Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

अविरल वर्षाले देशभर सडक यातायात प्रभावित

अविरल वर्षाले देशभर सडक यातायात प्रभावित

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ४ चौथी (३१ साउन, २०८३, १६ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडकखण्डमा पहिरो, बाढी तथा सडक भासिने समस्या देखिएपछि यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकमा यातायात अवरुद्ध भएको हो।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुनेछ। त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित लिपिङमा सडक भासिँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलानजिक पहिरो खस्दा जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

यसैगरी सङ्खुवासभाको भोटखोला–३ सिरेक डाँडामा सडक भासिँदा खाँदबारी–किमाथाङ्का सडकखण्ड, लमजुङको मस्र्याङ्दी–४ रामबजारमा पहिरो खस्दा बेँसीसहर–मनाङ सडक तथा मुस्ताङको थासाङ–४ कैकुखोलामा पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

रोल्पाको सुनिलस्मृति–४ कागडाँडामा पहिरो खस्दा भालुवाङ–लिवाङ सडक र चितवनको इच्छाकामना–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

निरन्तर वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने र सडक भासिने क्रम जारी रहेकाले प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार