नेपाल सम्वत् ११४६, दिल्लागाः १० दशमी (२३ साउन, २०८३, ८ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । २०औँ एसियाली खेलकुदको तयारीस्वरूप नेपाली बक्सिङ टोलीले भारतको आसामस्थित गुवाहटीमा ४० दिने प्रशिक्षण गर्ने भएको छ। सात खेलाडीसहित नौ सदस्यीय नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछ।
जापानको आइची/नागोयामा आगामी असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा नेपालबाट चार पुरुष र तीन महिला मुक्केवाजले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोकामगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपाल सहभागी हुनेछन्।
त्यस्तै, महिलातर्फ ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
नेपाल बक्सिङ महासङ्घका सचिव पुष्करराज पन्तका अनुसार खेलाडीहरूले भारतको स्पोर्ट्स अथोरिटी अफ इन्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिन तयारी प्रशिक्षण लिनेछन्। प्रशिक्षणपछि टोली भारतबाटै जापान प्रस्थान गर्नेछ।
टोलीमा रहेका रविन नेपालबाहेक सबै खेलाडीको यो पहिलो एसियाली खेलकुद सहभागिता हो। रविनले यसअघि १९औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिसकेका छन्। यस्तै, चन्द्रबहादुर थापा सन् २०२५ मा दुबईमा भएको आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्य पदक जितेका खेलाडी हुन्। उनको उक्त पदक नेपाली बक्सिङको इतिहासमा विश्व च्याम्पियनसिपतर्फ हालसम्मकै ठूलो उपलब्धि हो।
टोलीको प्रशिक्षकमा राज श्रेष्ठ र दीपक महर्जन छन् भने व्यवस्थापकमा नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारी रहेका छन्। भण्डारी केही समयपछि टोलीसँग भारत जानेछन्।
एसियाली खेलकुदमा नेपाली बक्सिङले हालसम्म तीन फरक संस्करणमा ६ कास्य पदक जितेको छ। नेपालले पहिलोपटक सन् १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको १०औँ एसियाली खेलकुदमा बक्सिङमार्फत पदक जितेको थियो। त्यसबेला दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले कास्य पदक जितेका थिए।
त्यसपछि सन् १९९० मा चीनको बेइजिङमा भएको ११औँ एसियाडमा चित्रबहादुर गुरुङले कास्य जितेका थिए। सन् २०१० मा चीनकै ग्वाङझावमा भएको १६औँ एसियाली खेलकुदमा हालका प्रशिक्षकमध्येका दीपक महर्जनले नेपाललाई कास्य पदक दिलाएका थिए।
तर दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाली खेलकुददेखि नेपाली बक्सिङ पदकविहीन छ। यसपटक लामो तयारीसहित मैदानमा उत्रिन लागेको नेपाली टोलीले पदकको खडेरी तोड्ने लक्ष्य राखेको छ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले आज आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij