Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

दोलखा अस्पतालको प्रयोगशाला सेवा स्तरोन्नति, लायन्स क्लबले दियो CLIA Analyzer

दोलखा अस्पतालको प्रयोगशाला सेवा स्तरोन्नति, लायन्स क्लबले दियो CLIA Analyzer

नेपाल सम्वत् ११४६, गुंल्लागाः ५, पञ्चमी (१७ भाद्र २०८३, २ सेप्टेम्वर २०२६) बुधबार, बाँपिझ्याला । लायन्स क्लब अफ दोलखाले दोलखा अस्पताललाई अत्याधुनिक CLIA (Chemiluminescence Immunoassay) Analyzer मेसिन हस्तान्तरण गरेको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै जिल्लावासीलाई सहज, छिटो तथा विश्वसनीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यले उक्त उपकरण अस्पताललाई प्रदान गरिएको हो।

दोलखा अस्पताल परिसरमा आयोजित हस्तान्तरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने नगर उपप्रमुख कमला बस्नेत र वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

लायन्स क्लब अफ दोलखाका अध्यक्ष दिपेन्द्र शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्कृतिप्रेमी शान्तकृष्ण श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा लायन्स क्लब अफ दोलखाका पूर्वअध्यक्षहरू, पदाधिकारीहरू, दोलखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्याम श्रेष्ठ, स्वास्थ्यकर्मी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लायन्स क्लब अफ दोलखाले अस्पताललाई हस्तान्तरण गरेको CLIA Analyzer आधुनिक प्रयोगशाला उपकरणमध्ये एक मानिन्छ। यस उपकरणमार्फत थाइराइड, विभिन्न हर्मोन, भिटामिनको मात्रा, संक्रमणजन्य रोग तथा अन्य विशेष प्रकारका रक्त परीक्षणहरू उच्च शुद्धता र विश्वसनीयताका साथ गर्न सकिने अस्पतालले जनाएको छ।

हालसम्म यस्ता परीक्षणहरूका लागि दोलखाका बिरामीहरू काठमाडौं वा अन्य ठूला शहरका अस्पताल तथा प्रयोगशालामा पुग्न बाध्य थिए। परीक्षणका लागि समय, खर्च र झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्दै अब जिल्लामै आधुनिक प्रयोगशाला सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। यसबाट बिरामीले छिटो परीक्षण रिपोर्ट प्राप्त गर्ने, समयमै उपचार सुरु गर्न सक्ने तथा आर्थिक भारसमेत कम हुने विश्वास गरिएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नगर प्रमुख ईश्वरनारायण मानन्धरले स्वास्थ्य क्षेत्रमा निजी तथा सामाजिक संस्थाहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले लायन्स क्लब अफ दोलखाले अस्पताललाई प्रदान गरेको उपकरणले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी वडा अध्यक्ष स्टालिन श्रेष्ठ, अस्पतालका चिकित्सक डा. अञ्जना र डा. विराटले पनि मन्तव्य व्यक्त गर्दै आधुनिक उपकरणको आगमनले अस्पतालको प्रयोगशाला सेवामा गुणात्मक सुधार आउने बताएका थिए। उनीहरूले उपकरण सञ्चालनपछि बिरामीले जिल्लाबाहिर धाउनुपर्ने बाध्यता कम हुने उल्लेख गरे।

लायन्स क्लब अफ दोलखाका प्रतिनिधिहरूले सामाजिक सेवाप्रति क्लबको प्रतिबद्धतालाई निरन्तरता दिँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गरिएको बताए। उनीहरूले आधुनिक स्वास्थ्य सेवा विस्तारमा सामुदायिक संस्थाहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

दोलखा अस्पतालका प्रमुख तथा स्वास्थ्यकर्मीहरूले उपकरण हस्तान्तरणप्रति धन्यवाद ज्ञापन गर्दै यसले अस्पतालको प्रयोगशाला सेवाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। अस्पतालले उपकरण सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीसमेत अघि बढाइसकेको जनाएको छ।

भीमेश्वर नगरपालिकाले पनि स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा सहयोग पुर्‍याएको भन्दै लायन्स क्लब अफ दोलखाको पहलको प्रशंसा गरेको छ।

स्वास्थ्य क्षेत्रमा अत्याधुनिक उपकरण भित्रिएसँगै दोलखा अस्पतालले अब थप प्रभावकारी, विश्वसनीय र आधुनिक सेवा प्रदान गर्न सक्ने विश्वास गरिएको छ। स्थानीय नागरिकले पनि जिल्लामै विशेष प्रकारका परीक्षण सेवा उपलब्ध हुने भएपछि खुसी व्यक्त गरेका छन्।

लायन्स क्लब अफ दोलखाले यसअघि पनि स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। CLIA Analyzer हस्तान्तरणलाई जिल्लाको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि तथा सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार