नेपाल सम्वत् ११४६, दिल्लागाः १२ द्वादसी (२५ साउन, २०८३, १० अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरूले फेरि आर्थिक संकटको तर्क अघि सार्दै पीजीमा अध्ययनरत रेजिडेन्ट चिकित्सक तथा एमबीबीएस/बीडीएस इन्टर्नलाई थप भत्ता उपलब्ध गराउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएका छन्।
Association of Private Medical and Dental Colleges of Nepalले विशेषगरी पीजी रेजिडेन्ट चिकित्सकको निर्वाह भत्ता बढाउने तथा एमबीबीएस/बीडीएस इन्टर्नका लागि थप आर्थिक दायित्व सिर्जना गर्ने निर्णय कार्यान्वयन गर्न संस्थाहरूको आर्थिक क्षमता हेर्नुपर्ने जनाएको छ।
एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले निजी मेडिकल कलेजहरूले आफ्नै लगानीमा शिक्षण अस्पताल, पूर्वाधार, उपकरण, प्रविधि तथा आवश्यक जनशक्ति व्यवस्थापन गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा योगदान दिँदै आएको बताउनुभएको छ। तर, अध्ययन सिट नबढाई संस्थामाथि निरन्तर नयाँ आर्थिक दायित्व थप्दै जाने हो भने त्यसको भार निजी संस्थाले धान्न नसक्ने उहाँको तर्क छ।
एसोसिएसनले पीजी रेजिडेन्ट चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने विषय जायज सरोकार भए पनि त्यसको कार्यान्वयन समग्र आर्थिक संरचना र विगतमा भएका सहमतिका आधारमा हुनुपर्ने जनाएको छ।
एसोसिएसनका अनुसार विगतमा उपलब्ध गराउँदै आएको मासिक २० हजार रुपैयाँ निर्वाह भत्तालाई सहमतिअनुसार ४८ हजार ७ सय ३७ रुपैयाँ कायम गर्दा नै निजी मेडिकल तथा डेन्टल कलेजमा थप आर्थिक भार परेको थियो। उक्त आर्थिक भारलाई ध्यानमा राखेर सम्बन्धित सरकारी निकायसँग सहमति र समझदारी गरिएको एसोसिएसनको भनाइ छ।
तर, त्यसपछि पनि अध्ययन सिट नबढाई संस्थामाथि निरन्तर थप आर्थिक दायित्व सिर्जना गर्दै जाने हो भने विद्यमान आर्थिक संरचनाले धान्न नसक्ने अध्यक्ष कार्कीले बताउनुभएको छ।
एमबीबीएस तथा बीडीएस इन्टर्नको विषयमा पनि एसोसिएसनले स्पष्ट धारणा सार्वजनिक गरेको छ। अध्यक्ष कार्कीका अनुसार इन्टर्नसिप स्नातक तहको शैक्षिक तथा व्यावसायिक प्रशिक्षणको अभिन्न अंग हो।
इन्टर्नसिपको उद्देश्य विद्यार्थीले अध्ययनका क्रममा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई अस्पतालमा प्रत्यक्ष अभ्यासमार्फत प्रयोग गर्दै चिकित्सकीय सीप, निर्णय क्षमता, व्यावसायिक दक्षता र आत्मविश्वास विकास गर्नु रहेको उहाँको भनाइ छ।
त्यसैले इन्टर्नलाई नियमित सेवामा कार्यरत जनशक्तिका रूपमा मात्र हेर्न नहुने एसोसिएसनको तर्क छ। आवश्यक जनशक्ति अभाव भए प्रचलित श्रमसम्बन्धी व्यवस्थाअनुसार जनशक्ति नियुक्त गरी पारिश्रमिक दिन सकिने भए पनि अनिवार्य शैक्षिक प्रशिक्षणलाई नियमित रोजगारीसरह परिभाषित गरी निजी मेडिकल तथा डेन्टल कलेजमाथि थप आर्थिक दायित्व थोपर्न नहुने एसोसिएसनले जनाएको छ।
एसोसिएसनले चिकित्सा शिक्षाजस्तो संवेदनशील क्षेत्रमा कुनै व्यक्ति वा समूहले अनशन वा आन्दोलन सुरु गरेकै आधारमा सम्बन्धित सरोकारवालालाई निर्णय प्रक्रियाबाट बाहिर राखेर एकपक्षीय रूपमा आर्थिक तथा संस्थागत दायित्व सिर्जना गर्ने निर्णय उपयुक्त नहुने जनाएको छ।
उसले विद्यार्थी, रेजिडेन्ट चिकित्सक, अभिभावक, मेडिकल कलेज, विश्वविद्यालय, Medical Education Commission, Nepal Medical Council तथा सरकारलगायत सबै सरोकारवालाबीच तथ्य, प्रमाण, आर्थिक प्रभाव, संस्थागत क्षमता र दीर्घकालीन राष्ट्रिय हितका आधारमा छलफल गरेर मात्रै निर्णय लिनुपर्ने माग गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij