Aug 12 2026 | २०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इ–स्पोर्टस् ग्रान्ड फिनालेमा, समूह ‘बी’बाट चौथो

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इ–स्पोर्टस् ग्रान्ड फिनालेमा, समूह ‘बी’बाट चौथो

नेपाल सम्वत् ११४६, दिल्लागाः १२ द्वादसी (२५ साउन, २०८३, १० अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला ।  नेपालको होरा इ–स्पोर्टस् पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनालेमा सोझै प्रवेश गरेको छ। समूह ‘बी’को प्रतिस्पर्धामा ९८ अंक जोड्दै चौथो स्थानमा रहेपछि होराले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

समूह ‘बी’का १६ टोलीमध्ये शीर्ष पाँचमा पर्न सफल हुँदै होरा सिधै ग्रान्ड फिनालेमा पुगेको हो। होराले एक चिकेन डिनरसहित ९८ अंक जोडेको थियो। यसमा ३७ प्लेसमेन्ट प्वाइन्ट र ६१ किल समावेश छन्।

समूह ‘बी’बाट भाइटालिटी सर्वाधिक १४८ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ। होरासँगै आइडिए, एसटुजी र गडलाइकले पनि ग्रान्ड फिनालेमा स्थान बनाएका छन्।

पेरिसमा आइतबार सम्पन्न खेलमा होराले दोस्रो दिनका ६ खेलबाट ३९ अंक जोडेको थियो। पहिलो दिन ५९ अंकसहित तेस्रो स्थानमा रहेको होरा दोस्रो दिनको अन्तिम खेलअघि शीर्ष पाँचमै थियो। अन्तिम खेलमा केही अंक गुमाउँदै छैटौँ स्थानमा झरे पनि समग्रमा चौथो स्थान कायम राख्दै फाइनलमा पुग्न सफल भयो।

होराले प्रतियोगिताको सुरुवाती चरणमै प्रभावशाली प्रदर्शन गरेको थियो। दोस्रो खेलमा चिकेन डिनर जितेको होराले त्यसपछि पनि लगातार अंक जोड्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको थियो।

यसैगरी, समूह ‘ए’बाट फोर थ्राइभ, भारतको ओरानगुटान, मंगोलियाको अउरोरा, भियतनाम र सिंगापुरको संयुक्त टोली फ्ल्यास तथा मिडल इस्टको निग्मा ग्यालेक्सी शीर्ष पाँचमा रहँदै ग्रान्ड फिनालेमा पुगेका छन्।

दुवै समूहबाट शीर्ष पाँच टोली सिधै ग्रान्ड फिनालेमा पुग्दा छैटौँदेखि १३औँ स्थानसम्मका टोलीले सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन्। दुवै समूहबाट समान आठ टोली गरी १६ टोलीले सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार