Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

तीज पर्व सुरु : आज चेलीबेटीले दर खाँदै

तीज पर्व सुरु : आज चेलीबेटीले दर खाँदै

नेपाल सम्वत् ११४६, यंलाथ्वः २, द्वितिया (२८ भाद्र २०८३, १३ सेप्टेम्वर, २०२६) आईतबार बाँपिझ्याला । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको व्रत तथा पूजा आराधनाका लागि आज देशभरका महिलाहरूले ‘दर’ खाने तयारी गरेका छन्। भाद्र शुक्ल द्वितीयाका दिन दर खाने परम्परासँगै चार दिनसम्म मनाइने तीज पर्व औपचारिक रूपमा सुरु भएको हो।

परम्पराअनुसार माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ। दरका रूपमा विशेषगरी दूधबाट बनेका पौष्टिक तथा आडिला परिकार खाने गरिन्छ। तीजको व्रतका दिन निराहार बस्नुपर्ने भएकाले शरीरलाई आवश्यक शक्ति प्रदान गर्न दर खाने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउनुहुन्छ।

पछिल्लो समय तीज पर्व नेपालमा मात्र सीमित नरही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रभावसँगै भारतलगायत अन्य स्थानमा समेत लोकप्रिय हुँदै गएको छ।

यद्यपि, पछिल्ला वर्षहरूमा तीजका नाममा महिनौँ अघिदेखि पार्टी तथा भोज आयोजना गर्ने, अत्यधिक तडकभडक गर्ने र महँगा गरगहनाको प्रदर्शन गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति समाजशास्त्री तथा धर्मशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। संस्कृतिविद्हरूले यस्ता गतिविधिले आर्थिक रूपमा कमजोर वर्गलाई मानसिक रूपमा प्रभावित पार्ने भएकाले पर्वको मौलिकता र सांस्कृतिक मर्यादा कायम राख्नुपर्नेमा जोड दिएका छन्।

परम्पराअनुसार आइतबार बेलुकी दर खाएपछि सुरु हुने तीज पर्व मंगलबार गणेश चौथी तथा ऋषि पञ्चमीको पूजा आराधना गरेसँगै समापन हुनेछ।

पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न निराहार व्रत बसेको दिनको स्मरणमा हरितालिका तीजको व्रत लिने परम्परा सुरु भएको विश्वास गरिन्छ।

तीजको अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका विभिन्न शिवालयहरूमा महिलाहरूको उल्लेख्य सहभागिता रहने गर्दछ। विवाहित महिलाले श्रीमान्को दीर्घायु तथा सुख–समृद्धिको कामना गर्दै र अविवाहित महिलाले योग्य वरको कामना गर्दै तीजको व्रत बस्ने धार्मिक परम्परा रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार