने तयारी गरिएको छ। आवश्यकताअनुसार वैज्ञानिक सहकार्य र तथ्यांक आदानप्रदानको संयन्त्र विकास गर्ने प्रस्ताव पनि गरिएको छ।

विज्ञ समितिले बाढीको सम्भावित उद्गमस्थलमा स्थलगत अध्ययनसमेत गर्नेछ। स्थल निरीक्षणका क्रममा विस्तृत तस्बिर तथा भिडियो अभिलेख तयार गर्नुका साथै आवश्यकताअनुसार ड्रोन र सेटलाइट प्रविधिको प्रयोग गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रस्तावित उच्चस्तरीय वैज्ञानिक समितिलाई अध्ययन पूरा गर्न दुई महिनाको समयसीमा दिने गरी कार्यादेश तयार गरिरहेको छ। अध्ययनबाट भोटेकोशी बाढीको वास्तविक उत्पत्ति, घटनाक्रम, भौतिक कारण तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे प्रमाणमा आधारित निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार