Aug 25 2026 | २०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

काँकरभिट्टा नाकाबाट एक वर्षमै २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात

काँकरभिट्टा नाकाबाट एक वर्षमै २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ११ एकादशी (७ भाद्र २०८३, २३ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढी मूल्यका कृषिजन्य वस्तु नेपाल भित्रिएका छन्। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाख बराबरका कृषिउपज आयात भएका हुन्।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आयातित कृषिजन्य वस्तुमध्ये खाद्यान्न र दलहनको हिस्सा सबैभन्दा ठूलो रहेको छ। भारतबाट मात्रै रु २४ करोड २३ लाख १३ हजार बराबरको चामल तथा रु १८ करोड ८३ लाखको कोदो आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजार बराबरको एक हजार ९९६ मेट्रिक टन चना नेपाल भित्रिएको छ। अष्ट्रेलियाबाट मात्रै रु १० करोड ८८ लाख ५४ हजार बराबरको ७९६ मेट्रिक टन मासको दाल आयात भएको कार्यालयले जनाएको छ।

ताजा तरकारीतर्फ भारतबाट गोलभेडा, काँक्रा, भेडे खुर्सानी र फर्सी उल्लेख्य मात्रामा आयात भएको छ। एक वर्षमा रु १४ करोड ३९ लाख ६६ हजार बराबरको गोलभेडा, रु सात करोड ९० लाख ६४ हजारको काँक्रा तथा रु तीन करोड २४ लाख ३५ हजार बराबरको खुर्सानी आयात भएको तथ्याङ्क छ।

फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा तथा नासपाती मुख्य रूपमा नेपाल भित्रिएका छन्। भारत र चीनबाट रु २९ करोड ५९ लाख ७२ हजार बराबरको स्याउ आयात भएको छ भने भारतबाट मात्रै रु १४ करोड २४ लाख ८१ हजार बराबरको तरबुजा भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ।

काँकरभिट्टा नाका पूर्वी नेपालको महत्वपूर्ण व्यापारिक प्रवेशद्वार भएकाले कृषिजन्य वस्तुको आयातमा समेत यसको ठूलो भूमिका रहँदै आएको छ। पछिल्लो तथ्याङ्कले नेपालमा खाद्यान्न, दलहन, तरकारी तथा फलफूलको माग पूर्ति गर्न ठूलो परिमाणमा विदेशी कृषिउपजमा निर्भरता रहेको देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार