नेपाल सम्वत् ११४६, दिल्लागाः १२ द्वादसी (२५ साउन, २०८३, १० अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै संस्थापन इतर पक्ष सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ। आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा प्रदान गरिसकेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले रिट दायर गर्न लागेको हो।
पुनरवलोकनको अनुमति प्राप्त भइसकेको अवस्थामा विवादित विषयलाई प्रभावित पार्ने गरी महाधिवेशनका प्रक्रिया अघि बढाउन नहुने जिकिरसहित तत्काल महाधिवेशन रोक्न अन्तरिम आदेश माग गर्ने तयारी भइरहेको देउवा निकट एक कानुन व्यवसायीले बताएका छन्। उनका अनुसार रिटको मस्यौदा तयार गर्ने काम भइरहेको छ भने मंगलबार वा समयले नभ्याए बुधबार सर्वोच्चमा दर्ता गर्ने तयारी छ।
यस विषयमा आइतबार साउन २४ गते खड्का निवास हात्तीगौंडामा देउवा–खड्का पक्षका नेता तथा निकट कानुन व्यवसायीबीच छलफल भएको थियो। छलफलपछि एक वरिष्ठ अधिवक्तालाई रिटको मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको बताइएको छ।
कांग्रेसको गत पुस–माघमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएपछि देउवा र खड्काले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चको संयुक्त इजलासले आयोगको निर्णय सदर गर्दै विशेष महाधिवेशन तथा गगनकुमार थापाको नेतृत्वलाई वैधता दिएको थियो।
उक्त फैसला पूर्वनजिर र कानुनी व्यवस्थाविपरीत तथा त्रुटिपूर्ण रहेको दाबी गर्दै देउवा–खड्का पक्षले पुनरवलोकन निवेदन दिएको थियो। गत साउन २१ गते प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले पुनरवलोकनका लागि निस्सा प्रदान गरेको हो।
देउवा पक्षले गत साउन ७ गते पुनरवलोकन निवेदन दर्ता गराएको थियो। निस्सा प्रदान भएसँगै कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतमा मुद्दाको पुनः सुरुदेखि सुनुवाइ हुने बाटो खुलेको छ।
देउवा–खड्का पक्षले पुनरवलोकनको प्रक्रिया चलिरहेका बेला महाधिवेशनका गतिविधि अघि बढाउँदा त्यसले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न सक्ने दाबी गरेको छ। त्यसैले तत्कालका लागि महाधिवेशन प्रक्रिया रोक्ने अन्तरिम आदेश र अन्तिममा निर्वाचन आयोगको निर्णय बदर गरी परमादेश जारी गर्न माग गर्ने तयारी भइरहेको जनाइएको छ।
यता, कांग्रेस संस्थापन पक्षले भने यसअघि तय गरिएको कार्यतालिकाअनुसार १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारी अघि बढाइसकेको छ। कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय गरिएको छ। वडा तहदेखि अधिवेशन प्रक्रिया भने भदौ २ गतेदेखि सुरु हुने कार्यतालिका छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij