Aug 25 2026 | २०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

बाबरेमा लैंगिक हिंसा रोकथाम र मानसिक स्वास्थ्यबारे अभिमुखीकरण

बाबरेमा लैंगिक हिंसा रोकथाम र मानसिक स्वास्थ्यबारे अभिमुखीकरण

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ११ एकादशी (७ भाद्र २०८३, २३ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । कालिञ्चोक गाउँपालिका–२, बाबरेस्थित दारेपा महिला स्वास्थ्य समूहमा लैंगिक हिंसा रोकथाम तथा मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

ओसेलिप परियोजनाको आयोजनामा भएको कार्यक्रममा समुदायस्तरमा लैंगिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्नुका साथै मानसिक स्वास्थ्यसम्बन्धी आधारभूत अवधारणा स्पष्ट पार्ने विषयमा सहजीकरण गरिएको थियो। दारेपा महिला स्वास्थ्य समूहकी अध्यक्ष ढिकी थामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३२ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये २४ जना महिला र ८ जना पुरुष थिए।

अभिमुखीकरणका क्रममा लिंग र लैंगिकताबीचको भिन्नता, लैंगिक हिंसाका विभिन्न स्वरूप, हिंसाबाट उत्पन्न हुने मानसिक आघात तथा त्यसका असर लगायतका विषयमा जानकारी दिइएको थियो। साथै हिंसा प्रभावित व्यक्तिमा देखिन सक्ने मानसिक तथा व्यवहारिक लक्षण पहिचान गर्ने र अवस्थाअनुसार आवश्यक सहयोग तथा व्यवस्थापनका उपायबारे पनि छलफल गरिएको थियो।

कार्यक्रममा लैंगिक हिंसालाई व्यक्तिगत समस्या मात्र नभई समुदायको साझा सरोकारका रूपमा बुझ्नुपर्नेमा जोड दिइएको थियो। हिंसामा परेका व्यक्तिलाई समयमै पहिचान गरी आवश्यक परामर्श, सहयोग र सेवासँग जोड्न सके मानसिक तथा सामाजिक असर न्यूनीकरण गर्न सकिने विषयमा सहभागीलाई जानकारी गराइएको थियो।

कार्यक्रमको समापन गर्दै दारेपा महिला स्वास्थ्य समूहकी अध्यक्ष ढिकी थामीले समुदायस्तरमै हिंसा पीडितको पहिचान गरी आवश्यक सहयोग र परामर्श प्रदान गर्न यस्ता अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले लैंगिक हिंसा न्यूनीकरणका लागि परिवार, समुदाय र सम्बन्धित निकायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार