नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ६ षष्ठी (२ भाद्र २०८३, १८ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मङ्गलबार बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
बैठकको कार्यसूचीअनुसार परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कृषि, वन तथा पर्यावरणमन्त्रीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनेछन्।
यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) प्रतिनिधिसभामा पेस गर्ने कार्यक्रम रहेको छ।
बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
कानुनमन्त्री गौतमले नै ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पनि बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधिसभाको बैठकसँगै आज विभिन्न पाँच वटा संसदीय समितिको बैठकसमेत बस्दैछ। प्राप्त विवरणअनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ।
समितिका बैठकमा सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने जनाइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij