नेपाल सम्वत् ११४६, दिल्लागाः १० दशमी (२३ साउन, २०८३, ८ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । विद्युत् उत्पादन सुरु भएयता चार वर्षसम्म लगातार घाटामा रहेको अपर तामाकोशी जलविद्युत् केन्द्र चालु आर्थिक वर्षमा नाफातर्फ अघि बढेको छ।
विद्युत् गृह सञ्चालनमा सुधार, हाइड्रोलोजी पेनाल्टीमा कमी तथा दीर्घकालीन ऋणको ब्याजदर घटाउन सफल भएपछि कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको हो।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेड करिब १ अर्ब रुपैयाँ नाफा कमाउने अवस्थामा पुगेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्णगोपाल रञ्जितले जानकारी दिनुभयो।
पछिल्लो समय अपर तामाकोशीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्नुका साथै हाइड्रोलोजी पेनाल्टी र ब्याजदर घट्दा कम्पनीलाई थप राहत मिलेको छ।
विगतका वर्षमा तामाकोशी नदीमा उपलब्ध पानीअनुसार विद्युत् उत्पादन गर्न नसक्दा कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई हाइड्रोलोजी पेनाल्टी तिर्दै आएको थियो।
आर्थिक वर्ष २०७८/७९ मा अपर तामाकोशीले ३३ लाख रुपैयाँ हाइड्रोलोजी पेनाल्टी तिरेको थियो। त्यसपछिका वर्षमा पेनाल्टी बढ्दै गएर आर्थिक वर्ष २०८१/८२ मा २२ करोड रुपैयाँ पुगेको थियो। चार वर्षको अवधिमा मात्रै कम्पनीले हाइड्रोलोजी पेनाल्टीबापत करिब १ अर्ब रुपैयाँ तिरेको जनाएको छ।
तर, पछिल्लो आर्थिक वर्षमा भने अपर तामाकोशीले हाइड्रोलोजी पेनाल्टी तिर्नुपरेको छैन।
दीर्घकालीन ऋणको ब्याजदर घटाउन सफल हुनु पनि कम्पनीको वित्तीय सुधारको महत्वपूर्ण कारण बनेको छ। निमित्त सीईओ रञ्जितका अनुसार दीर्घकालीन ऋणमा कायम ८.२५ प्रतिशत ब्याजदर घटाएर ६.७५ प्रतिशत कायम गरिएको छ।
यो ब्याजदर कम्तीमा तीन वर्ष स्थिर रहने व्यवस्था गरिएको छ। ब्याजदर घटेपछि कम्पनीले वार्षिक करिब ७५ करोड रुपैयाँ ब्याज बचत गर्नेछ। तीन वर्षमा करिब २ अर्ब २५ करोड रुपैयाँ वित्तीय खर्च बचत हुने रञ्जितले जानकारी दिनुभयो।
अपर तामाकोशीको वित्तीय अवस्थामा सुधार हुँदै गए पनि बाढीका कारण क्षतिग्रस्त आयोजनाका संरचनाको पुनर्निर्माण भने चुनौतीका रूपमा कायमै छ।
निमित्त सीईओ रञ्जितका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाउन टेन्डर आह्वान भइसकेको छ। आगामी दिनमा पुनर्निर्माणको कामलाई प्रभावकारी रूपमा अघि बढाउँदै आयोजना सञ्चालनलाई थप व्यवस्थित बनाउने कम्पनीको लक्ष्य छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij