नेपाल सम्वत् ११४६, दिल्लागाः १० दशमी (२३ साउन, २०८३, ८ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२ गणेशटोलका ८४ वर्षीय आश्रयविहीन ज्येष्ठ नागरिक जपन कुसलेको उद्धार गरी काठमाडौंमा सुरक्षित आवासको व्यवस्था गरिएको छ। सामाजिक अभियन्ता राजन बस्नेतको पहलमा ती ज्येष्ठ नागरिकलाई उद्धार गरी काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटस्थित ‘पिसफुल केयर हाउस’ मा राख्ने व्यवस्था मिलाइएको हो।
आश्रयविहीन अवस्थामा रहेका ज्येष्ठ नागरिकको अवस्था जानकारी पाएपछि सामाजिक अभियन्ता बस्नेतले उद्धारका लागि पहल गरेका थिए। लामो समयदेखि उचित संरक्षण र सहाराको अभावमा रहेका ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा पुर्याएर आवश्यक हेरचाह र संरक्षणको वातावरण तयार गरिएको बताइएको छ।
उद्धारपछि सामाजिक अभियन्ता बस्नेतले ज्येष्ठ नागरिकको संरक्षण र सम्मान समाजको साझा जिम्मेवारी भएको बताए। उनले उमेरले पाकेका बुबाआमालाई सडकमा बिचल्लीमा छाड्नु मानवता नभएको उल्लेख गर्दै मानवीय सहयोगका लागि सबैलाई संवेदनशील बन्न आग्रह गरे।
‘उमेरले पाकेका बुबा–आमालाई सडकमा बिचल्लीमा छोड्नु मानवता होइन। हामी सबैको सानो सहयोगले कसैको जीवन बचाउन सक्छ। यो हाम्रो साझा दायित्व हो,’ बस्नेतले भने।
ज्येष्ठ नागरिकको उद्धार तथा सुरक्षित आवासको व्यवस्थाका लागि भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार तथा स्थानीयवासीले समेत सक्रिय सहयोग गरेका थिए।
उद्धार कार्यमा नेता राकेश श्रेष्ठ, वडा अध्यक्ष स्टालिन श्रेष्ठ, उज्यालो भविष्य दोलखाका सचिव सिर्जना श्रेष्ठ, सदस्य सुशिला श्रेष्ठ, पत्रकार महेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो। स्थानीयवासीले पनि उद्धार कार्यमा आवश्यक सहयोग र समन्वय गरेका थिए।
ज्येष्ठ नागरिकलाई परिवार वा सहाराको अभावमा सडकमा जीवन बिताउनुपर्ने अवस्था आउन नदिन स्थानीय तह, सामाजिक संस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। विशेषगरी एक्लिएका तथा आश्रयविहीन ज्येष्ठ नागरिकको पहिचान गरी उनीहरूको स्वास्थ्य, खानपान, आवास र सुरक्षाको सुनिश्चितता गर्नुपर्ने आवश्यकता देखिएको छ।
यस घटनामा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र सर्वसाधारणको समन्वयमा एक आश्रयविहीन ज्येष्ठ नागरिकलाई सुरक्षित आवाससम्म पुर्याइएको कार्य मानवीय सेवाको उदाहरण बनेको छ। आगामी दिनमा पनि यस्ता असहाय तथा आश्रयविहीन नागरिकको पहिचान गरी आवश्यक सहयोग र संरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij