नेपाल सम्वत् ११४६, यंलाथ्वः १, प्रतिपदा (२७ भाद्र २०८३, १२ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । वरिष्ठ पत्रकार, लेखक तथा साहित्यकार युवराज गौतमको निधन भएको छ। लामो समयदेखि नेपाली पत्रकारिता, साहित्य तथा लेखन क्षेत्रमा सक्रिय गौतमको निधनले सञ्चार तथा साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
गौतमको निधनको खबरले पत्रकार, लेखक, साहित्यकार, शुभेच्छुक तथा उहाँसँग निकट रहेकाहरूलाई स्तब्ध बनाएको छ। नेपाली पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएका गौतम आफ्नो लेखन क्षमता, अध्ययनशीलता र ज्ञानका कारण सहकर्मी तथा नयाँ पुस्ताका पत्रकारमाझ प्रेरणाका स्रोतका रूपमा परिचित हुनुहुन्थ्यो।
गौतम पत्रकारितासँगै लेखन र साहित्यिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो। उहाँका लेख तथा विचारमा विषयवस्तुको गहिरो अध्ययन, तथ्यपरकता र प्रभावकारी प्रस्तुति पाइन्थ्यो। पत्रकारिता क्षेत्रमा प्रवेश गरेका नयाँ पुस्तालाई हौसला दिने, लेखनमा सुधारका लागि सुझाव दिने तथा पत्रकारिताका विविध पक्षबारे मार्गदर्शन गर्ने अग्रजका रूपमा समेत उहाँको योगदान स्मरणीय रहेको छ।
गौतमसँग लामो समयदेखि पारिवारिक तथा आत्मीय सम्बन्धमा रहेका पत्रकार उपेन्द्र प्रधानले उहाँको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ। प्रधानका अनुसार कलेज जीवनदेखि नै लेखक तथा साहित्यकारका रूपमा गौतमलाई चिनेका उहाँ पछि पत्रकारितामा प्रवेश गरेपछि अझ नजिकिनुभएको थियो।
पत्रकारिताको सुरुवाती दिनमा गौतमले आफूलाई निरन्तर हौसला दिने गरेको प्रधानले स्मरण गर्नुभएको छ। आफ्ना समाचार तथा लेखका बाइलाइन पढेर सुझाव दिने, लेखनलाई अझ प्रभावकारी बनाउन मार्गदर्शन गर्ने र पत्रकारितासम्बन्धी जिज्ञासामा सहजै जानकारी दिने उहाँको बानी रहेको प्रधानको भनाइ छ।
गौतमको ज्ञान र अध्ययनको दायरालाई स्मरण गर्दै प्रधानले उहाँलाई त्यतिबेलाको ‘इन्साइक्लोपेडिया’ जस्तै व्यक्तित्वका रूपमा सम्झनुभएको छ। कुनै शब्द, विषय वा विश्व घटनाबारे जिज्ञासा राख्दा तत्कालै जानकारी दिन सक्ने उहाँको क्षमता अद्भुत रहेको प्रधानले बताउनुभएको छ।
गौतमको नेतृत्वमा प्रकाशित हुने ‘सारथी’ साप्ताहिकमा प्रधानले करिब दुई वर्ष काम गर्ने अवसरसमेत पाउनुभएको थियो। सो क्रममा प्रधानले खोजी रिपोर्टिङसँगै ‘मेरो जीवनधारा’ नामक साप्ताहिक प्रोफाइल स्तम्भ सञ्चालन गर्नुभएको थियो। ७० वर्षभन्दा माथिका विभिन्न क्षेत्रका अग्रणी तथा पहिलो पुस्ताका व्यक्तित्वहरूको जीवन, संघर्ष र योगदान समेटिने उक्त स्तम्भको सम्पादन गौतमले गर्नुहुन्थ्यो।
गौतमको सम्पादन शैलीका कारण उक्त स्तम्भ पाठकमाझ लोकप्रिय बनेको प्रधानको स्मरण छ। उहाँले सामग्री सम्पादन गर्दा भाषिक शुद्धता मात्र नभई विषयवस्तुको गहिराइ, तथ्य र प्रस्तुतिको प्रभावकारितामा समेत विशेष ध्यान दिने गर्नुभएको थियो।
पछिल्लो समय व्यस्तताका कारण लामो समय भेट हुन नसके पनि गौतम बिरामी भएको खबर पाएपछि गत वर्ष प्रधान वीर अस्पताल पुग्नुभएको थियो। तर आफू अस्पताल पुग्दा गौतम सोही दिन डिस्चार्ज भएर घर फर्किसक्नुभएको रहेछ। त्यसपछि फोनमार्फत कुराकानी भएको प्रधानले स्मरण गर्नुभएको छ।
गौतमको निधन नेपाली पत्रकारिता तथा साहित्य क्षेत्रका लागि ठूलो क्षति भएको बताइएको छ। उहाँले पत्रकारिता र लेखन क्षेत्रमा पुर्याउनुभएको योगदान तथा नयाँ पुस्तालाई दिनुभएको प्रेरणा लामो समयसम्म स्मरणीय रहनेछ।
दिवंगत वरिष्ठ पत्रकार, लेखक तथा साहित्यकार युवराज गौतमप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै, शोकसन्तप्त परिवारजन, आफन्त, सहकर्मी तथा शुभेच्छुकमा हार्दिक समवेदना व्यक्त गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij