नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ६ षष्ठी (२ भाद्र २०८३, १८ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई संविधानको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति नदिन चेतावनी दिएका छन्।
मंगलबार नेकपा बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। देउवाले आइतबार कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको भेलाको समापन गर्दै आफू हिन्दु भएको अभिव्यक्ति दिएका थिए। उक्त भेलाबाट संविधानको मर्मविपरीत हिन्दु धर्मको पक्षपोषण हुने गरी निर्णयसमेत गरिएको थियो।
प्रचण्डले देउवाको अभिव्यक्ति र कांग्रेस इतर समूहको पाँचबुँदे निर्णयतर्फ संकेत गर्दै संविधानविरोधी गतिविधि तथा अभिव्यक्ति नदिन सचेत गराएको पार्टी नेता हिमाल शर्माले जानकारी दिए।
बैठकमा प्रचण्डले भनेको उद्धृत गर्दै शर्माले भने, ‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैँ सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आफैँले बनाएको संविधानविपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला।’
प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संविधान, लोकतन्त्र र विद्यमान व्यवस्थाविपरीत अघि बढिरहेको आरोप लगाउँदै कार्यकर्तालाई सडक आन्दोलनका लागि तयार रहन आह्वान गरेका छन्।
उनले वर्तमान सरकार गठन भएपछि बेथिति र भ्रष्टाचार बढेको तथा सञ्चारमाध्यममाथि प्रहार गर्दै आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए।
‘रास्वपाको सरकार बनेपछि बेथिति धेरै बढे, हामीले आवश्यकताभन्दा बढी प्रिभिलेज दियौँ। भ्रष्टाचार बढ्दै गयो, मिडियाको मुख थुन्ने काम भयो,’ प्रचण्डले भने।
उनले यस्ता गतिविधिविरुद्ध अब सशक्त रूपमा बोल्नुपर्ने भन्दै गणतन्त्रमाथि नै खतरा उत्पन्न हुन सक्ने चेतावनी दिए। साथै नेकपाले छिट्टै आन्दोलनको अपिल गर्ने र त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
‘यसका विरुद्ध अब बोल्नुपर्छ, नत्र गणतन्त्रमाथि नै प्रहार हुन सक्छ। हामी छिट्टै आन्दोलनको अपिल गर्छौँ, यसमा सबैको सहयोग चाहिन्छ। तपाईंहरू सबै तयारी अवस्थामा बस्नुहोस्,’ उनले भने।
नेकपा र नेकपा एमालेबीच भएको तीनबुँदे सहमतिले वामपन्थी शक्तिबीच सहकार्यको ढोका खोले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रवृत्तिमा परिवर्तन नआएसम्म तत्काल पार्टी एकता सम्भव नरहेको प्रचण्डले स्पष्ट पारे।
उनले एमालेसँगको सहमति कार्यान्वयन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए।
‘एमालेसँग भएको तीनबुँदे सहमतिले सहकार्यको ढोका खुलेको छ। तर, उहाँ (ओली) को प्रवृत्ति नहटेसम्म एकता हुँदैन। हामी दीर्घकालीन रूपमा एकता गर्ने पक्षमै छौँ। कसैलाई मन परे पनि नपरे पनि अहिलेलाई सहमति कार्यान्वयन गरेर जानुको विकल्प छैन,’ प्रचण्डले भने।
बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले मुलुक गम्भीर मोडमा पुगेको भन्दै लोकतान्त्रिक–गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए।
उनले एमालेसँग भएको तीनबुँदे सहमतिकै आधारमा तत्काल पार्टी एकता भइहाल्छ भन्ने भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे।
त्यस्तै, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेसहितको बृहत् वामपन्थी एकताका लागि नेकपाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले वामपन्थी शक्तिहरूबीच सहकार्य, एकता र ध्रुवीकरणका लागि सकारात्मक वातावरण निर्माण गर्न सबै पक्षलाई आग्रह गरे।
बैठकमा नेकपा बागमती प्रदेश संयोजक सरलसहयात्री पौडेलले पार्टी संगठनको वस्तुगत अवस्थाबारे रिपोर्टिङ गरेका थिए।
विभिन्न वामपन्थी घटकबीचको एकतापछि पार्टी संगठन भद्दा र भद्रगोल देखिएको उल्लेख गर्दै उनले आगामी अधिवेशनमार्फत सानो, व्यवस्थित र चुस्त संगठन निर्माण गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij