नेपाल सम्वत् ११४६, दिल्लागाः ९ नवमी (२२ साउन,२०८३, ७ अगष्ठ २०२६) शुक्रबार, बाँपिझ्याला । दोलखाको कालिञ्चोक गाउँपालिका–६ गुर्जपास्थित गुर्जपा आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाकसुट) तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ।
नेपाली कांग्रेसका नेता, युवा व्यवसायी तथा समाजसेवी प्रभुराम श्रेष्ठले ‘स्कूल अफ डेमोक्रेसी’को तर्फबाट विद्यालयका विद्यार्थीलाई करिब २ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउनुभएको हो।
कक्षा ८ सम्म अध्यापन हुने उक्त विद्यालयका विद्यार्थीका लागि श्रेष्ठले एक सय थान ट्रयाकसुटसहित विभिन्न स्टेशनरी सामग्री प्रदान गर्नुभएको पत्रकार तथा सामाजिक अभियन्ता गोकर्णप्रसाद भण्डारीले जानकारी दिनुभयो। दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले श्रेष्ठले व्यक्तिगत तथा संस्थागत पहलमा उक्त सहयोग गर्नुभएको हो।
उत्तरी दोलखाको दुर्गम क्षेत्रमा रहेको गुर्जपा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये करिब ९० प्रतिशत थामी समुदायका बालबालिका रहेका छन्। अधिकांश विद्यार्थी निम्न तथा मध्यम वर्गीय परिवारबाट आउने भएकाले विद्यालय पोशाक तथा शैक्षिक सामग्री प्राप्त हुँदा उनीहरूको पठनपाठनमा थप सहजता हुने विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थामीले समाजसेवी श्रेष्ठबाट प्राप्त सहयोग दुर्गम क्षेत्रका बालबालिकाका लागि अत्यन्तै समयसान्दर्भिक र उपलब्धिमूलक भएको बताउनुभयो। उहाँले यस्ता सहयोगी हातका कारण दुर्गम क्षेत्रका बालबालिकाको विद्यालयसम्मको पहुँच विस्तार हुनुका साथै अध्ययनप्रति उनीहरूको उत्साहसमेत बढ्ने बताउनुभयो।
शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थामीको सभापतित्वमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूलाई ट्रयाकसुट तथा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा पत्रकार चिरञ्जीवी मास्के, जीवन लामा, गोकर्णप्रसाद भण्डारी, विद्यालयका प्रधानाध्यापक यामकुमार पाण्डे, सहायक प्रधानाध्यापक खेमबहादुर थामी, शिक्षक लक्ष्मी ओली तथा शिक्षक–अभिभावक संघकी निरमाया थामीलगायतले मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले दुर्गम क्षेत्रका बालबालिकाको शिक्षाका लागि सहयोग उपलब्ध गराएकोमा समाजसेवी श्रेष्ठको परोपकारी कार्यको प्रशंसा गरेका थिए।
कार्यक्रमकै अवसरमा दुर्गम क्षेत्रको शिक्षा विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विद्यालयको तर्फबाट समाजसेवी प्रभुराम श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो। सामाजिक क्षेत्रमा सक्रिय पत्रकार तथा अभियन्ता गोकर्णप्रसाद भण्डारीलाई समेत विद्यालयले सम्मानपत्र प्रदान गरेको थियो।
दुर्गम क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोगले उनीहरूको नियमित विद्यालय उपस्थितिमा प्रोत्साहन मिल्नुका साथै अध्ययनप्रति सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij