Aug 25 2026 | २०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

नेकपाले मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न ह्विप जारी

नेकपाले मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न ह्विप जारी

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १२, द्वादसी (८ भाद्र २०८३, २४ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशले मुख्यमन्त्री किरण थापा मगरले मागेको विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ।

सोमबार दिउँसो १ बजे बस्ने बागमती प्रदेश सभाको बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिने तयारी गरेका छन्। त्यसअघि नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले दलका प्रदेश सभा सदस्यलाई बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

प्रमुख सचेतक ढकालद्वारा जारी पत्रमा प्रदेश सभाको १८औँ बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न दलका नेताको निर्देशनसहित ह्विप जारी गरिएको उल्लेख छ। पत्रमा दलका नेता शालिकराम जम्कट्टेलले समेत विश्वासको मतको पक्षमा मतदान गर्न अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको जनाइएको छ।

नेकपा, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा एमालेका थापा मगरले भदौ ३ गते बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। त्यसपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका थिए।

नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापा मगरले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

बागमती प्रदेश सभामा नेकपाका २६ जना प्रदेश सभा सदस्य रहेका छन्। नेकपाले विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेसँगै मुख्यमन्त्री थापा मगरलाई विश्वासको मत जुटाउने प्रक्रियामा थप सहजता हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार