Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको निर्माणले गति लियो, भौतिक प्रगति २१.६८ प्रतिशत

तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको निर्माणले गति लियो, भौतिक प्रगति २१.६८ प्रतिशत

नेपाल सम्वत् ११४६, दिल्लागाः ११ एकादशी (२४ साउन, २०८३, ९ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । वनक्षेत्र तथा सार्वजनिक जग्गा प्रयोगको अनुमति प्राप्तिमा भएको ढिलाइका कारण करिब आठ महिना निर्माण प्रभावित भए पनि ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको निर्माणले पछिल्लो समय गति लिएको छ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेको तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाले गत असार मसान्तसम्म २१.६८ प्रतिशत समग्र भौतिक प्रगति हासिल गरेको कम्पनीले जनाएको छ।

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार वनक्षेत्र तथा सार्वजनिक जग्गाको भोगाधिकार प्राप्तिमा भएको ढिलाइका कारण आयोजनाको निर्माण कार्य करिब आठ महिना ठप्प भएको थियो। दोलखाको बिगु गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको काम गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले निर्माण रोक्न पत्राचार गरेपछि २०८२ असारदेखि अवरुद्ध भएको थियो।

निर्माण अवरुद्ध हुँदा आयोजनाको भौतिक प्रगति करिब १९ प्रतिशतमा रोकिएको थियो। फागुन अन्तिम सातादेखि निर्माण पुनः सुरु भएपछि चार महिनाको अवधिमै थप २.६८ प्रतिशत बिन्दु प्रगति हासिल गर्दै समग्र भौतिक प्रगति २१.६८ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।

माथिल्लो तामाकोशीको पानीबाट विद्युत् उत्पादन

तामाकोशी पाँचौँ आयोजना सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत रहेको आयोजना हो। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई पुनः प्रयोग गरी यस आयोजनाको विद्युत्गृहमा पठाएर विद्युत् उत्पादन गरिनेछ।

क्यासकेड अवधारणामा निर्माण भइरहेको आयोजनामा छुट्टै ठूलो बाँध तथा बालुवा थिग्य्राउने पोखरीलगायतका संरचना निर्माण गर्नुपर्ने छैन। यही कारण आयोजनालाई तुलनात्मक रूपमा लागत प्रभावी तथा आकर्षक आयोजना मानिएको छ।

आयोजनाको निर्माण अवधिको ब्याजसहित कुल अनुमानित लागत २१ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। आयोजनामा कर्मचारी सञ्चय कोषको मात्रै १३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी रहेको कम्पनीले जनाएको छ।

वनक्षेत्र तथा सार्वजनिक जग्गाको भोगाधिकारसम्बन्धी समस्या समाधान भएसँगै निर्माणले पुनः गति लिएको कम्पनीको प्रतिवेदनले देखाएको छ। निर्माण कार्यलाई निरन्तरता दिन सके आयोजना निर्धारित लक्ष्यतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार