नेपाल सम्वत् ११४६, दिल्लागाः ९ नवमी (२२ साउन, २०८३, ७ अगष्ठ २०२६) शुक्रबार, बाँपिझ्याला । नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या समाधानमा सरकारको उपस्थितिमाथि प्रश्न उठाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले शुक्रबार प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन्।
खाना पकाउने ग्यासको अभाव, रासायनिक मल संकट, विपन्न नागरिकको दाहसंस्कार खर्च, किसानले भोगिरहेको बाँदर आतंक, बोनम्यारो क्यान्सर उपचारको समस्या तथा नागरिक अभिव्यक्तिका लागि आवश्यक व्यवस्थाजस्ता विषय उठाउँदै सांसदहरूले सरकार नागरिकको दुःखमा प्रत्यक्ष देखिनुपर्ने बताएका हुन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद इन्दिरा रानाले ग्यास अभावका कारण सर्वसाधारणले ठूलो समस्या भोगिरहेको बताइन्। उनले तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
रास्वपाका सांसद रमेश प्रसाईंले चुनावका बेला आफूहरूले उठाएको ‘नो लाइन, वन्ली अनलाइन’ नारालाई सम्झाउँदै सरकारको कार्यशैलीमाथि आत्मसमीक्षा गर्न आग्रह गरे।
‘कहिलेकाहीँ मलाई लाग्छ– मेरै गालामा मेरै चड्कन भयो,’ उनले भने, ‘चुनावताका सरकारी कार्यालयमा नो लाइन, रास्वपाको पालामा वन्ली अनलाइन भनेर बोलेका कुरा सम्झिन्छु।’
उनले दुई तिहाइ बहुमतको सरकार बने पनि नागरिकले परिवर्तनको अनुभूति गर्न नसकेको बताए। ग्यासका लागि नागरिक रातिसम्म लाइन बस्नुपर्ने अवस्था आएको भन्दै उनले प्रधानमन्त्री र मन्त्री निवासमा समेत ग्यास अभाव छ कि छैन भनेर प्रश्न गरे।
पर्याप्त ग्यास आएको दाबी भए कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्न सरकारलाई केले रोकेको छ भन्दै उनले प्रश्न गरे। नागरिकले नयाँ अनुहार मात्र नभई नयाँ राजनीतिक संस्कार खोजेको उनको भनाइ थियो।
सांसद कमल सुवेदीले दाङका विभिन्न क्षेत्रमा एलपी ग्यास अभाव भएको भन्दै उद्योगमन्त्रीकै उपस्थितिमा सरकारसँग जवाफ मागिन्। उनले तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई क्षेत्रका नागरिक ग्यास नपाएर समस्यामा परेको बताइन्।
उनले कृत्रिम अभाव, कालोबजारी वा आपूर्ति प्रणालीमा समस्या भए तत्काल अनुगमन गरी नियमित आपूर्ति सुनिश्चित गर्न माग गरिन्।
सांसद पारशमणि गेलालले पनि ग्यासको वास्तविक अवस्था सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। ग्यास पर्याप्त भए कहाँ छ र नभए नागरिकलाई स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ थियो।
उनले रासायनिक मल अभावको विषय पनि उठाउँदै किसानहरू लामो समय लाइन बस्न बाध्य भएको बताए। मल पर्याप्त रहेको मन्त्रालयको दाबी भए स्थानीय तहसँग समन्वय गरेर किसानसम्म पुर्याउन सांसदहरू तयार रहेको उनले बताए।
रास्वपाकी सांसद टीका संग्रौलाले विपन्न नागरिकको अन्तिम संस्कारमा राज्यको दायित्वबारे प्रश्न उठाइन्।
पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार गर्न पैसा नभएको भन्दै एक नागरिकले सहयोग मागेको प्रसंग सुनाउँदै उनले गरिब नागरिकलाई मृत्युमा समेत सम्मानजनक व्यवहार आवश्यक रहेको बताइन्।
‘राज्यले कर मात्र लिने होइन, विपन्न नागरिकप्रति आफ्नो दायित्व पनि देखाउनुपर्छ,’ उनले भनिन्।
उनले गरिब तथा असहाय नागरिकको अन्तिम संस्कारका लागि न्यूनतम सहयोगको व्यवस्था गर्न सरकारसँग माग गरिन्।
सांसद सुशील खड्काले किसानले उत्पादन गरेको सुन्तला बाँदरले नष्ट गर्ने समस्या गम्भीर बन्दै गएको बताए।
बागलुङ, म्याग्दी र पर्वतमा ठूलो मात्रामा सुन्तला उत्पादन भए पनि किसानहरू उत्पादनभन्दा बाँदर आतंकका कारण चिन्तित रहेको उनले बताए।
उनले वन्यजन्तु नियन्त्रणका लागि स्थानीय तहमा ‘वन्यजन्तु हेरालो’ कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव गरे। सेन्सर, ड्रोन र अलार्मजस्ता प्रविधि दीर्घकालीन समाधान भए पनि किसानलाई तत्काल राहत आवश्यक रहेको उनको भनाइ थियो।
रास्वपाका सांसद बदनकुमार भण्डारीले काभ्रेको मण्डनदेउपुरका वृद्ध दम्पती केदारनाथ पराजुली र तिलकुमारी पराजुली बेपत्ता भएको विषय संसद्मा उठाए।
बोनम्यारो क्यान्सरबाट पीडित तिलकुमारीसहित दम्पतीको खोजीलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने उनले बताए।
‘वृद्ध बाआमा बेपत्ता हुनुभयो, तर यो सरकार बेपत्ता नहोस्,’ उनले भने।
उनले नेपालमा बोनम्यारोसम्बन्धी जटिल रोगको उपचार सीमित अस्पतालमा मात्र उपलब्ध रहेको भन्दै विशेषज्ञ जनशक्ति र स्वास्थ्य पूर्वाधार विस्तार गर्न माग गरे।
रास्वपाकी सांसद गजाला शमीम मिकरानीले काठमाडौंको माइतीघरमा हुने प्रदर्शन र नागरिक अभिव्यक्तिलाई व्यवस्थित गर्न सरकारलाई सुझाव दिइन्।
उनले नागरिकको विरोध र अभिव्यक्तिको अधिकार सम्मान गर्नुपर्ने भए पनि सडक अवरुद्ध, सुरक्षा, सरसफाइ र यातायात व्यवस्थापनको समस्या समाधान गर्न वैकल्पिक खुला स्थलको आवश्यकता रहेको बताइन्।
रास्वपाका सांसद मनिष झाले सरकारलाई आफ्नो कार्यशैलीको आत्मसमीक्षा गर्न सुझाव दिए।
उनले राज्य सञ्चालनमा इमानदारी र उद्देश्यमा प्रश्न नभए पनि काम गर्ने ढंगमा सुधार आवश्यक रहेको बताए।
‘आफूलाई के थाहा छैन भन्ने कुरा पहिचान गरेर सिक्ने क्षमता नेतृत्वमा हुनुपर्छ,’ उनले भने।
उनले वृद्धि र विकासबीचको फरक बुझ्न आग्रह गर्दै योजनाविहीन विस्तारलाई मात्र विकास भन्न नसकिने बताए। काठमाडौं उपत्यकामा घरहरू बढ्नु वृद्धि भए पनि सन्तुलित पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको विस्तार नभएसम्म त्यसलाई वास्तविक विकास भन्न नसकिने उनको भनाइ थियो।
सांसदहरूले सरकारलाई नागरिकका दैनिक समस्या समाधानमा संवेदनशील बन्न, राज्य संयन्त्रलाई प्रभावकारी बनाउन र जनताले महसुस गर्ने गरी परिवर्तन ल्याउन आग्रह गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij